
६ वैशाख, बुटवल । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका १० विपक्षी दलले सीमा क्षेत्रमा अलपत्र नेपालीको उचित व्यवस्थापन गर्न सरकारसंग माग गरेका छन् ।
शनिबार बुटवलमा बसेको दश दलको वैठकले आफ्नो देश प्रवेश गर्न लामो समयदेखि सिमानामा आएर क्वारेन्टाइनमा बसेका नेपालीको स्वास्थ्य परीक्षण गरी गन्तव्यमा पुर्याउन माग गरेका हुन् ।
सिमानामा अलपत्र परेका नेपालीलाई नेपाल प्रवेश गराई आवश्यक व्यवस्थापन गर्न पनि दलहरुले माग गरेका छन् । लकडाउनको कारण सडकमा अलपत्र परेका यात्रुलाई व्यवस्थापन गर्न सरकारी निकायको भूमिका प्रभावकारी नदेखिएको भन्दै पैदलयात्रुको खानपिनसहित उचित व्यवस्थापन गर्न पनि दश दलको माग छ ।
बुटवल उपमहानगरपालिकामा ज्यालादारी मजदुर, न्यून आय भएका विपन्न परिवार र भाडामा बसेका विद्यार्थीलाई बिना पूर्वाग्रह व्यवस्थित र नियमित रूपमा राहत वितरण गर्न दलहरुले माग गरेका छन् ।
कोरोना भाइरस नियन्त्रण जोखिम बढेको कारण लकडाउन अवधिभरि भारतीय कृषि उपज सामग्री आयत पूर्णरूपमा बन्द गर्न र स्वदेशी कृषि उपजको आवागमन सहज बनाउन पनि उनीहरुले माग गरेका छन् ।
प्रतिक्रिया 4