Comments Add Comment

घ्युकुमारी र स्टेभियाका ब्यापारी प्रहरीको फन्दामा

७ साउन काठमाडौं । व्यवसायिक कृषि खेतीका नाममा किसानबाट करोडौ रुपैयाँ उठाई ठगी गरेको आरोपमा पार्म एग्रोटेक एण्ड बायो-इनर्जीका प्रबन्ध निर्देशक रुद्र गिरीलाई प्रहरीले पक्राउ गरेको छ । एलोभेरा (घ्यूकुमारी) र स्टेभियालगायतको व्यावसायिक खेतीका नाममा किसानबाट करौडौ रुपैयाँ उठाएका गिरीलाई शनिबार चितवन प्रहरीले पक्राउ गरेको हो ।

Rudra Giriदेशभरिका ५६ जिल्लाबाट करिब ४ सय ५० किसानलाई गिरीले ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । तर, गिरीले कति ठगी गरे भन्ने तथ्य भने बाहिर आइसकेको छैन । उनीविरुद्ध ठगी मुद्दा दर्ता गरिएको चितवन प्रहरी कार्यालय प्रमुख (डीएसपी) शान्तिराज कोइरालाले अनलाइनखबरलाई जानकारी दिए ।

‘किसानसँग सम्झौताअनुसार काम नगरेको देखि लिएर बाउन्स चेकसम्मका उजुरीहरु आइरहेका छन्’ डीएसपी कोइरालाले भने । उनका अनुसार गिरीको चितवनस्थित कृषि र्फममा गिरी र पीडित किसानबीच हातहालाहालको स्थिति भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पार्म एग्रोटेक नामक कम्पनी ०६४ सालमा स्थापना गरी गिरीले किसानलाई ठग्न सुरु गरेका हुन् । उनले किसानलाई एक वर्षमै लगानीको दोब्बर आम्दानी गर्न सकिने भन्दै एलोभेरा र स्टेभियाको खेती गर्न उक्साएका थिए ।

उनको कम्पनी पार्म एग्रोटेकले किसानहरुलाई प्रतिबिरुवा ४० रुपैयाँका दरले बिरुवा बिक्री गर्थ्यो । भारतबाट दुई रुपैयाँमा बिरुवा ल्याउने गरेको किसानहरुको भनाइ छ । गिरीले एक किसानले ६ हजारभन्दा कम विरुवा किन्न नपाउने नियम नै बनाएका थिए ।

त्यसैगरी एक हेक्टर जमीनमा एलोभेरा खेती गर्दा वाषिर्क ९ लाख देखि १२ लाख रुपैयाँसम्म खुद नाफा कमाउन सकिने प्रचार गर्दै आएका थिए । उनले बनाएको विज्ञापनको प्रोमो अहिले पनि केही टेलिभिजनहरुले बजाइरहेका छन् । आफ्नो कम्पनीबाट बिरुवा किन्ने किसानको पाँच वर्षको उत्पादन महंगोमा किनिदिने सम्झौता समेत गिरीले गरेका थिए । तर उनले उधारोमा उत्पादन खरिद गरेको र भुक्तानी नदिएको पीडित किसानहरुको आरोप छ ।praman-patra

गिरी किसानको उत्पादन उधारोमा किन्ने र सम्र्पकबिहीन हुने गरेको पीडित किसान कृष्ण विष्टले अनलाइनखबरलाई बताए । ‘२५ हजार विरुवा र ३० हजार किलो पातको भुक्तानी नदिको एक वर्षभन्दा बढी भयो’ विष्टले भने -यसबीचमा एकपटक पनि सम्पर्क गर्न पाइएन । उनी सम्पर्कमा आउनै चाहेनन् ।

गिरीको पार्म एग्रोटेक भन्ने कम्पनी काठमाडौस्थित मध्यवानेश्वर (एपेक्स कलेजको ठीक अगाडि) रहेको छ ।

पानी जम्ने समथर भूमिमा स्टेभियाको खेती हुनै नसक्ने रहे पनि गिरीले तराईमा स्टेभियाको राम्रो हुने भन्दै किसानलाई बिरुवा बिक्री गरेको पीडित किसानहरु बताउँछन् । ‘गिरीले एलोभेराले ६ महिनादेखि प्रतिफल दिन सुरु गर्ने ग्यारेन्टीसहित बिरुवा बिक्री गरेका थिए । तर, एलोभेराले १८ महिनादेखि मात्रै उत्पादन थाल्दोरहेछ’ विष्टले भने ।

राष्ट्रपति, नेता र मिडियालाई प्रयोग

आक्रामक बजार विस्तारको नीति लिएका गिरीले जनताको मन जित्न राष्ट्रपतिदेखि चलेका नेताहरु एवं ठूला आमसञ्चार माध्यमको समेत भरपूर उपयोग गरेका थिए । राष्ट्रपति डा. रामवरण यादवसँग भेट गरी सो भेटका क्रममा राष्ट्रपतिले भनेका कुरा समेत राखी विज्ञापन बनाएर गिरीले किसानलाई लोभ्याएको प्रहारी बताउँछ ।

तत्कालीन अर्थमन्त्री वर्षमान पुनलगायतसँगको तस्वीरको पनि गिरीले दुरुपयोग गरेको थाहाभएको छ । अधिकांश सञ्चारमाध्यममा विज्ञापन प्रकाशन प्रसारण गरे । त्यसबलेला धेरैले भन्ने गर्ने ‘गिरीले कृषि क्रान्ति गर्ने भए ।’

राजस्वको छापाले गिरी बर्बाद

कर छलीको आशंकामा १४ महिनाअघि राजस्व अनुसन्धान कार्यालयले छापा मारेपछि गिरीको कर्तुत सार्वजानिक भएको हो । करोडौंको करोबार गर्ने उनको कम्पनीले एउटा पनि भ्याट बिल जारी नगरेको र एलोभेरा र स्टेभियाको जुस भारतबाट ल्याएर आफ्नो कम्पनीको स्टीकर टाँसेर बिक्री वितरण गरेको भन्दै पाम एग्रोटेकलाई राजस्वले कारवाही गरेको थियो । सो खबर बाहिर आएपछि गिरी किसानसँग सम्पर्कविहीन भएका थिए ।

को हुन् गिरी ?

गिरीको स्थायी घर झापाको बिर्तामोड हो । उनको परिवार ताप्लेजुंगबाट बसाइँ सरेर झापा झरेको हो । उनकी एक श्रीमती र दुई छोराछोरी छन् । गिरीको पारिवारिक पृष्ठभूमि सामान्य किसान हो ।

रोजगारीका लागि दुई वर्ष मलेसिया बसेर नेपाल फर्किई एलोभेरा र स्टेभियाको व्यवसायिक खेतीको अभियान चलाएका उनी त्यसअघि उनी बानेश्वरको बुद्धनगरमा ट्यूसन इन्टिच्यूट चलाउँथे । उनले सेवा बिक्रीका नाममा युनिटी र हर्बोजस्ता नेटवर्क मार्केटिङको व्यापक विस्तार भएका बेला कृषिका नाममा ठगी धन्धा सुरु गरेका हुन् । गिरीले भन्ने गरेका थिए -युनिटीमा फसियो, यो व्यवसायमा चाहिँ फस्दिँन जस्तो लागेको छ ।

के हो एलोभेरा ?

yallovaaraएलोभेरा अर्थात घ्यू कुमारी एक प्रकारको वनस्पति हो । गर्मी ठाउँमा पाइने यो वनस्पति मानव स्वास्थ्यका लागि निकै फलदायी हुन्छ । समुद्री सतहबाट १५ सय मिटर उचाइसम्म एलोभेराको खेती हुन्छ ।

विभिन्न प्रकारका औषधि बनाउन एलोभेराको प्रयोग गरिन्छ । त्यतिमात्रै होइन, एलोभेराबाट उत्पादित प्रसाधनका कस्मेटिक वस्तुहरु नुहाउने साबुन, स्याम्पू, कपालमा लगाउने क्रिम, अनुहारमा लगाउने क्रिमलगायतमा प्रयोग गरिन्छ ।

एलोभेराबाट, जुस, अचार, जामलगायतका विभिन्न खाद्य वस्तुको बनाउने गरिएको छ । प्रशोधन नगरिएको एलोभेरा अत्यन्तै तीतो स्वादको हुन्छ ।

के हो स्टेभिया ?

समुद्री सतहदेखि २५ सय मिटरको उचाइ भएको घमाइलो जमीनमा खेती गर्न सकिने स्टेभिया अर्थात चिनी बिरुवा पनि steviaमानव स्वास्थ्यका लागि अत्यन्तै उपयोगी मानिन्छ । यो बहुबर्षी सदावहार वनस्पति हो ।

यो वनस्पतिबाट ७ देखि १२ वर्षसम्म उत्पादन लिन सकिन्छ । स्टेभियालाई संसारभरि नै चिनीको विकल्पका रुपमा लिइन्छ ।

स्टेभियामा चिनीभन्दा २ देखि ३ सय गुण बढीसम्म गुलियो पाइने भए पनि अत्यन्तै न्यून क्यालोरी हुने भएकाले यो मधुमेह -सुगर, चिनीरोग) भएकाहरुले पनि सेवन गर्न मिल्ने बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment