+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सेयर बजारबाट कति उठ्छ सरकारलाई कर ?

सेयर लगानीकर्ताको पुँजी २१ खर्बले बढ्यो

रोयल आचार्य रोयल आचार्य
२०७८ जेठ १५ गते १३:०७

पछिल्लो समय सेयर बजारमा सर्वसाधारणको आकर्षण बढ्दो छ । गत वर्ष कोरोना संक्रमण रोक्न गरिएको लकडाउन पछि खुलेको सेयर बजार त्यसपछि लगातार जसो बढिरहेको छ ।

गत बिहीबारमात्रै सेयर बजारमा एकैदिन पौने १५ अर्ब रुपैयाँको सेयर कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ । सेयर बजार यसरी बढ्दा लगानीकर्ताहरुले राम्रै नाफा कमाएका छन् । सेयर बजारमा यतिधेरै आकर्षण बढिरहदा यसबाट सरकारलाई चाहिँ के फाइदा हुन्छ त ?

सेयर बजारबाट लगानीकर्तालाई मात्रै नभएर सरकारलाई पनि राम्रै आम्दानी हुन्छ । अझ गत आर्थिक वर्षको तुलनामा त यो आर्थिक वर्ष १० गुणा भन्दा धेरैले सेयर बजारबाट सरकारको आम्दानी बढ्ने देखिएको छ ।

पछिल्लो तथ्यांक हेर्ने हो भने गत आर्थिक वर्ष एक वर्षमा सरकारले सेयर बजारबाट गरेको आम्दानी चालु आर्थिक वर्षको एक महिनामा नै संकलन भएको छ । सेयर बजारबाट प्राप्त गर्ने सरकारको मूख्य आम्दानी भनेको पुँजीगत लाभकर (क्यापिटल गेन ट्याक्स) हो ।

चालु आर्थिंक वर्षको १० महिनामा सरकारलाई १० अर्ब भन्दा बढी राजश्व सेयर बजारबाट प्राप्त भएको छ । लगानीकर्ताहरुले चाहिँ कति कमाए त ?

अहिले सेयर लगानीकर्ता व्यक्तिगत भए पुँजीगत लाभकर ५ प्रतिशत र संस्थागत भए १० प्रतिशत तोकिएको छ ।

सेयर बजारको सम्पूर्ण लेखाजोखा राख्ने नेपाल सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार चालु आर्थिक वर्षको १० महिना अर्थात वैशाख महिनामा मात्रै पुँजीगत लाभकर वापत लगानीकर्ताहरुले ९ अर्ब ६१ करोड ८३ लाख २३ हजार रुपैयाँ सरकारलाई बुझाएका छन् ।

सेयर बजारबाट आउने राजश्व अरु पनि भए पनि मूख्य आम्दानी भने पुँजीगत लाभकर नै हो । सेयर ब्रोकर कम्पनीहरुले पनि सरकारलाई आम्दानीको ३० प्रतिशत आयकर तिर्छन ।

अहिले ब्रोकर कम्पनीहरुले ब्रोकर कमिशन ०.२७  देखि ०.४० सेयर कारोबार वापत लगानीकर्ताहरुसँग कमिशन लिने गरेका छन् ।

यसको २० प्रतिशत नेपाल स्टक एक्सचेञ्जलाई जान्छ । बाँकी रहेको ८० प्रतिशतको १५ प्रतिशत अग्रिम कर लिने हो । बाँकी १५ प्रतिशत पछि तिर्ने सीडीएसले बताएको छ ।

यो १५ प्रतिशत वापत वैशाख मसान्तसम्म ९८ करोड ६३ लाख २२ हजार रुपैयाँ राजश्व संकलन भएको सीडीएसले बताएको छ ।

सीडीएसका अधिकारीले दिएको जानकारी अनुसार गत आर्थिक वर्षमा जम्मा १ अर्ब ९३ करोड रुपैयाँमात्रै सेयर बजारबाट सरकारलाई राजश्व संकलन भएको थियो । तर यो आर्थिक वर्ष भने २ महिना बाँकी छदै १० अर्ब रुपैयाँ बढी राजश्व उठेको छ ।

सीडीएसका प्रमुख कार्यकारी अधिकृत पुर्णप्रसाद आचार्य पछिल्लो समय सेयर बजारमा सर्वसाधारणको निकै राम्रो आकर्षण देखिएको बताउँछन् । जसको प्रभाव यस वर्ष कर संकलन पनि राम्रो देखिएको उनले बताए ।

लगानीकर्ताले कमाए २१ खर्ब

चालु आर्थिंक वर्षको १० महिनामा सरकारलाई १० अर्ब भन्दा बढी राजश्व सेयर बजारबाट प्राप्त भएको छ । अब लगानीकर्ताहरुले चाहिँ कति कमाए त ? यो आर्थिक वर्षको साढे १० महिनामा सेयर बजारका लगानीकर्ताहरुको पुँजीकरण २१ अर्ब रुपैयाँ भन्दा धेरैले बढेको छ ।

गत असार मसान्तमा सेयर बजारको पुँजीकरण बजार पुँजीकरण रु. १७९२ अर्ब ७६ करोड रहेको थियो । यो पुँजीकरण १५ जेठसम्म आइपुग्दा २१ खर्ब १४ अर्ब रुपैयाँले बढेर ३९ खर्ब ६ अर्ब ७६ करोड ८० लाख रुपैयाँ पुगेको छ । पछिल्लो समय सेयर बजारमा देखिएको आकर्षणले नेप्से परिसूचक राम्रै बढेको छ ।

पछिल्लो साढे १० महिनामा सेयर कारोबार मापक नेप्से परिसूचक १ हजार ४ सय १५ अंकले बढेको छ । गत असार मसान्तमा १ हजार ३ सय ६२ दशमलव ४ अंकमा रहेको नेप्से परिसूचक दोब्बर भन्दा धेरैले बढेर २ हजार ८ सय १५ दशमलव ३९ अंकमा पुगेको छ ।

सेयर मूल्य धेरै बढ्ने र नयाँ सेयरहरु समेत नेप्सेमा सूचीकृत भएकाले लगानीकर्ताहरुको पुँजी निकै ठूलो परिमाणले वृद्धि भएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमका सभापति अम्बिका प्रसाद पौडेल पछिल्लो समय देखिएको सेयर कारोबारले सरकारको आम्दानीको एउटा बलियो श्रोत बनेको बताउँछन् । यो क्षेत्रलाई पनि सरकारले अब आम्दानीको दरिलो श्रोतको रुपमा लिन सक्ने उनले बताए ।

पछिल्लो ९ महिनाको तथ्यांक अनुसार नेप्सेमा सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६९.३ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ७.९ प्रतिशत, लगानी कम्पनीको ७.८ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.६ प्रतिशत, होटेलको हिस्सा १.७ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.६ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.१ प्रतिशत रहेको छ ।

नेप्सेमा चैतसम्ममा सूचीकृत ५ अर्ब ६७ करोड सेयरको चुक्ता मूल्य ५ खर्ब ५७ अर्ब ७० करोड रुपैयाँ रहेको छ भने २ खर्ब १९ अर्ब ९५ करोड बराबरको विकास ऋणपत्र, ३९ अर्ब ४७ करोड बराबरको साधारण सेयर, ३८ अर्ब ११ करोड बराबरको बोनस सेयर, १४ अर्ब ५५ करोड बराबरको डिबेन्चर, ३ अर्ब ९२ करोड बराबरको हकप्रद सेयर र २ अर्ब ८५ करोड बराबरको म्युचुअल फण्ड गरी कुल ३ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

लेखक
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?