Comments Add Comment

वाणिज्य बैंकले लिए साढे सात अर्ब पुनरकर्जा

११ साउन काठमाडौं । गत असार मसान्तसम्ममा ११ वटा वाणिज्य बैंकले ७ अर्ब ४६ करोड रुपैयाँ पुनकर्जा सुविधाको उपयोग गरेका छन् । राष्ट्र बैंकले तोकिएका उत्पादनशील क्षेत्रमा लगानी गर्न र निर्यात प्रवर्द्धनका लागि विषेश पुनकर्जा सुविधा उपलब्ध गराउँदै आएकोछ ।

moneyकृषि, जलविद्युत, पशुपंक्षी एवं मत्यपालन व्यवसायलगायतका तोकिएका अन्य उत्पादनशील क्षेत्रमा लगानी गर्न बैंकहरुलाई राष्ट्र बैंकले आर्थिक वर्ष २०७०/०७१ मा ५ प्रतिशत व्याजदरमा पुनकर्जा सुविधा उपलब्ध गराएको थियो ।

अघिल्लो वर्ष पुनकर्जाको व्याजदर ६ प्रतिशत थियो भने आर्थिक वर्ष २०७१/०७२ का लागि ४ प्रतिशत व्याजदरमा पुनकर्जा उपलब्ध गराउने हालै सार्वजानिक गरेको मौद्रिक नीतिमा घोषणा गरेको छ ।

उत्पादनशील क्षेत्रमा कर्जा विस्तारका लागि ४ वटा वाणिज्य बैंकहरुले ४ अर्ब ५३ करोड रुपैयाँ पुनकर्जा लिएका छन् । उत्पादनशील क्षेत्रमा लगानी गर्न लिएको पुनकर्जा ९ प्रतिशभन्दा बढी व्याजदरमा लगानी गर्न नपाउने व्यवस्था छ ।

त्यसैगरी, निर्यात प्रवर्द्धनका लागि राष्ट्र बैंकले निर्यात पुनकर्जा पनि उपलब्ध गराउँदै आएको छ । विषेस पुनकर्जाको रुपमा निर्यात पुनकर्जा उपलब्ध गराएको हो । असार मसान्तसम्ममा ७ वाणिज्य बैंकहरुले २ अर्ब ९३ करोड रुपैयाँ निर्यात पुनकर्जाको उपयोग गरेका छन् ।

निर्यात पुनकर्जा राष्ट्र बैंकले १ प्रतिशतमा उपलब्ध गराउँदै आएको छ । यस्तो पुनकर्जा लिएको रकम बैंक तथा वित्तीय संस्थाहरुले  ग्राहकसँग ४.५ प्रतिशतभन्दा बढी व्याज लिन पाउने छैनन् ।

राष्ट्र बैंकका अधिकारीहरु राष्ट्र बैंकले सोचेभन्दा निकै कम पुनकर्जाको माग आएको बताउँछन् । सरकारले तोकेका क्षेत्रहरुमा बैंक तथा वित्तीय संस्थाको लगानी बढ्न नसक्दा र निर्यातजन्य वस्तुको उत्पादन बढ्न नसक्दा पुनकर्जाको माग राष्ट्र बैंकले सोचेअनुरुप नआएको उनीहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment