Comments Add Comment

बुहारीबाट आमाछोरालाई कोरोना संक्रमण भएको हुनसक्छ !

२ वैशाख, काठमाडौं । चैत ५ गते बेलायतबाट आएर पेप्सिकोलास्थित सनसिटी अपाटर्मेन्टमा बसिरहेका एकै परिवारका तीनजनाको र्‍यापिड टेस्ट गर्दा पोजेटिभ आएपछि पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना  गरियो । त्यसको भोलिपल्ट टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा आमा र छोरामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखियो, तर बुहारीको पहिलो परीक्षणमा कोरोना पोजेटिभ देखिएन ।

बिरामीको ट्राभल हिस्ट्री हेर्दा यो संक्रमण आयातित जस्तो देखिन्छ । तर, बेलायतबाट आएको २८ दिन भइसकेकाले स्थानीय संक्रमण त होइन भन्ने आशंका उब्जाएको छ ।

तर, त्यसो हुने सम्भावना कम रहेको संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप  सुवेदी बताउँछन् ।

उनका अनुसार पेप्सीकोलामा देखिएको संक्रमणले दुई वटा सम्भावनालाई संकेत गर्छ ।

पहिलो संकेत : तीनमध्ये एकजना (बुहारी)लाई बेलायतमा हुँदा नै कोरोना भाइरसको संक्रमण भएको थियो । र, उनकै माध्यमबाट आमा र छोरालाई संक्रमण भएको हुन सक्छ ।

र्‍यापिड टेष्टको रिपोर्टले पनि त्यही संकेत गर्छ । किनकि पीसीआर विधिबाट गरिएको पहिलो परीक्षणमा पोजेटिभ रिपोर्ट नआए पनि र्‍यापिड टेष्टमा पोजेटिभ देखिएको छ ।

र, एन्टी बडी बेस्डको र्‍यापिड टेष्टमा पोजेटिभ रिपोर्ट आउनु भनेको कोरोना संक्रमण भएर उनको शरीरमा भाइरस प्रतिरोधी शक्ति विकास हुनु हो ।

जनस्वास्थ्य विज्ञहरुका अनुसार कोरोना संक्रमणको पहिलो चरण पीसीआर मात्र देखिन्छ भने दोस्रो चरण पीसीआर र र्‍यापिड दुबैमा पोजेटिभ रिपोर्ट आउँछ । तेस्रो चरण भन्दामाथि अर्थात निको हुने क्रममा वा भइसकेका अवस्थामा एन्टीबडी बेस्ड र्‍यापिड टेस्टमा पोजेटिभ र पीसीआर टेस्ट गर्दा नेगेटिभ आउँछ ।

त्यसो भए पनि बुहारीबाट आमाछोरा बेलायतमा हुँदा नै संक्रमण सर्‍यो कि नेपालमा आएर ?

किनकि उनीहरु नेपाल आएको चार साता भइसक्यो । आमाछोरामा अहिले बल्ल संक्रमण देखिएको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत गराइरहेका दोस्रो र तेस्रो संक्रमितको उदाहरण दिँदै डाक्टर सुवेदी भन्छन्, ‘उहाँहरु अस्पताल भर्ना हुनुभएको तीन साता पुग्न लाग्यो । लक्षण पनि छैन । तर, पीसीआर विधिबाट तेस्रो पटक टेस्ट गर्दा पोजेटिभ आएको छ । यो केस पनि त्यस्तै हुन सक्छ ।’

अर्थात आमा छोरा बेलायतमा हुँदै नै संक्रमित भएका हुनसक्छन् । उताबाट आउनासाथ परीक्षण गरेको भए संक्रमण देखिन सक्ने सम्भावना रहेको बताउँदै उनी भन्छन्, ‘अहिलेसम्मको अवस्था हेर्दा उहाँहरुको संक्रमणको स्रोत आयातीत थियो भन्ने बुझ्न सकिन्छ । तर, यही हो भनेर ठोकुवा गरेर भन्न सकिन्न ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन र्‍यापिड टेस्ट गर्दा नतिजामा इम्यूनोग्लोब्यूलिन-एम एण्टीबडी देखिएको हो भने यो नयाँ संक्रमण हो भन्ने बुझिने बताउँछन् । इम्यूनोग्लोब्यूलिन-जी एण्टीबडी आयो भने संक्रमित व्याक्तिमा भाइरस निश्त्रिmय हुने क्रममा रहेको बुझ्नुपर्छ । अर्थात संक्रमितहरुको शरीरमा भाइरस प्रवेश गरेको २८ देखि ३० दिन हुन सक्छ ।

