+
+

माधव–झलनाथ समूहले ओलीलाई दिएको समयसीमा सकियो

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २७ गते ९:२३

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सच्चिन भन्दै एमालेको माधव–झलनाथ पक्षले दिएको समयसीमा सकिएको छ ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टीलाई एकताबद्ध बनाउन ६ बुँदे प्रस्तावसहित सोमबार बिहान नौ बजेसम्मको समयसीमा दिएको थियो । सो समयभित्र चित्तबुझ्दो जवाफ नआए सांसद पदबाट राजीनामा दिने माधव–झलनाथ पक्षको चेतावनी दिएको थियो । प्रधानमन्त्रीलाई दिएको समयसीमा सकिएपछि सो समूहका नेताहरू यस विषयमा थप छलफलमा जुटेका छन् ।

ओली इतर पक्षले पार्टीलाई २०७५ जेठ २ गतेकै अवस्थामा फर्काउनुपर्ने र गत फागुन २८ गतेको निर्णय फिर्ता गर्नुपर्ने बटमलाइन बनाएको छ । यद्यपि ओली यी दुवै माग पूरा गर्नुपर्ने पक्षमा नभएकाले सहमतिको सम्भावना तत्काल नदेखिएको एक नेताले बताए ।

नेकपा एमाले विभाजनको स्थितिमा पुगेपछि दुवै पक्षका नेताहरुबीच छलफल तीव्र हुँदै आएको छ । यद्यपि समस्या समाधानको बाटो पहिल्याउन दुवै पक्षले सकेका छैनन् । त्यसैले ओलीले आजको संसद बैठकमा विश्वासको मत पाउने सम्भावना पनि देखिएको छैन ।

ओलीले सरकार र पार्टीमा एकलौटी गरेको तथा विधिसम्मत ढंगले नचलेको आरोप लगाउँदै माधव–झलनाथ पक्ष उनीविरुद्ध आन्दोलनमै उत्रिएको थियो । ओलीले भने विपक्षी दलहरुसँग गठजोड गरेर माधव–झलनाथ पक्षले पार्टीमा फुट ल्याएको आरोप लगाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?