+

म्युचुअल फण्ड

१७ च्याप्टर
Chapter - 1

म्युचुअल फन्ड भनेको के हो ? कसरी काम गर्छ ?

२०८० चैत  १९ गते १४:२० २०८० चैत १९ गते १४:२०

परिचय

म्युचुअल फन्ड भनेको धेरै साना तथा संस्थागत लगानीकर्ताहरूबाट पैसा जम्मा गरी स्टक, बन्ड र अन्य धितोपत्रहरूमा लगानी गर्ने संयन्त्र हो । यो एक लगानी प्रबन्धकद्वारा व्यवस्थित र सञ्चालित हुन्छ । यसमा ठूलो संख्यामा लगानीकर्ताहरूद्वारा पैसा जम्मा गरिएको हुन्छ । यसलाई सामूहिक लगानी कोष पनि भनिन्छ ।

सामूहिक लगानी कोष नियमावली २०६७, सामूहिक लगानी कोष निर्देशिका २०६९ अनुसार धितोपत्र बोर्डले म्युचुअल फन्डको नियमन गर्छ । योजना सुरु गर्न आवश्यक सबै कानूनी प्रावधान, सरकार तथा नियामक निकायबाट जारी निर्देशनहरूको पालना गरिएको हुन्छ ।

कोषले पैसा कमाउने उद्देश्य राखेर ठूलो संख्यामा लगानीकर्ताबाट पैसा संकलन गर्छ र संकलित रकमलाई इक्विटी, बन्ड लगायत धितोपत्रहरूमा लगानी गर्छ । लगानीकर्ताले कोषमा गरेको लगानीको आधारमा शेयर इकाईहरू प्राप्त गर्छन् । शेयर इकाईको अंकित मूल्य प्रति कित्ता रु. १० राखिएको हुन्छ । कोषको सम्पत्ति र आर्जन गरेको नाफाबाट खुद सम्पत्ति मूल्यगणना गरिन्छ । जुन कोष सञ्चालनको लागत र कमिसन घटाएर लगानीकर्ताहरूलाई खरिद गरेको शेयर संख्याको अनुपातमा वितरण गरिन्छ ।

कम्पनीको शेयरमा सिधै लगानी गरेर वा म्युचुअल फन्डमा लगानी गरेर सम्पत्ति निर्माण गर्न सकिन्छ । शेयरमा प्रत्यक्ष लगानीमा भने तुलनात्मक रूपमा उच्च जोखिम हुन्छ र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत स्टकहरूको उतारचढाव अनुगमन गर्ने र सयौं मध्येबाट केही राम्रा स्टकहरू छनोट गर्ने कार्य व्यक्तिगत लगानीकर्ताका लागि ठूलो चुनौती हुनसक्छ ।

व्यक्तिगत लगानीमा हुने जोखिमलाई न्यूनीकरण गर्न, म्युचुअल फन्डले विशेषज्ञ कोष प्रबन्धकहरूबाट धितोपत्र छनोट गर्छन् । जसमा स्टक एक्सचेन्जमा सूचीबद्ध सयौं धितोपत्रहरूको लागत लाभको अनुगमन गरिन्छ र उक्त अनुगमन तथा विश्लेषणले गर्दा म्युचुअल फन्डले उच्च प्रतिफल दिन सक्छ ।

यो मार्गनिर्देशनमा हामीले म्युचुअल फन्ड बारे जानकारी लिन र लगानी गर्न मद्दत पुग्ने विषयमा चर्चा गरेका छौं ।

कसले सामूहिक लगानी कोष स्थापना गर्न सक्छ ?

वित्तीय कारोबार गर्ने संगठित संस्था वा बीमा कम्पनी वा विशेष ऐनद्वारा स्थापित गैर बैंकिङ वित्तीय संस्थाहरूले सामूहिक लगानी कोषको स्थापना गर्न सक्छन् । संस्थापकको चुक्ता पूँजी कम्तीमा दुई अर्ब रुपैयाँ हुनुपर्छ । कम्पनीले व्यवसाय सञ्चालन गरेको पाँच वर्ष पूरा भएको र पछिल्लो तीन वर्ष लगातार नाफामा गरेको हुनुपर्छ ।

चुक्ता पूँजी भन्दा नेटवर्थ कम नभएको, सञ्चालक वा कार्यकारी प्रमुखले कुनै प्रकारको ठगी, जालसाजी वा नैतिक पतन देखिने कुनै कसूरमा सजाय नपाएको, कर्जा सूचना केन्द्र वा कुनै नियमन निकायको कालोसूचीमा नरहेको हुनुपर्ने शर्त पनि नियमावलीमा तोकिएको छ ।

यी योग्यता पूरा गर्ने संस्थाले मात्र सामूहिक लगानी कोष स्थापनाको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिन पाउँछन् ।

म्युचुअल फन्डका फाइदा

म्युचुअल फन्डहरूले विभिन्न लगानीकर्ताहरूबाट संकलित रकम स्टक, बन्ड लगायतका सेक्युरिटीहरूमा लगानी गर्छन् । यस किसिमको विविधीकरणले सम्पत्तिहरू हुने लगानीको जोखिम कम गर्न मद्दत गर्छ । यसले व्यक्तिगत वा एकल लगानीमा हुने जोखिमको प्रभावलाई समेत कम गर्छ र निरन्तर प्रतिफलको सुनिश्चितता गर्न मद्दत गर्छ ।

म्युचुअल फन्डहरूलाई अनुभवी कोष प्रबन्धकहरूद्वारा सञ्चालनमा ल्याइएको हुन्छ जसले लगानीकर्ताहरूको तर्फबाट लगानी निर्णय गर्छन् । लगानी उद्देश्यहरू भित्र रहेर अधिकतम प्रतिफल प्राप्त गर्नका लागि पेशेवरहरूले कम्पनीको विश्लेषण, अनुसन्धान, बजार प्रवृत्तिहरू विश्लेषण गरी सक्रिय रूपमा पोर्टफोलियो व्यवस्थापन गर्छन् ।

म्युचुअल फन्डका शेयरहरू कुनै पनि कारोबार दिनमा खुद सम्पत्ति मूल्य (NAV- Net Asset Value) का आधारमा सजिलैसँग खरिद बिक्री गर्न सकिन्छ । यसले लगानीकर्ताहरूलाई तरलता प्रदान गर्छ र आवश्यक पर्दा म्युचुअल फन्डलाई नगदमा रूपान्तरण गर्न सकिन्छ ।

म्युचुअल फन्ड वा सामूहिक लगानीकोषहरू नेपाल धितोपत्र बोर्ड (सेबन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से) जस्ता नियामक निकायहरूद्वारा नियमन गरिएको हुन्छ । नियमनले  पारदर्शिता, लगानीकर्ता संरक्षण र सामूहिक लगानीकोषहरूको मापदण्डहरूको पालना सुनिश्चित गर्न मद्दत गर्छ ।

म्युचुअल फन्डमा लगानी गर्न सजिलो हुन्छ, किनकि कोषमा रहेका आर्थिक विशेषज्ञ, लेखा परीक्षक, आधारभूत तथा प्राविधिक विशेषज्ञहरूले दैनिक लगानीका निर्णयहरू रहन्छन् । यसले लगानीकर्ताहरूलाई निरन्तर निगरानी र निर्णय लिने झन्झटबाट छुटकारा प्रदान गर्छ र लगानीकर्ताका अन्य व्यवसाय वा रोजगारीलाई दिनुपर्ने समय पनि खेर जाँदैन ।

प्रायः म्युचुअल फन्डहरूले व्यवस्थित लगानी योजनाहरू (SIPs) प्रस्ताव गर्छन्, जसले लगानीकर्ताहरूलाई नियमित रूपमा निश्चित रकम योगदान गरी समयसँगै कम्पाउन्डिङ (चक्रवृद्धि) लाभ लिन सकिने बनाउँछन् ।

इक्विटी फन्ड, बन्ड फन्ड, मनी मार्केट फन्ड, हाइब्रिड फन्ड गरी लगानी क्षेत्रका आधारमा म्युचुअल फन्डलाई विभाजन गर्न सकिन्छ । यस प्रकारको विविधताले लगानीकर्ताहरूलाई उनीहरूको जोखिम सहनशीलता, लगानी लक्ष्यहरू, समयसँग मिल्दोजुल्दो कोषहरू छनोट गर्न सहयोग पुर्‍याउँछ ।

म्युचुअल फन्डहरूले उनीहरूको होल्डिङ, कार्यसम्पादन र खर्चहरूमा नियमित अपडेट गर्छन् । लगानीकर्ताहरूले सजिलैसँग आफ्नो लगानी ट्रयाक गर्न सक्छन् र उपलब्ध जानकारीको आधारमा अन्य लगानीका निर्णयहरू गर्न सक्छन् ।

हरेक महिनाको अन्त्यमा म्युचुअल फन्डको NAV प्रकाशित गर्दा म्युचुअल फन्डले खरिद गरेका स्टकहरू वा अन्य लगानीका स्रोतहरू पनि प्रकाशित गर्छ र सोही प्रकाशित विवरणमा रहेका स्टकहरू खरिद गरी सामान्य लगानीकर्ताले पनि लगानीका निर्णयहरू लिन सक्छन् ।

धेरै पढिएका

म्युचुअल फण्ड

एसआईपी भनेको के हो ? यसले कसरी काम गर्छ ?

योजनाबद्ध तरिकाले नियमित रूपमा लगानी गर्ने विधि व्यवस्थित लगानी योजना (Systemic Investment Plan, SIP) हो । यो म्युचुअल फन्डमा पैसा...

म्युचुअल फण्ड

म्युचुअल फन्डको न्याभ भनेको के हो ? स्टक मूल्य र न्याभमा के फरक छ ?

NAV भनेको म्युचुअल फन्डको प्रति इकाई वास्तविक मूल्य हो जसलाई खुद सम्पत्ति मूल्य (Net Asset Value, NAV) भनिन्छ ।

म्युचुअल फण्ड

लमसम भनेको के हो ? एसआईपी र लमसममा के अन्तर छ ?

लमसम (Lumpsum) भन्नाले एकमुष्ट रकमलाई जनाउँछ । लमसम लगानी भनेको त्यो हो जसमा सम्पूर्ण रकम एकैचोटि एउटै व्यापार वा शेयर...

म्युचुअल फण्ड

नेपालमा कति प्रकारका म्युचुअल फन्ड प्रचलनमा छन् ?

नेपालमा दुई प्रकारका म्युचुअल फन्ड छन्– खुलामुखी सामूहिक लगानी योजना (Open-Ended Mutual Fund) र बन्दमुखी सामूहिक लगानी योजना (Close-Ended Mutual...

म्युचुअल फण्ड

नेपालमा म्युचुअल फन्डको इतिहास

म्युचुअल फन्ड निर्देशन, २०६७ जारी हुनुअघि एनआईडीसी क्यापिटल मार्केटले एनसीएम म्युचुअल फन्ड, २०५० (१९९३/९४ मा) स्थापना गरेको थियो । यो...

म्युचुअल फण्ड

हाइब्रिड फन्ड भनेको के हो ?

योजनाको लगानी लक्ष्य पूरा गर्न सिर्जना गरिएको डेब्ट (ऋणपत्र) र इक्विटी (शेयर) जस्ता सम्पत्तिहरूमा मिश्रित लगानी गर्ने म्युचुअल फन्ड हाइब्रिड...

0 %

पढिसक्नुभयो !