+
+

द्रुतमार्गमा सुरुङ बनाउन २७ निर्माण कम्पनी इच्छुक

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १७ गते २०:३०

१७ असोज, काठमाडौं । निर्माणाधीन काठमाडौं-निजगढ द्रुतमार्गमा सुरुङमार्ग निर्माणका लागि २७ निर्माण कम्पनी इच्छुक देखिएका छन् । १६ वटा कम्पनीले आयोजनाका सुरुङमार्गका लागि बनाइएका दुबै प्याकेजको पूर्वायोग्ता निर्धारण गर्ने प्रतिस्पर्धामा सहभागिता जनाएका छन् ।

नेपाली सेनाले सुरुङमार्ग निर्माणका लागि प्रतिस्पर्धा गर्ने कम्पनीको संक्षिप्त सूची (सर्ट लिस्ट) तयार गर्न आशयपत्र आह्वान गरेकोमा एउटा प्याकेजमा २१ र अर्को प्याकेजमा २२ कम्पनीको आवेदन परेको सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

उनका अनुसार यी ४३ आवेदनबाट फरक-फरक प्याकेजमा लागि फरक-फरक योग्य कम्पनीहरु सर्ट लिस्ट गरिनेछ । त्यसरी सर्ट लिस्ट गरिने कम्पनीलाई फेरि आर्थिक तथा प्राविधिक प्रस्ताव पेश गर्न अर्को पटक ३ महिनाको समय दिएर टेन्डर गरिने प्रवक्ता पौडेलले बताए ।

‘नोभेम्बरसम्म सर्ट लिस्ट भएका कम्पनीका लागि टेन्डर हुन्छ,’ उनले भने,’हागामी मे महिनासम्ममा काम सुरु हुने गरी प्रक्रिया अघि बढ्छ ।’

अहिले कोरियन कम्पनी युसिनले फास्ट ट्रयाकको पुल तथा सुरुङमार्गको डिजाइन गरिरहेको छ । जतिसक्दो छिटो ठेकेदारहरुले पुल तथा सुरुङको निर्माण थाल्ने गरी सबै तयारी सकाइएको प्रवक्ता पौडेल बताउँछन् ।

विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)अनुसार द्रुतमार्गमा ८७ वटा पुल र तीन वटा सुरुङमार्ग निर्माण गर्नुपर्नेछ ।

डीपीआरअनुसार महादेवडाँडामा ३.३५५ किलोमिटर, धेद्रेमा १.६३० किलोमिटर र लेनडाँडामा १.४३० किलोमिटर लामो सुरुङ बनाइनेछ ।

महादेवडाँडाको सुरुङसहित ४.६ किलामिटरको सडक तथा सुरुङमार्ग र धेद्रे तथा लेनडाँडाको सुरुङमार्गलाई छुट्टा छुट्टै प्याकेज बनाएर आशयपत्र मागिएको थियो ।

द्रुतमार्गको कुल लम्बाइ ७२.५ किलोमिटर हुनेछ । यो आयोजना लागत १ खर्ब ७५ अर्ब अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?