Comments Add Comment

यी मुसलमान, जसले हिन्दुको अन्तिम संस्कार गरे

४ वैशाख, काठमाडौं । विश्वभरका मानिसहरु कोरोना भाइरसका महामारीविरुद्ध लडिरहेका छन् । यो लडाइँको अग्रपंक्तिमा डाक्टर, नर्स, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी छन् । शिक्षक र सामाजिक कार्यकर्ताहरुले महामारीबाट जोगिने उपायबारे समाजलाई सिकाइरहेका छन् ।

यही अप्ठ्यारो परिस्थितिबीच भारतको सुरत भन्ने स्थानमा मुस्लिम समुदायको एकजना व्यक्ति धेरै परिवारको सहारा बनेका छन् । यो समाचार तयार पार्दासम्म सुरतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चार पुगेको छ । ती सबै मृतकको अन्तिम संस्कार उनै व्यक्ति अब्दुल मालबारीले गरेका छन् ।

कोरोना भाइरस सर्ने डरले मानिसहरु शव नजिक जान मान्दैनन् । त्यसैले कोरोना संक्रमणबाट मृत्यु भएका सबै जाति–धर्मका व्यक्तिको अन्तिम संस्कार उनीहरुकै परम्पराअनुसार अब्दुलले गरिदिन्छन् ।

हालै हिन्दु व्यक्तिको शवलाई मुस्लिम समुदायले काँधमा बोकेर ‘राम नाम सत्य है’ भन्दै दाहसंस्कार गर्ने स्थानसम्म पुर्याएको भिडियोले निकै चर्चा पाएको थियो ।

३० वर्षदेखि सेवामा

बीबीसीसँग कुरा गदै ५१ वर्षीय अब्दुलले भने, ‘मैले तीस वर्षदेखि बेवारिसे शवको अन्तिम संस्कार गर्दै आएको छु । सडकमा बस्ने, भिखारी, आत्महत्या गरेका व्यक्ति जसको अन्तिम विदाई गर्ने कोही हुँदैनन्, तिनीहरुको अन्त्येष्टि गर्दै आएको छु ।’

अब्दुलका अनुसार यस्तो काम गर्नका लागि उनको साथमा ३५ जना स्वयंसेवक छन् र यो समूहले प्राकृतिक विपदको बेलामा पनि मानिसहरुको अन्तिम संस्कार गरेको छ ।

अब्दुल भन्छन्, ‘कोरोना भाइरसको संक्रमण विश्वभर बढ्दै गएपछि सुरत नगर निगमले हामीलाई सम्पर्र्क गरेको थियो । नगरका अधिकारीहरुले विश्वभर कोरोनाबाट मानिसहरुको मृत्यु भइरहेको छ, यस्तो अवस्था सुरतमा पनि आउन सक्छ । कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव परिवारका सदस्यहरुलाई दिन सकिँदैन । त्यस्ता मृतकको अन्तिम संस्कार गर्न सक्नुहुन्छ ? भनेर सोधेको थियो । हामीले तुरुन्तै सक्छौं भन्यौं ।’

उनले भने, ‘हामीले फरक फरक समयमा सेवा दिनका लागि हाम्रा २० सदस्यहरुको नाम नगरका अधिकारीलाई दिएका छौं । हामीसँग पनि सबै जिल्ला प्रशासन प्रमुख र अस्पतालहरुको नम्बर छ । उनीहरुले हामीलाई जति बेला पनि सम्पर्क गर्न सक्छन् । हामीलाई फोन आउनासाथ हामी आवश्यक सामग्रीसहित सेवामा गइहाल्छौं ।’

आफ्नो सुरक्षा कसरी ?

कोरोना भाइरसबाट मृत्यु भएकाहरुको अन्तिम संस्कार गर्दा संक्रमणको खतरा रहन्छ । त्यसैले सुरक्षाका उपाय अपनाउनुपर्छ । यो जोखिमका बीच अब्दुलको समूहले आफ्नो सुरक्षा कसरी गरिरहेको छ ? बीबीसीको जवाफमा अब्दुल भन्छन्, ‘हामी विश्व स्थास्थ्य संगठनको निर्देशन पालना गर्दछौं । पीपीई, मास्क र पन्जा लगाएर काम गर्छौं ।’

उनले थपे, ‘शवमा रसायन छरिन्छ र त्यसलाई राम्रोसँग ढाकिन्छ । हामीसँग पाँच वटा शव बाहन छन् । तीमध्ये दुई वटा बाहन कोरोनाको संक्रमणबाट मृत्यु भएकाहरुलाई बोक्न छुट्याइएको छ । ती शव बाहनलाई नियमित स्यानिटाइज पनि गरिन्छ ।’

अब्दुलको समूहले एकता ट्रष्टको नामबाट यस्तो काम तीन दशकदेखि गर्दै आएको छ । सुरत र त्यस आसपासका जिल्लाबाट दैनिक १०–१२ वटा शव उनीहरुको जिम्मामा आउँछ । नदी, नहर, रेलवे जस्ता ठाउँमा भेटिने बेवारिसे यस्ता शवलाई उनीहरुले अन्तिम संस्कार गर्छन् । यो कामका लागि उनीहरुलाई स्थानीय प्रशासन, सुरक्षाकर्मी लगायतले सघाउछन् ।

डरभन्दा बढी दर्दनाक

मृत्यु भएका व्यक्तिका परिवारससँग सम्बन्धित अनुभवबारे बताउँदै अब्दुल भन्छन्, ‘जब कुनै व्यक्ति कोरोना संक्रमित हुन्छ, उसका परिवारका सदस्यहरुलाई पनि १४ दिनसम्म क्वारेन्टाइनमा राखिन्छ । उनीहरुको स्वास्थ्य परीक्षण पनि गरिन्छ । यदि उपचारको क्रममा कोराना संक्रमितको मृत्यु भयो भने उसको परिवारका सदस्य अन्तिम संस्कारमा सहभागी हुन पाउँदैन । हामीले वर्षौंदेखि क्षतविक्षत शव देखेका छौं । कोरोना पनि भोगेका छौं । यी हाम्रालागि डरलाग्दा छैनन् । बरु परिवारजन आफ्नो सदस्यको अन्तिम संस्कारमा पनि सहभागी हुन नपाउनु चाहिँ दर्दनाक हुन्छ ।’

अब्दुल भन्छन्, ‘बिरामी व्यक्ति आफ्नो अन्तिम समयमा परिवारका सदस्य आफूसँगै रहोस् भन्ने चाहान्छ, परिवारका सदस्य पनि बिरामीसँग बस्न पाए हुन्थ्यो भन्ने चाहान्छ, तर कोरोनाका कारण यो सम्भव हुँदैन । अन्तिम संस्कारमा सहभागी हुन चाहाने आफन्तहरुलाई हामी अलग्गै गाडीमा अन्त्येष्टि स्थलमा लैजान्छौं र टाढै बसेर हेर्न वा प्रार्थना गर्न दिन्छौं ।’

यस्तो जोखिमयुक्त काम गर्दा परिवारका सदस्यहरु के भन्छन् भनेर बीबीसीले सोधेको प्रश्नमा अब्दुल भन्छन्, ‘परिवारका सदस्यहरु यतिमात्र भन्छन्, कि आफ्नो ख्याल गर्नू । हामीले कोरोना वार्डमा जाने बेलामा मात्र पीपीई सेट लगाउँछौं । काम सकिएपछि त्यसलाई फ्याँकिदिन्छौं । अन्तिम संस्कार सकिएपछि आफ्ना हातखुट्टा तातो पानीले धुन्छौं र अर्को सफा कपडा लगाउँछौं ।’

उनी भन्छन्, ’हामी सावधानीका सबै उपाय अपनाउँछौं । तर पनि परिवारका सदस्यहरुलाई जोखिम त कायमै रहन्छ । त्यसले अवस्था नसुध्रिएसम्म हामीले हाम्रा परिवारका सदस्यहरुलाई भेट्दैनौं ।’

अब्दुल भन्छन्, ‘मलाई कोरोनाबाट मृत्यु भएकाहरुको पनि अन्तिम संस्कार गर्छ भनेर धेरैले चिनिसके । उनीहरुले टाढैबाट अभिवादन गर्छन्, शुभकामना दिन्छन् । मेरो गाडीमा बस्दैनन् । तर यसबाट मलाई कुनै परवाह छैन ।’

सरकारको सहयोगको बारेमा सोधिएको प्रश्नमा अब्दुल भन्छन्, ‘सरकारले मद्दत गर्ने प्रस्ताव त गरेको थियो । तर हाम्रो संस्थाका सदस्यहरु र शहरबासी जनताले दिने चन्दा नै पर्याप्त हुन्छ । हामीलाई कुनै अप्ठ्यारो छैन ।’

बीबीसीसँग कुरा गर्दै सुरत नगर निगमका डिप्टी कमिश्नर आशिष नाइकले भने, यस्तो अप्ठ्यारो स्थितिमा अब्दुल भाइले महान काम गरिरहेका छन् । हामीले उनलाई सम्पर्क गर्नासाथ काम गर्नका लागि तुरुन्तै राजी भए । हामीले बोलाएको बेला उनको टोली १५ मिनेटमै आइपुग्छ । अन्तिम संस्कारपछि त्यो ठाउँलाई स्यानिटाइज गर्न पनि सहयोग गर्छन् । उनीहरुले एकदमै प्रशंसनीय काम गरिरहेका छन् ।’

– बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment