Comments Add Comment

राजधानीको सडकमा रोपाइँ

११ साउन, काठमाडौं । वर्षा नलाग्दै भत्काइएका काठमाडौंका सडक पुनःनिर्माण नगरिँदा हिले खेतमा परिणत भएका छन् । काठमाडौंको वनस्थलीमा भत्काइएको सडक चार महिना बितिसक्दा पनि निर्माण नभएपछि स्थानीयले आइतबार धान रोपेका छन् ।

बनस्थलीका स्थानीयले वनस्थली चोकबाट भगवान पाउसम्मको करिब १४ सय मिटर सडक भत्काएर मर्मत नगरेको विरोधमा धान रोपेका हुन् । भत्काइएको सडक खहरे बनेर स्थानीयलाई सास्ती भएपछि उनीहरुले विरोधको नयाँ शैली अपनाए ।

वर्षासँगै सास्ती

विस्तार गर्न भन्दै दू्रतगतिमा भत्काइएको राजधानीको सडक पुनःनिर्माण कार्य कछुवाको गतिमा अघि बढेपछि पैदल हिँड्ने सर्वसाधारण र सवारी चालकले सास्ती ब्यहोर्नुपरेको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले विस्तार गरिरहेको सडकको पुनःनिर्माणमा भएको ढिलाइले नागरिकहरु आक्रोशित भएका छन् । तीन महिनाअघि नै भत्काएर पुनःनिर्माणमा चासो नदिँदा पुरानो बानेश्वर-सिनामंगल सडक खण्डका स्थानीयको व्यापार चौपट भएको छ ।

सडक भत्काएपछि पुनःनिर्माण नगरिँदा पुरानो बानेश्वर-सिनामंगल सडक खण्ड खहरे बनेको छ । पानी पर्न थालेपछि हिलोआली गरेको खेतमा परिणत हुने सो सडकको दुरावास्थाले स्थानीयको व्यापार चौपट भएको छ । ‘सडकमा हिँडिसक्नु छैन, मानिसहरु सामान किन्न पनि आउनै छाडे’, पुरानो बानेश्वरका व्यापारी सुदीप शाक्य भन्छन्, ‘यो वर्षामा सडक नबनेपछि हामीले यहाँबाट विस्थापित हुने दिन आएको छ ।’

काठमाडौंका अन्य स्थानमा भत्काइएका सडकमा पैदल हिँड्दा यात्रीले गाडीवालाको हिलो खानु सामान्यजस्तै भएको छ । भत्केका सडक चाँडै बन्ने आशमा बसेका स्थानीय सडक निर्माणका भएको ढिलाई प्रति आक्रोशित हुन थालेका छन् । भत्केको सडकले हैरान कोही स्थानीय नारा जुलुश गरिरहेका छन् भने कोहीचाँहि धान रोप्न ब्यस्त छन् ।

काठमाडौं उपत्यकामा विस्तारका लागि भत्काइएको करिब एक सय ८० किलोमिटर सडकमध्ये हालसम्म करिब सय किलोमिटरमात्र पुनःनिर्माण गरिएको छ । भित्री सहरहरु गौशाला, पुरानो बानेश्वर, मैतीदेवीमा सडक मर्मत नगरिँदा बढी समस्या देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment