+

म्युचुअल फण्ड

१७ च्याप्टर
Chapter - 4

मिडक्याप, स्मल क्याप र लार्जक्याप फन्ड बीचको फरक के हो ?

२०८० चैत  १९ गते १८:३३ २०८० चैत १९ गते १८:३३

इक्विटी फोकस म्युचुअल फन्डको बारेमा कुरा गर्दा कम्पनीको बजार पूँजीकरण बुझ्नु महत्वपूर्ण हुन्छ । बजार पूँजीकरण भनेको कम्पनीको मूल्य हो जुन स्टक एक्सचेन्जमा भएको कारोबारबाट निर्धारण हुन्छ । यो एक महत्वपूर्ण पक्ष हो जसले लगानीकर्तालाई शेयरबाट प्राप्त हुने प्रतिफल र यसमा संलग्न जोखिम निर्धारण गर्न मद्दत गर्न सक्छ । बजार पूँजीकरणको आधारमा म्युचुअल फन्ड योजनाहरूलाई लार्जक्याप, मिडक्याप र स्मलक्याप योजनाहरूको रूपमा वर्गीकरण गर्न सकिन्छ ।

लार्जक्याप फन्ड

लार्ज क्याप फन्डहरू भनेको त्यस्ता इक्विटी फन्डहरू हुन् जसको कुल सम्पत्तिको ठूलो हिस्सा ठूला पूँजीकरण भएका कम्पनीहरूको शेयरले ओगटेको हुन्छ । त्यस्ता कम्पनीको बजारमा राम्रो प्रतिष्ठा हुन्छ र तिनीहरूले निरन्तर लाभांश दिएका हुन्छन् । यस्ता फन्डहरू अन्यको तुलनामा कम जोखिमयुक्त र स्थिर प्रतिफल दिने हुन्छन् । जोखिम कम हुने भएकाले लगानीकर्ताहरूको छनोटमा यस्ता फन्डहरू पर्छन् । ठूलो पूँजी भएकाले उनीहरूको पोर्टफोलियोमा विविधीकरण देख्न पाइन्छ र पोर्टफोलियो विविधीकरणले लगानीको जोखिम कम गर्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

सबै इक्विटीमा आधारित म्युचुअल फन्डहरू शेयर बजारको अवस्थाबाट प्रभावित हुन्छन् । बजारको उतारचढावसँगै म्युचुअल फन्डहरूको NAV मा पनि परिवर्तन आउँछ । साना तथा मझौला खालका म्युचुअल फन्डहरू भन्दा लार्ज क्याप फन्डहरूमा NAV धेरै परिवर्तन नहुन सक्छ । लार्ज क्याप फन्डका योजनाहरूमा भएको लगानीले प्रदान गर्ने प्रतिफल साना तथा मझौला खालका म्युचुअल फन्डहरू भन्दा कम भए पनि निरन्तर एकैनासको प्रतिफल प्रदान गर्न सक्छ । कम जोखिम भएको स्थिर प्रतिफल चाहनेले लार्ज क्याप फन्डलाई रोज्छन् ।

जब समग्र बजार घट्छ तब साना–ठूला सबै खालका म्युचुअल फन्डहरूको पोर्टफोलियो पनि घट्छ । तर लार्ज क्याप फन्डका योजनाहरूमा भएको लगानी, आर्थिक रूपमा बलियो कम्पनीहरूमा लगानी भएको हुनाले अन्य फन्डहरूको तुलनामा कम्पनीले दिने प्रतिफलको आधारमा उक्त लार्ज क्याप फन्डहरूले लगानीकर्ताहरूलाई निरन्तर स्थिर प्रतिफलको घोषणा गर्न सक्छ । सामान्य बुझाइमा, यदि तपाईंले दीर्घकालीन लगानी गरिरहनुभएको छ भने तपाईंलाई बैंकको मुद्दती निक्षेपमा राखिएको रकमले प्रदान गर्ने ब्याज रकम भन्दा राम्रो प्रतिफलको आशा गर्न सक्नुहुन्छ ।

ठूला म्युचुअल फन्डहरूले जोखिमको भार कम गरी स्थिर प्रतिफल प्रदान गर्छन् । धेरै लगानीकर्ताले सेवा निवृत्तिको लागि म्युचुअल फन्ड योजनाहरू खरिद गरेको पाइन्छ । धेरै जोखिम नलिई शेयर बजारको एक्सपोजर प्राप्त गर्न चाहने लगानीकर्ताले लार्ज क्याप फन्डहरूमा लगानी गर्न रुचाउँछन् । त्यसकारण लार्जक्याप फन्डहरूमा लगानी गर्नुपूर्व आफ्नो वित्तीय लक्ष्यहरू पहिचान गर्नु महत्वपूर्ण हुन्छ ।

लार्जक्याप फन्डहरूले ठूला संगठित संस्थाहरूमा लगानी गर्छन् । यी योजनाहरूले दीर्घकालीन रूपमा नियमित लाभांश र पूँजी बढाउने प्रयास गर्छन् । यी योजनाले आर्थिक रूपमा बलियो लार्ज क्याप कम्पनीमा लगानी गर्ने भएकाले बजारमा हुने उतारचढाव र मन्दीको सामना गर्न सक्छन् ।

मिडक्याप फन्ड

इक्विटीमा आधारित म्युचुअल फन्डमा लगानी गर्दा बजार पूँजीकरणमा ध्यान केन्द्रित गर्नुपर्छ । कम्पनीको बजार पूँजीकरणले यसमा लगानी गर्दा हुने फाइदा र सम्बन्धित जोखिमहरू बुझ्न मद्दत गर्छ । बजारमा विभिन्न प्रकारका इक्विटी म्युचुअल फन्ड योजनाहरू हुन्छन् । तिनलाई बजार पूँजीकरणको आधारमा पनि वर्गीकरण गर्न सकिन्छ । मिडक्याप म्युचुअल फन्डहरूमा गरिने लगानीबाट मध्यम दरको प्रतिफल प्राप्त हुन्छ भने जोखिम पनि मध्यमस्तरको हुन्छ ।

मिडक्याप फन्डहरू स्मलक्याप र लार्जक्याप फन्डहरूको बीचमा पर्छन् । त्यसै अनुसार फाइदा, बेफाइदा पनि निर्धारण हुन्छन् । यी कोषहरूले सामान्यतया लार्जक्याप फन्डहरू भन्दा राम्रो प्रतिफल प्रदान गर्छन् भने तिनीहरूमा भएको लगानी लार्जक्याप फन्डहरूमा भन्दा केही बढी जोखिम हुन्छ । तिनीहरू स्मलक्याप फन्डभन्दा कम जोखिमयुक्त हुन्छन् तर प्रतिफल पनि त्यसै अनुसार प्राप्त हुन्छ ।

मिडक्याप म्युचुअल फन्डहरू जोखिम र प्रतिफलको सही संयोजन हो । राम्रो स्टकहरूको चयन गरेको, क्षेत्रगत विविधीकरण गरेको र राम्रो कोष प्रबन्धक रहेको योजना छनोटबाट राम्रो प्रतिफलको आशा गर्न सकिन्छ ।

स्मलक्याप फन्ड

स्मलक्याप फन्डहरूको लगानीयोग्य कोषको अधिकांश हिस्सा सानो बजार पूँजीकरण भएका कम्पनीको शेयरमा लगानी गरिएको हुन्छ । स्मलक्याप कम्पनीहरूको शेयर मूल्य बजार अस्थिरताबाट बढी प्रभावित हुने भएकाले स्मलक्याप फन्डमा लगानी जोखिमपूर्ण हुनसक्छ । यद्यपि साना कम्पनीहरूले  आश्चर्यजनक लाभ प्रदान गर्ने सम्भावना पनि उत्तिकै हुन्छ ।

एउटा सानो व्यवसाय विकसित हुने धेरै ठाउँ हुन्छ र उक्त विकासले यसको शेयरको मूल्यमा उल्लेखनीय वृद्धि गराउन सक्छ । फलस्वरुप स्मलक्याप फन्डले राम्रो प्रतिफल प्रदान गर्न सक्छ तर त्यसो भन्दैमा लगानीबाट निरन्तर उच्च प्रतिफल प्राप्त हुने ग्यारेन्टी भने हुँदैन । छोटो अवधिको लगानी गर्न चाहने लगानीकर्ताहरूको लागि स्मलक्याप योजना रोजाइमा पर्छन् । साना व्यवसायहरूलाई विकास गर्न समय चाहिन्छ भन्ने विश्वासमा गरिने लगानी कहिलेकाहीं हानिकारक सावित हुनसक्छ । त्यसकारण लगानी फिर्ताको लागि लामो समय पर्खन सक्ने र उच्च जोखिम सहनशीलता भएका लगानीकर्ताले स्मलक्याप फन्ड छनोट गर्न सक्छन् ।

धेरै पढिएका

म्युचुअल फण्ड

एसआईपी भनेको के हो ? यसले कसरी काम गर्छ ?

योजनाबद्ध तरिकाले नियमित रूपमा लगानी गर्ने विधि व्यवस्थित लगानी योजना (Systemic Investment Plan, SIP) हो । यो म्युचुअल फन्डमा पैसा...

म्युचुअल फण्ड

म्युचुअल फन्डको न्याभ भनेको के हो ? स्टक मूल्य र न्याभमा के फरक छ ?

NAV भनेको म्युचुअल फन्डको प्रति इकाई वास्तविक मूल्य हो जसलाई खुद सम्पत्ति मूल्य (Net Asset Value, NAV) भनिन्छ ।

म्युचुअल फण्ड

लमसम भनेको के हो ? एसआईपी र लमसममा के अन्तर छ ?

लमसम (Lumpsum) भन्नाले एकमुष्ट रकमलाई जनाउँछ । लमसम लगानी भनेको त्यो हो जसमा सम्पूर्ण रकम एकैचोटि एउटै व्यापार वा शेयर...

म्युचुअल फण्ड

नेपालमा कति प्रकारका म्युचुअल फन्ड प्रचलनमा छन् ?

नेपालमा दुई प्रकारका म्युचुअल फन्ड छन्– खुलामुखी सामूहिक लगानी योजना (Open-Ended Mutual Fund) र बन्दमुखी सामूहिक लगानी योजना (Close-Ended Mutual...

म्युचुअल फण्ड

नेपालमा म्युचुअल फन्डको इतिहास

म्युचुअल फन्ड निर्देशन, २०६७ जारी हुनुअघि एनआईडीसी क्यापिटल मार्केटले एनसीएम म्युचुअल फन्ड, २०५० (१९९३/९४ मा) स्थापना गरेको थियो । यो...

म्युचुअल फण्ड

हाइब्रिड फन्ड भनेको के हो ?

योजनाको लगानी लक्ष्य पूरा गर्न सिर्जना गरिएको डेब्ट (ऋणपत्र) र इक्विटी (शेयर) जस्ता सम्पत्तिहरूमा मिश्रित लगानी गर्ने म्युचुअल फन्ड हाइब्रिड...

0 %

पढिसक्नुभयो !