३० चैत, काठमाडौं । कोरोनाको संक्रमण रोक्न सरकारले देशलाई नै लकडाउन गरेको छ । सडक र व्यापारिक केन्द्रहरु ठप्प छन् । तैपनि दैनिक उपभोग्य सामग्री किन्न मानिसहरु बिहान-बेलुका बजार धाइरहेकै छन् ।
आइतबार साँझ हामी बल्खु तरकारी बजारमा पुग्यौं । त्यहाँ मानिसहरुको घुइँचो यस्तो थियो कि लकडाउन बल्खुबाहेक देशका अरु भागमा मात्र घोषणा गरिएको पो हो कि ?
एकापसमा धकेलाधकेल गरेर तरकारी किनिरहेको देखियो । ‘सोसियल डिस्ट्यान्सिङ’ वा एक मिटरको दूरीको कुरै नगरौं, एकजनाले अर्कालाई नठेली व्यापारै नचल्ने अवस्था थियो ।
हामी पुग्दा त्यहाँ हजार बढी बजारभित्र थिए । सबै टाँसिएरै तरकारी खरिद गरिरहेका थिए । न पसले, न क्रेता, कसैले पनि भाइरसबाट जोगिने सुरक्षा सतर्कता अपनाएका थिएनन् । सबैका हातमा झोला थिए । कतिपयको अनुहारमा माक्स थिएन । पञ्जा लगाएर आउनेहरुको संख्या त अपवाद मात्र ।
अधिकांश व्यापारीसँग न माक्स, न पञ्जा’ एकहातले सामान दियो, अर्को हातले पैसा समायो । कोही व्यापारीले माक्स त लगाएका थिए तर नाक र मुख नछोपी चिउँडोमा मात्र ।
त्यहाँ भीड हुनको एउटा कारण एकाघरका धेरै व्यक्ति तरकारी किन्न जानु पनि हो । एक्लै जाने कमै भेटिए । कतिपय श्रीमान्, श्रीमती र छोरा छोरी समेत हुलै बाँधेर तरकारी किन्न पुगेका भेटिए ।
बल्खु बजारमा यति असुरक्षित तरकारीले व्यापारी भइरहेको रहेछ कि त्यहाँ एकजना कोरोना संक्रमण भेटियो भने बर्बाद Û
रहर हैन, बाध्यता हो हजुर !
कुनै सुरक्षा सतर्कता नपनाइकन यसरी बजारमा किन डुल्नुभएको भन्ने अनलाइनखबरको प्रश्नमा धेरै उपभोक्ताको एकै खाले जवाफ पाइयो- ‘रहर होइन, बाध्यता हो ।’
हामीले सोध्यौं ‘बाध्यता परेको रहेछ भनेर कोरोनाले यत्तिकै छाड्छ होला त ?’
बागबजारबाट तरकारी किन्न बल्खु पुगेका शिव अधिकारी माक्स खोलेर लामो हाँसे ।
‘माक्स त लगाउनुस् न, किन खोल्नुभएको ?’ हामीले उनलाई माक्स लगाउन सुझायौं ।
हाँस्दै भने, ‘बानी परेर हो हजुर, माक्स लगाएर बोल्न अप्ठेरो लाग्छ । बाध्यता हो हजुर, तरकारी नकिनी पनि त भएन ।’
तरकारी किनेर फर्किनेहरुको भीडमा एक महिला देखिइन् । उनले हाफ बाउले कुर्था लगाएकी थिइन् । पाखुरा भन्दा तलको खाली थियो । उनले पनि माक्स समेतलगाएकी थिइनन् ।
हामीले सोध्यौं, ‘डर लाग्दैन ?’
उनी जवाफ नदिई बाटो लागिन् ।
तरकारी किन्न आउनेहरु बर्दीमै रहेका केही सुरक्षाकर्मी पनि थिए । तरकारी लिएर आउने भीडमा उच्चगुणस्तरको माक्स लगाएका एकजना भलाद्मी भेटिए । उनी गोरखापत्रका पूर्वमहाप्रवन्धक कपिल घिमिरे रहेछन् । रिपोर्टिङकै क्रममा परिचय भयो ।
‘अनि सर, यस्तो भीडमा तपाई पनि ?’ हामीले जवाफ खोज्यौं । झोलामा तरकारी बोकेका उनले बजारमा सुरक्षा सतर्कता नपनाइएकोमा चिन्ता प्रकट गरे । यहाँ जोखिम उच्च रहेको आफूले पनि महशुस गरेको भन्दै उनी बाटो लागे ।
व्यापारीको चिन्ता- बजार बन्द त हुँदैन नि !
व्यापारीहरुको चिन्ता त बजार बन्द हुन्छ कि भन्ने रहेछ । एउटा पसलमा तीनजनाको टोली चिया पिउँदै बसेको थियो । कागतीको थुप्रोनेर बसेका उनीहरुको पसलमा अन्य पसलमा जस्तो भीड थिएन । तीनमध्ये २ जनाले चिउँडोमा माक्स लगाएका थिए । अर्का एक व्यक्तिसँग पनि माक्स त रहेछ तर, गोजीमा ।
‘यस्तो भीडभाड छ, कोरोनाको डर छैन ?’ हामीले सोध्यौं ।
‘कोरोनाको भन्दा पनि बजार बन्द होला कि भन्ने डर छ, बन्द गर्ने कुरा गर्दैछन् ?’ तीनमध्येका एकले प्रतिप्रश्न गरे ।
मकवानपुर घर भएका शिव आलेमगर करिब ३ वर्षदेखि बल्खुमा तरकारी ब्यापार गर्दै आएका छन् । आम्दानीको स्रोत नै तरकारी व्यापार भएको बताएका उनले बजार बन्द हुन्छ कि भन्ने चिन्ताले सताएको बताए ।
अचम्मको कुरा, लकडाउन भएपछि बल्खुमा अहिले तरकारी व्यापार बढेको रहेछ ।
सुरुमा केही दिन तरकारीको व्यापार घटे पनि केही दिनयता व्यापार बढेको उनले सुनाए । त्यहाँका व्यापारीहरुका अनुसार बल्खुम व्यापार बढ्नुको कारण हो- कालिमाटीमा खुद्रा ब्यापार बन्द हुनु । कालीमाटीको खुद्रा बजार बन्द भएपछि तरकारी किन्न मानिसहरु बल्खु जाने गरेका रहेछन् ।
बल्खुमा पनि एक ढक (५ केजी) भन्दा तल बिक्री नहुने भनेर सूचना टाँसिएको छ । तर, त्यहाँ साँझमा पुग्ने सबै व्यापारीहरु होइनन् । ‘व्यापारीहरु त बिहानमात्रै आउँछन्, बेलुका आउने त सबै घरकै ग्राहक हुन्’ आलेले सुनाए ।
अर्का व्यापारी सुन्दरप्रसाद गुप्ता कोरोना सल्किन्छ कि भन्ने डर धेरै नै भएको बताउँछन् । तर, सामाजिक दूरी कायम गर्नु भन्दा ग्राहक भडि्काएलान् कि भन्ने डर बढ्ता लाग्ने गरेको उनी बताउँछन् ।
व्यापारी मोहम्द अस्कर अली ग्राहकहरुलाई आफूले दूरी कायम गरेर बस्न आग्रह गरेको सुनाउँछन् । तर ग्राहकहरुले नै अटेरी गरेर नजिकै बस्ने गरेको उनले बताए ।
तस्वीर र भिडियो : आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4