+
+
Shares

‘मेरो भाइ आतंककारी होइन, शहीदको रगतमा नखेल’ (भिडियो)

अहिले सबै शहीद र घाइतेको रगतमा खेल्न थाले । यसलाई अवसरको रूपमा लिने पनि देखिए । त्यसैले मेरो बिन्ती छ, शहीदको रगतमा खेल्न छोड । आन्दोलनको सम्मान गर ।

कौशल काफ्ले कौशल काफ्ले
२०८२ असोज ३१ गते २१:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २३ र २४ भदौको जेनजी आन्दोलनमा २२ वर्षीय रसिक खतिवडाको प्रहरीले चलाएको गोली लागेर मृत्यु भयो ।
  • रसिकको मृत्युपछि उनका परिवार न्यायको पर्खाइमा छन् र शहीद घोषणा, राजपत्रमा नाम लेख्नुपर्ने माग राखिएको छ।
  • रसिलाले शहीद परिवारका लागि रोजगारी, पेन्सन र शिक्षाको व्यवस्था गर्न सरकारको दायित्व भएको बताइन् र आन्दोलनमा एकता आवश्यक रहेको भनिन्।

३१ असोज, काठमाडौं। २३ र २४ भदौको जेनजी आन्दोलनले देशको शासन-सत्तामै हलचल ल्याइदियो । नेतातन्त्रमाथि ठूलो प्रश्न छेड्यो । तर आन्दोलनले एक महिना गुजारिसक्दा जेनजीहरू नै मिल्न सकेका छैनन्।

सबै आ-आफ्नो सुरमा अघि बढ्दा प्राप्त अवसर पनि खेर जाला कि भन्ने डर छ । यसले सबैभन्दा धेरै आत्तिएका छन् शहीद परिवार । तिनै शहीद परिवारकी एक प्रतिनिधि पात्र हुन्, रसिला खतिवडा क्षेत्री ।

अस्ट्रेलियामा व्यस्त जीवन बिताइरहेकी रसिलाको मन सधैँ नेपाल र परिवारसँग जोडिएको थियो । परिवारसँग फोन सम्पर्क र देशको अवस्था बुझ्न विभिन्न मिडिया फलो गरिरहन्थिन् ।

हरेक कुरामा अपडेट हुन्थिन् । २३ भदौमा जेनजीहरूले प्रदर्शन गर्दैछन् भनेपछि उनी पनि सोहीअनुसार सञ्जालमा सक्रिय भइन् । हरेक अपडेट लिइन् ।

‘हाम्रो पात्रोमा एकपछि अर्को अपडेट आउन थाल्यो । पछि त स्कुल ड्रेसमा गएका विद्यार्थीलाई सरकारले गोली हान्न थाल्यो भन्ने समाचार आयो,’ रसिलाले भनिन्, ‘मलाई धेरै रिस उठिरहेको थियो । विचरा कलिला बालबालिकालाई किन गोली हानेको होला भन्ने लागिरह्यो ।’

यतिबेलासम्म उनलाई आफ्नो भाइ रसिक खतिवडाबारे थाहा थिएन । सोही आन्दोलनमा उनका भाइ पनि गोलीको सिकार बनिसकेका थिए । छाती र कोखामा लागेका दुई गोलीले २२ वर्षीय रसिक शहीद बने ।

रसिलाका अनुसार उनका भाइ रसिक जेनजी आन्दोलनमा सक्रिय रूपमा सहभागी भएका थिए । २३ भदौ दिउँसो साढे एकदेखि दुई बजेसम्मको समयमा संसद् भवन अगाडि उनी आन्दोलनमै सहभागी थिए । सोही क्रममा प्रहरीले चलाएको गोली उनलाई लाग्यो । एउटा गोली छातीमा ठोक्कियो, जहाँ उनले ममी र बाबाको नामसहित इगलको ट्याटु बनाएका थिए । अर्को गोली कोखामा लाग्यो ।

‘छातीको गोलीले उसको फोक्सो छेडेर पछाडि निस्कियो । कोखाको गोली खस्यो । ऊ तत्कालै बेहोस भयो,’ रसिलाले भनिन् ।

उनका अनुसार त्यसपछि रसिकलाई तुरुन्तै मोटरसाइकलमा राखेर दुईजना युवाले अस्पताल पुर्‍याए । उनको सेतो टिसर्ट रगतले लतपतिएको थियो । सुरुमा उनलाई एभरेस्ट अस्पताल लगियो, जहाँ ड्रेसिङ, एयरब्याग र क्याथेटर राखेर रगत चढाइयो। तर अवस्था गम्भीर भएकाले त्रिवि शिक्षण अस्पताल स्थानान्तरण गरियो । ‘उसलाई बचाउन डाक्टरहरूले धेरै कोसिस गरे, तर सकिएन,’ रसिला भक्कानिइन् ।

रसिकको मृत्युले खतिवडा परिवार टुक्रियो । त्यसबेला रसिला भने अस्ट्रेलियामै थिइन् । उनले त भाइको मृत्यु पनि सामाजिक सञ्जालबाट थाहा पाइन् । त्यस दिन उनी काममै थिइन् । त्यो दिन मन एकदमै अशान्त थियो ।

घरमा आमालाई बारम्बार फोन गरेर भाइबारे सोधीखोजी गरिरहेकी थिइन् । तर भाइको अत्तोपत्तो थिएन । आन्दोलनमा गएको थाहा थियो, तर त्यसपछि कहाँ छ ? के छ ? थाहा थिएन ।

रसिलाले एकाएक सामाजिक सञ्जालमा रसिकको फोटो देखिन्, जहाँ उनको ट्याटु खोपेको ठाउँमा गोली लागेको स्पष्ट देखिन्थ्यो । ‘मैले भाइलाई चिनिहालेँ । मेरो भाइ हो भन्ने थाहा भयो । तर मम्मीलाई कसरी भन्ने ? कन्फर्म नभएसम्म नभनौँ भनेर केहीबेर होल्डमै बसेँ,’ उनले सम्झिइन् ।

त्यसपछि रसिलाले आमालाई भाइबरमा फोटो पठाइन् । ‘मम्मी, मन बलियो गर्नू, मैले केही पठाउँदैछु’ भन्ने मेसेज उनले पठाइन् । अनि भाइलाई गोली लागेको खबर सुनाइन् । आफूले सामाजिक सञ्जालमा देखेको बताइन् । त्यसपछि आमा आत्तिएर घरबाट निस्किन् ।

सँगसँगै रसिलाको अनुरोध छ, यत्रतत्र छरिएर आफैँमा लडिरहेका जेनजीहरू मिलून् । ठोस र आधारभूत मागमा एक भएर आन्दोलनका उपलब्धिको रक्षा गरुन् ।

‘मम्मी जुत्ता पनि नलगाई भौंतारिनुभयो । कर्फ्यु  थियो, बाटो बन्द । तर हात हल्लाएर गाडीहरू खोज्न थाल्नुभयो सडकमै,’ रसिलालले भनिन् । त्यसपछि उनकी आमा एभरेष्ट अस्पताल पुग्दा भाइलाई शिक्षण अस्पताल लगिएको थाहा भयो ।

‘मम्मीको फोन उठेन । पछि रुपेश ठाकुर भन्ने व्यक्तिले फोन उठाएर ‘तपाईंको मम्मी हामीसँग हुनुहुन्छ’ भने । मम्मी ढल्नुभएको रहेछ,’ उनी भावुक भइन् ।

शिक्षण अस्पतालमा आमालाई सम्हाल्न औषधि र इन्जेक्सन दिइयो । पुत्रवियोग सहन उनलाई निकै कठिन पर्‍यो। छोराको लास नदेखुन्जेल विश्वास नै गरिनन् । बाबा पनि धादिङमा थिए । कर्फ्युकै बीच मामा, सानीमा, हजुरबुवाहरू सबै अस्पताल पुगे । चाडबाडको मुखमा घटेको यो घटनाले परिवार बेचैन भयो ।

रसिला भने अस्ट्रेलियामा थिइन् । उनलाई भाइ बितेको खबर पुष्टि भएपछि सहन एकदम गाह्रो भयो । यदि सामान्य अवस्था हुन्थ्यो भने दशैँ र भाइटीकाको लागि ३० सेप्टेम्बरमा नेपाल आउने योजनामा थिइन् । तर भाइको मृत्युको खबरले उनलाई तुरुन्तै फर्कन बाध्य बनायो ।

‘मैले मेरो दुईवटै अफिसमा फोन गरेर ‘भोलि आउन सक्दिनँ’ भनेँ । सिंगापुरको टिकट जुराएर ११ सेप्टेम्बरमा उडेँ । तर सिंगापुरमा दुई दिन ट्रान्जिटमा अड्किएँ । यता नेपालमा एयरपोर्ट अनिश्चितकालीन बन्द भएको थियो, त्यसले झन् आत्तिएँ,’ उनले भनिन् ।

सिंगापुरमा अड्किँदा रसिलालाई आत्महत्याको सोचसमेत आएको थियो । कारण, उनको भाइ साथी जस्तै थियो । उनीहरू घुम्ने, ट्याटु बनाउने कुरा गर्थे । उनीहरूको भर्खरै मरेको कुकुर सेन्जोको नाममा ट्याटु बनाउने योजना पनि थियो । तर यी सबै सपना राज्यले दागेको गोलीले उड्यो ।

सिंगापुरमा अड्किनुपरेपछि टिकटकमा उनले रोएर बनाएको भिडियो भाइरल भयो । ‘एयरपोर्ट खोलिदिनुस्’ भन्दै उनले अनुरोध गरेकी थिइन् । तर जब एयरपोर्ट खुलेर नेपाल आइन्, भाइ रसिकको अन्त्येष्टिको तयारी भइरहेको थियो ।

‘मैले भाइको लास जलाउँदा तीन घण्टा छाता ओढेर बसेँ । पानी परिरहेको थियो । तर मलाई अझै विश्वास लागेन कि मेरो भाइ छैन भनेर । अनि उसको फोटो हेर्न पनि सकिनँ,’ उनले भनिन् ।

हामीलाई चाहिएको मुख्य कुरा न्याय हो । अनि आन्दोलनको म्यान्डेटबाट कोही दायाँबायाँ हुनुभएन ।

घरमा आमा र बाबाको अवस्था पनि उस्तै थियो । आमालाई सम्हाल्न सबैभन्दा गाह्रो छ । बाहिर जाँदा हरेकले गर्ने प्रश्नले झन मन दुखाउँछ । बाबा पनि चुपचाप पुत्रवियोगमा छन् । आफूलाई पीडा भए पनि घर गएर रुँदा अरू झन् कमजोर हुने भएकाले दरिलो देखिन बाध्य भएको उनले सुनाइन् ।

यसरी उनका भाइ रसिकले देशमा सुशासन माग्दै ज्यान आहुती दिए । तर शहीद परिवारलाई आजसम्म के-के गरियो ? भाइ बितेको एक महिना बितिसक्दा पनि खतिवडा परिवार न्यायको पर्खाइमा छ । सरकारले केही कदम चालेको पनि छ, तर रसिलाका अनुसार यो पर्याप्त छैन ।

‘हाम्रो माग शहीद घोषणा मात्र होइन, राजपत्रमा नाम लेखिनुपर्छ । हाम्रा भाइहरूले सुशासन र भ्रष्टाचारविरुद्ध लड्दा गोली खाए । त्यसको सम्बोधन हुनुपर्छ,’ उनले भनिन्, ‘अझ अहिले त कतिपय जिम्मेवार नेताहरूले नै उनीहरूलाई आतंककारी भन्न थालेका छन् । यसले झन् मन दुख्छ । मेरो भाइ आतंककारी हैन, ऊ देशको लागि लडेको हो ।’

उनले भनिन्, ‘राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरियो, त्यसमा हामी आभारी छौँ । काजकिरियाका लागि पाँच लाख र क्षतिपूर्तिका लागि भने १० लाख दिइयो । यो रकमले केही सहयोग त भयो, तर हामीलाई चाहिएको मुख्य कुरा न्याय हो । अनि आन्दोलनको म्यान्डेटबाट कोही दायाँबायाँ हुनुभएन ।’

रसिलाले शहीद परिवारका लागि रोजगारी, पेन्सन र शिक्षाको माग पनि राखिन् । उनका अनुसार शहीदका परिवारलाई आर्थिक सहयोग चाहिन्छ । धेरै परिवारले कमाउने मान्छे गुमाएका छन् । उनीहरूलाई पेन्सन र रोजगारीको व्यवस्था गर्नुपर्छ । साना बच्चाहरूलाई पढाइको व्यवस्था हुनुपर्छ । यो सरकारको दायित्व हो ।

सँगसँगै रसिलाको अनुरोध छ, यत्रतत्र छरिएर आफैँमा लडिरहेका जेनजीहरू मिलुन् । ठोस र आधारभूत मागमा एक भएर आन्दोलनका उपलब्धिको रक्षा गरुन् । ‘अहिले सबै शहीद र घाइतेको रगतमा खेल्न थाले । यसलाई अवसरको रूपमा लिने पनि देखिए । त्यसैले मेरो बिन्ती छ, शहीदको रगतमा खेल्न छोड । आन्दोलनको सम्मान गर,’ उनी भावुक सुनिइन् ।

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?