९ फागुन, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले निर्वाचन फागुन २१ गतेको निर्वाचन आफ्नो पार्टीका लागि ‘रणनीतिक कार्यभार’ मात्रै भएको बताएका छन् । शनिबार वाम बुद्धिजीवी एवं पेशाकर्मी निर्वाचन परिचालन मूल समितिको कार्यक्रममा बोल्दै वरिष्ठ नेता खनालले आफ्नो पार्टीको मूल गन्तव्य समाजवाद नै भएको बताएका हुन् ।
‘यो चुनाव त एउटा रणनीतिक कार्यभार मात्रै हो,’ खनालले भने, ‘हामी किन चुनावमा लागेका छौँ भन्दाखेरी हाम्रो पार्टीका कार्यदिशा, नीति, सिद्धान्त, घोषणा, कार्यक्रमहरू आदि आम जनतामा पुर्याउनका निम्ति ।’ चुनावमा समाजवाद किन अनिवार्य छ भन्ने कुराको जनतामाझ व्याख्या गर्न, क्रान्तिकारी जनमत निर्माण गर्न, पार्टी संगठन र जनसंगठन व्यापक रूपले विस्तार गर्न आफूहरू चुनावमा लागेको उनले बताए ।
चुनावबाट बहुमत प्राप्त गरेर सरकार बनाउन नसके अरु समाजवादका पक्षधर, प्रगतिशील, देशभक्त शक्तिहरूसँग मिलेर सरकार बनाउनुपर्ने वरिष्ठ नेता खनालले बताए । ‘तर प्रतिक्रियावादी शक्तिसँग कहिल्यै पनि साँठगाँठ गर्न हुँदैन । त्यो गर्ने वितिक्कै कम्युनिस्ट पार्टीको वर्ग दृष्टिकोण समाप्त हुन्छ,’ खनालले भने ।
यदि बहुमत नल्याएर प्रतिपक्षमा बस्नुपरे सडक र सदनबाट समाजवादको आधारशीला निर्माणमा लाग्नुपर्ने उनले बताए । ‘बहुमत नआए सडक र सदनबाट समाजवादका आधार बनाउने कुराहरूलाई प्राप्त गर्न जनतालाई जागरित गर्ने र आवश्यकताअनुसार आन्दोलित गर्नुपर्छ,’ नेता खनालले भने । अर्को पटक आउने चुनावमा बहुमत आउने आशा जहिल्यै जिवित हुने उनले बताए ।
प्रतिक्रिया 4