+
+

कुटपिटबाट घाइते मुसहर दम्पत्ति अस्पतालमा बन्धक

श्रवण देव श्रवण देव
२०७७ भदौ १६ गते १५:५४

१६ भदौ, सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिका– ६ महुलीका शिवचन्द्र सदा र उनकी पत्नी मलियादेवी झण्डै डेढ महिनादेखि विराटनगरको गोल्डेन अस्पतालमा छन् ।

कुटपिटबाट घाइते भएका यी दम्पत्ति निको भए पनि पैसा नतिरेको कारण देखाउँदै अस्पतालले घर जान दिएको छैन । उनीहरुले उपचारबापत१ लाख ३० हजार रुपैयाँ तिर्नुपर्ने अस्पतालको भनाइ छ ।

गत साउन ५ गते पानीको निकासको विषयमा विवाद हुँदा स्थानीय दिना साहको परिवारले कुटपिट गर्दा शिवचन्द्र र उनकी पत्नी घाइते भएका थिए । कुटपिटमा संलग्न व्यक्तिले उपचार खर्च नदिएको र आफूसँग त्यति धेरै रकम नभएका कारण अस्पतालबाट घर जान नपाएको सदा बताउँछन् ।

‘मजदुरी गर्दा नपाउँदा घरमा छोराछोरी भोकै छन्’ शिवचन्द्रले भने । सदा दम्पत्तिले मजदुरी गरेर ३ छोराछोरीसहितको परिवार पाल्दै आएका थिए । एक महिनादेखि अस्पतालमा रहँदा छोराछोरीको विजोग भएको छ ।

सदा दम्पतिलाई कुटपिट गर्ने दिना साहलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरी अभद्र व्यवहार मुद्धामा अनुसन्धान सुरु गरेको थियो । तर साउन ३२ गते साह रिहा भएका छन् ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डीएसपी नरेशकुमार सिंहले पीडितले अस्पतालमा लागेको खर्चको बिल ल्याएको भए साहबाट तिराउन सहजीकरण गर्न सकिने भए पनि अहिले रिहा भएको बताए ।

तर पैसा नतिरी अस्पतालले बिल नदिएको शिवचन्द्र बताउँछन् । ‘अस्पतालले पैसा नतिरी बिल दिन नमिल्ने बतायो, अहिले बल्ल बिल दिएको छ’ उनले भने ।

धेरै आग्रह गरेपछि अस्पतालले आफ्नो लेटर प्याडमा औषधीबाहेक एक लाख २५ हजार रुपैयाँ लागेको भनी लेखेर दिएको उनले बताएका छन् ।

सदा दम्पत्तिलाई अस्पतालबाट मुक्त गर्न अधिकारकर्मीले पहल गरेका छन् । दलित सरोकार मञ्चले पीडित परिवारको तर्फबाट प्रदेश २ का मुख्यमन्त्री, सप्तरीका प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएको छ ।

तर एक सातासम्म कसैले चासो नदिएको मञ्चका भोला पासवानले बताए ।

लेखकको बारेमा
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?