उनका अनुसार इम्यूनोग्लोब्यूलिन-एम एण्टीबडी मानव शरीरमा कोरोना संक्रमण भएको केही दिनमै उत्पादन हुन्छ भने इम्यूनोग्लोब्यूलिन-जी एण्टीबडी संक्रमण भएको केही समयमा ।

यो केसमा इम्युनोग्लोब्यूलिन-एम एण्टीबडी देखिएको हो भने वैज्ञानिकका लागि केस हिस्ट्री हुने उनी बताउँछन् । भन्छन्, ‘पीसीआर जाँच गर्दा पोजेटिभ देखिने केस भनेको धेरैमा १४ देखि २८ दिनसम्म हो । तर, त्यो बेला इम्यूनोग्लोब्यूलिन-जी एण्टीबडी देखिन्छ । भाइरस संक्रमण निश्क्रिय हुने अवस्थामा हुन्छ ।’

त्यसैले इम्युनोग्लोविन एण्डीबडी नहेरी अहिले केही भन्न नसकिने बताउँदै डा. पुन भन्छन्, ‘अबको २ देखि ५ दिनभित्र पुनः जाँच गर्दा उनीहरुको दोस्रो रिपोर्ट नेगेटिभ आयो भने यो केस आयातित भन्ने बुझ्नुपर्छ । तर, पोजेटिभ आयो भने स्थानीय संक्रमणको शंका गरेर नयाँ तरिकाले बहस गर्न सकिन्छ ।’

किनकि, ३० देखि ३५ दिनसम्म पीसीआर जाँच गर्दा पोजेटिभ भेटिएको केस दुर्लभ हुन्छ ।

त्यसो भए पीसीआर जाँच गर्दा पोजेटिभ देखिएको सनसिटीको ओमा छोराको र्‍यापड टेस्ट गर्दा इम्यूनोग्लोब्यूलिन-एम एण्टीबडी देखियो कि इम्यूनोग्लोब्यूलिन-जी एण्टीबडी ?

स्वास्थ्य मन्त्रालयका स्वासथ्य विज्ञ सल्लाकार डाक्टर खेम कार्कीका अनुसार कोभिड-१९ जाँच्न सरकारले प्रयोगमा ल्याएको र्‍यापिड डायग्नोस्टिक किटले मानव शरीरमा कोरोना भाइरसविरुद्ध लड्ने एन्टीबडी बने-नबनेको मात्र पत्ता लगाउँछ । किटले कोभिड-१९ को भाइरस पहिचान गर्न भने सक्दैन ।

विज्ञ सल्लाहकार डा. कार्की भन्छन्, र्‍यापिड र पीसीआर दुवै परीक्षणबाट पोजेटिभ नमुना आएकाले आमा छोराको संक्रमण दुईसाता आसपासको हुनसक्छ ।’

थप परीक्षणबाट मात्र उनीहरु बेलायतमै संक्रमित भए कि नेपालमा भन्ने पत्ता लाग्ने उनले बताए ।

तर, जे निष्कर्ष आएपनि सुखद भने पक्कै हुने छैन । स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. कार्की भन्छन्, ‘यो आयातीत केस रहेछ भने पनि कोरोना भाइरस १५/२० दिनमा जान्छ भन्ने विश्वव्यापी मान्यता लागू नहुने भयो ।’

अर्थात सुरुमा भनिएको १४ वा अहिले थप सात दिन गरेर बनाइएको २१ दिने निगरानी अपर्याप्त हुने भयो । र, संक्रमित मुलुकहरुबाट चैतको पहिलो साता नेपाल आएकामा पनि अहिले कोरोना संक्रमण देखिने जोखिम रहिरहने भयो  ।

उनीहरुमा देखिएको संक्रमण आयातित होइन भने झन जोखिम हुनेछ । किनकि यो भनेको उनीहरुलाई नेपालमा अरुबाट कोरोना सरेको हो भन्ने हुन्छ अर्थात नेपालमा कोरोना संक्रमण समुदाय स्तरमा पुगिसकेको बुझ्न सकिन्छ  ।

डा. कार्की भन्छन्, ‘अहिले नै आयातित र स्थानीय संक्रमण भन्न नसकेपनि यो केसले समुदायको अरु मानिसमा संक्रमणको खतरा बढाएको भन्न सकिन्छ । र, छिटोभन्दा छिटो कन्ट्याक ट्रेसिङ र सतर्क हुनुको विकल्प भने छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment