Comments Add Comment

अर्थमन्त्रीज्यू, होम क्वारेन्टाइनमा बस्ने कि सत्य बताउने ?

२ बैशाख, काठमाडौं । पेप्सीकोलास्थित टाउन प्लानिङमा रहेको सन सिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका दुईजनामा कोरोना भाइरसको संक्रमण देखिएपछि मंगलबार दिनभर कन्ट्याक ट्रेसिङ भयो । संक्रमितहरुसँगको उठबसको जरो खोज्दै जाँदा अर्थमन्त्री डा. युवराज खतिवडाका छोराले समेत संक्रमितसँग उठबस गरेको पाइयो ।

अर्थमन्त्री डा. खतिवडाका छोरा, बुहारी र सानी नातिनी सन सिटी अर्पाटमेन्टमै बस्दै आएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सामुहिकरुपमा जमघट नगर्न र घरभित्रै बस्न सम्वोधनमार्फत आग्रह गरेको भोलिपल्टै चैत ८ गते सनसिटी अपार्टमेन्टमा आन्तरिक समिति गठनका लागि चुनाव भएको थियो ।

करिब अढाइ सय मतदाता सहभागी रहेको सो चुनावमा अर्थमन्त्रीका छोरा तिलक खतिवडा मतदाता मात्र थिएनन्, सचिव पदमा उम्मेदरवारै बनेका थिए ।

अपार्टमेन्टका सयौं बासिन्दा चुनावमा सहभागी भएका थिए । र, त्यहाँ कोरोना संक्रमितले पनि मतदान गरेका थिए । संक्रमितहरुले धेरै दिनदेखि साझा लिफ्ट प्रयोग गरेका थिए, एटीएम बुथ पनि साझा नै थियो ।

चैत ८ को चुनावमा सचिव पदमा निर्वाचित भएका तिलक खतिवडा र अन्य व्यक्तिहरुले कोरोना संक्रमितसँग संसर्ग गरेको चैत ८ को चुनावबाटै पष्टि हुन्छ ।

खतिवडा परिवारले सूचना लुकायो

चिकित्सकहरुको भनाइअनुसार कुनै पनि आशंकित व्यक्तिले कन्ट्याक टे्रसिङका बेला सही सत्य सूचना दिएर सहयोग गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा ढाँट्नु वा सूचना लुकाउनु भनेको कोरोना रोकथाममा असहयोग गर्नु हो ।

नेपाल टेलिकमबाट फोन गर्दा रिङटोनमै सुनिने गरी जारी सूचनामा ‘तपाई विदेशबाट आएको व्यक्तिसँग सम्पर्कमा आउनुभएको छ भने अबको दुई हप्तासम्म घरमै बसिदिनु हुन’ अनुरोध गरिँदै आएको छ । सरकारले पनि घरैमा बसिदिनुहुन भन्दै बारम्बार सूचना जारी गर्दै आएको छ ।

यसको अर्थ चैत ८ मा चुनावमा सहभागी भएका अर्थमन्त्रीका छोराले २२ गतेसम्म होम क्वारेन्टाइनमा बसेको हुनुपर्ने हो । तर, बैशाख १ गतेमात्र कोरोना पुष्टि भएकाले सन सिटीका कोही पनि यसवीचमा होम क्वारेन्टाइनमा बसेको यकिन छैन ।

सोमबार पाटन अस्पताल पुगेका तीन व्यक्तिमध्ये दुईजनामा बेलायतबाट फर्केको २८ दिनपछि बल्ल कोरोना संक्रमण भेटिएको छ, जुन अर्को आश्चार्यजनक परिघटना हो । र, अब सनसिटीका बासिन्दाले कहिलेसम्म होम क्वारेन्टाइनमा बस्नुपर्ने हो, यसको पनि सरोकारवाला निकायबाट उचित सूचना जारी भएको अवस्था छैन ।

यस्तो बेलामा अर्थमन्त्री खतिवडा र उनको परिवारले यथार्थ के भएको हो भन्नेबारे स्पष्ट पार्नुपर्नेमा बारम्बार फोन गर्दा पनि मन्त्री खतिवडा र छोरा तिलक दुबै जनाले ‘रेस्पोन्स’ गरेनन् । हामीले मन्त्री खतिवडालाई म्यासेजसमेत गर्‍यौं तर रिप्लाई आएन ।

मन्त्री खतिवडा नेपाल सरकारका प्रवक्ता पनि हुन् । कतिपय मिडियामा उनी आफैं छोरालाई बधाइ दिन सन सिटीमा पुगेको लेखेका छन् । यसवीचमा मन्त्री क्वाटरमै पारिवारिक भेटघाट भएको हुन सक्ने अनुमानहरु पनि गरिएका छन् । तैपनि खतिवडा परिवारले वास्तविकता सार्वजनिक नगर्दा भ्रम उत्पन्न भएको छ ।

चैत ८ यताको करिब एक महिनामा मन्त्री डा. खतिवडाले आफ्ना परिवारका सदस्यहरुसँग भेट गरेको भए कन्ट्याक टे्रसिङको सुई पुल्चोकस्थित मन्त्री क्वार्टर, सिंहरदरबार र प्रधानमन्त्रीनिवास बालुवाटारसम्मै सोझिन सक्छ ।

मन्त्री खतिवडा सिंहदरबार र बालुवाटार गइरहनुपर्ने जिम्मेवारीमा रहेकाले यसवीचमा छोराबुहारीसँग उनको उठबस जोखिमपूर्ण हुन सक्छ । अझ बालुवाटारमा प्रधानमन्त्री ओलीको स्वास्थ्य सम्वोदनशील रहेको अवस्थामा अर्थमन्त्रीले छोरासँग भेटेको हो भने थप सन सिटीको कोरोना भीआइपीसम्म पुग्ने अर्को जोखिम पनि हुन सक्छ ।

यसवीचमा अर्थमन्त्री डा. खतिवडा र छोराबुहारीवीच भेट भएको/नभएको साँचो सत्य बताउने जिम्मा मन्त्री खतिवडा र उनका छोराकै हो ।

अपार्टमेन्टमै बस्ने केही व्यक्तिले भने चैत ८ को चुनावमा मन्त्री खतिवडा उपस्थित नभए पनि पनि छोराबुहारीलाई भेट्न अपार्टमेन्टमा आएको दाबी गरेका छन् । केहीले अपार्टमेन्टभित्र अर्थमन्त्रालयको गाडी देखेको बताएका छन् ।

तर, स्थानीयको यो दाबी पुष्टि भएको छैन । अर्थमन्त्री निटक स्रोतले यसवीचमा बाबुछोराको भेट नभएको दाबी अनौपचारिक दाबी गरेको छ, तर मन्त्रीले औपचारिकरुपमा केही पनि नबताउँदा यसले पारिवारिक भेटघाट भएको हो कि भन्ने आशंका बढाएको छ ।

अर्थमन्त्रीका छोरा बुहारी र नातिनी सन सिटीमा बस्दै आए पनि अर्थमन्त्री भने पुल्चोकस्थित मन्त्री क्वार्टरमा बस्दै आएका छन् ।

कोरोना संक्रमतिसँग भेट भएको चर्चा आइसकेपछि सरकारका प्रवक्ताजस्तो व्यक्तिले सूचना लुकाउनु र मौन बस्नु राम्रो सन्देश होइन । अर्थमन्त्री खतिवडामाथि प्रश्न उठेको छ, अब तपाई क्वारेन्टाइनमा बस्ने, या सत्य के हो, जनतालाई बताइदिने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment