+
+
Shares

यसपालि तिहारमा ३० करोडभन्दा बढीको कुचो किनबेच हुने

तिहारका बेला मुख्य सहरहरूमा कुचोको माग उच्च हुने कारण कुचो व्यवसायीलाई यो समयमा बजार आपूर्ति धान्न हम्मेहम्मे पर्ने गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते १९:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यस वर्ष तिहार लक्षित गरी ३० करोड रुपैयाँभन्दा बढीको कुचो किनबेच हुने आकलन गरिएको छ।
  • काठमाडौं उपत्यकामा ८ देखि १० करोड रुपैयाँ बराबरको कुचो व्यापार हुने अध्यक्ष कार्कीले बताए।
  • नेपालले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा १६ करोड ५० लाख रुपैयाँ बराबरको कुचो भारत निर्यात गरेको छ।

३१ असोज, काठमाडौं । यस वर्ष तिहार लक्षित गरी ३० करोड रुपैयाँभन्दा बढीको कुचोे किनबेच हुने आकलन गरिएको छ । विशेषगरी धनतेरस र लक्ष्मीपूजाको दिन कुचोको अत्यधिक व्यापार हुने गर्दछ ।

तिहारका बेला फूलमाला र माटोका पालाजस्तै कुचोको माग पनि अत्यधिक हुने गर्दछ । तिहारमा प्रयोग हुने झिलिमिली बत्ती, भाइमसला, पाला, फूलमाला र कुचोको माग अन्य समयको तुलनामा दोब्बर हुन्छ ।

तिहारका बेला मुख्य सहरहरूमा कुचोको माग उच्च हुने कारण कुचो व्यवसायीलाई यो समयमा बजार आपूर्ति धान्न हम्मेहम्मे पर्ने गरेको छ ।

नेपालमा मात्र नभई भारतीय बजारमा पनि तिहारको समयमा कुचोको माग उच्च हुने व्यवसायीहरू बताउँछन् । चलनचल्तीमा झाडु र अम्रिसोको कुचो प्रयोगमा आउने गरेको छ ।

यद्यपि, २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका कारण बजारमा सामानको सहज आपूर्ति नहुँदा ३० करोडभन्दा माथिको किनबेच लक्ष्य भेट्टाउन भने चुनौती रहेको नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्कीले बताए ।

काठमाडौं उपत्यकामा ८ देखि १० करोडको व्यापार

अध्यक्ष कार्कीका अनुसार देशव्यापी रूपमा ३० करोडभन्दा बढीको कुचो किनबेच अनुमान गरिए पनि काठमाडौं उपत्यकामा मात्रै ८ देखि १० करोड रुपैयाँ बराबरको खपत हुने आकलन छ ।

उनका अनुसार काभ्रे, काठमाडौं लगायत ठाउँमा व्यावसायिक रूपमा वर्षैभरि कुचो उत्पादन गर्ने कारखानामा उत्पादित कुचो र धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, दोलखाजस्ता पहाडी जिल्लाबाट बनेर आउने कुचोको समग्र कारोबार यो आँकडामा समेटिएको छ ।

भारत निर्यातमा मूल्य घट्यो, माग उस्तै

भारततर्फको कुचो निर्यातमा भने यस वर्ष मूल्य घटेको अध्यक्ष कार्कीले बताए । निर्यात परिमाण गत वर्षको अनुपातमा नै भए पनि मूल्य कम भएको उनको भनाइ छ । मूल्य घट्नुको मुख्य कारण भारतको असम क्षेत्रमा स्थानीय उत्पादनमा वृद्धि हुनु हो ।

अध्यक्ष कार्कीका अनुसार नेपालले हरेक वर्ष १ अर्ब रुपैयाँभन्दा बढी मूल्यको कुचो निर्यात गर्दै आएको छ । तिहार लक्षित गरी कुचोको मुख्य निर्यात असोज महिनामा हुने गर्छ ।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना (भदौ–असोज) मा १६ करोड ५० लाख ६१ हजार रुपैयाँको २५ लाख २ हजार ३ सय ८० थान कुचो भारत निर्यात भएको छ । गत आर्थिक वर्ष पनि १ अर्ब बढीको कुचो निर्यात भएको थियो ।

कुचोको मूल्य निर्धारण

कुचोको मूल्यका सन्दर्भमा कुचो संघले कुनै पनि बिक्री मूल्य तोक्ने नभई उपभोक्ताको हितलाई ध्यानमा राख्दै अधिकतम मूल्यका लागि आग्रह गर्ने गरेको छ । कारखानामा उत्पादित कुचोको उत्पादन लागत ४० देखि ४५ रुपैयाँ पर्ने गरेको छ ।

उत्पादन स्थलबाट बजारसम्म पुर्‍याउन हिँडाएर लानुपर्ने, ढुवानी खर्च तथा कुचो बेच्ने व्यक्तिहरूको ठूलो श्रम र मिहिनेत जोडिने भएकाले मूल्यमा भिन्नता आउने अध्यक्ष कार्की बताउँछन् ।

संघका अनुसार चलनचल्तीमा आउने सबैभन्दा सानो कुचोलाई उपभोक्ताले अधिकतम ८० देखि १ सय रुपैयाँसम्ममा खरिद गर्न सक्छन् ।

बजारमा कुचोको साइज र प्रकार अनुसार २ सयदेखि २ सय ५० रुपैयाँसम्मका कुचो पनि उपलब्ध हुन्छन् ।

संघ अध्यक्ष कार्कीका अनुसार ठूला, विशेष किसिमका वा सजावटका लागि प्रयोग हुने कुचोको मूल्य भने २ सय ५० रुपैयाँभन्दा माथि जान सक्छ ।

लक्ष्मीपूजा र धनतेरसमा कुचो पूजाको चलन बढ्दै

कुचोको आन्तरिक माग बढ्नुको मुख्य कारण लक्ष्मीपूजा र धनतेरसमा कुचो पूजा गर्ने संस्कृति नेपालभरि फैलिनु हो ।

अध्यक्ष कार्कीले पहिले यो चलन तराईवासी र काठमाडौंका परम्परागत नेवार समुदाय (श्रेष्ठ) मा सीमित रहे पनि अहिले नेपालभरि नै धनतेरस र लक्ष्मीपूजामा कुचो पूजा गर्नुपर्छ भन्ने संस्कृति विकास भएको बताए । यसले गर्दा आन्तरिक खपत हरेक वर्ष बढ्दै गएको उनको भनाइ छ ।

लेखक
अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?