Comments Add Comment

सुनकोशीको बगरमा जे देखियो (स्थलगत रिपोर्ट)

Matrika-paudel

मात्रिका पौडेल

१७ साउन, सिन्धुपाल्चोक । बाह्रबिसे नजिकै पहिरोले सुनकोशी नदी थुनेको सुनेपछि हामी एकाबिहानै काठमाडौंबाट घटनास्थलतर्फ हानियौं । धुलिखेलदेखि नै प्रहरीले अघि बढ्न अवरोध गरिसकेको थियो । जिरो किलो, दोलालघाट हुँदै वनदेउ पुग्दा सेना, प्रहरी र काभ्रेका प्रमुख जिल्ला अधिकारीसमेत अब अघि बढ्ने कि नबढ्ने भन्ने अन्योलमा भेटिए ।

सुनकोशीको किनाराको सडकबाट अघि बढ्नु सुरक्षाका दृष्टिले खतरा थियो । तर, हाम्रो यात्रामा रहेका एमालेका युवा नेता माधव ढुंगेल, होम बुढाथोकी, ज्ञानकुमार श्रेष्ठसहितको टोलीले ‘परेको बेहोर्ने’ साहस जुटाएपछि हामी सुनकोशी थुनिएको स्थतलर्फ अघि बढ्यौं ।

सुकेटे, चेहेरे, अँधेरीलगायतका नदी किनाराका बस्तीका घरहरुमा ताल्चा लगाएर बासिन्दाले थलोकिलो छाडिसकेका थिए । खाडीचौर बजार उजाड र त्रस्त थियो । दिनमा करोडौंको व्यापार हुने व्यापारिक केन्द्र खाडीचौरका बासिन्दा एवं व्यापारीहरु बिहान तीनै बजे आफ्नो भएभरको सम्पत्ति छाडेर पांग्रेटारतिर लागिसकेका थिए ।

हामी खाडीचौरमा धेरैबेर अल्मलिने अवस्था थिएन । मान्छेहरु छिटो भाग्नुस, माथिबाट नदी फुटिसक्यो भन्दै कराउदै थिए । कत्ति पनि ढिलो नगरी हामी सुनसान लामोसाँघु बजार कटेर सुनकोशी थुनिएको स्थलमा पुग्यौं । घटनास्थल छेऊछाउ पुग्दा जेजस्ता दृश्यहरु देखिए, ती अत्यन्तै कहालीलाग्दा थिए ।

सिंगै गाउँ पहिरोमा छोपिएको थियो । नदी थुनिएपछि दर्जनबढी घर पानीले डुबाइसकेको थियो । माथि हेर्दै डरलाग्दो डाँडोबाट धुँवा धूलो निकाल्दै सुख्खा पहिरो झरिरहेको थियो । त्यो स्थानमा केही घण्टाअघिसम्म कम्तिमा २५ घरका एक सयजति जहान परिवार हाँसीखुसी बसेका थिए भन्ने सत्य दन्त्यकथामा परिणत भइसकेको थियो ।

स्थानीयवासीका शव र घाइतेहरुलाई हिजोसम्म नदी बग्ने र आज सुख्खा बनेको पहिरोभित्रबाट धमाधम निकालिँदै थियो । यहाँ अघिल्लो दिनसम्म नदी बग्थ्यो भन्ने कुनै नामोनिसान थिएन । मान्छे र पशुपन्छीका लास, घर तथा गाडीका भग्नावशेषमात्रै भेटिए ।

उद्धार र थुनिएको नदीको पानी सहज बगाउन भनेर गएका सुरक्षाकर्मीहरु समेत त्यहाँको दर्दनाक अवस्था देखेर नर्भस अवस्थामा थिए । ‘सेना र प्रहरीमा करीव ३० वर्ष बिताइयो, तर यस्तो दर्दनाक र विभत्स घटना मैले पहिलोपटक देखेँ’ सशस्त्र प्रहरीका डीएसपी मोहन गुरुङले यस्तो अनुभव सुनाए ।

हामी अझ अघि बढ्यौं । तर, माथिबाट झरिरहेको पहिरो र नदीको सतह माथि आउँदै गरेका कारण सुरक्षा खतरा भन्दै हामीलाई अघि बढ्न दिइएन ।

कति मानिस पुरिए पहिरोमा ?

पहिरोमा पुरिएर करिव २ सय स्थानीय बेपत्ता भएको अनुमान स्थानीय सरोज श्रेष्ठले लगाए । तर, यकिन तथ्य कोहीसँग थिएन । किनकि प्रायः परिवारका सबै मान्छे पुरिएकाले कुन घरमा कति मान्छे थिए भन्ने यथार्थ नै आउन सकेको छैन ।

sukoshi-2

नेता मूकदर्शक बन्न बाध्य

घटनास्थलमा सिन्धुपाल्चोक घर भएका एमाले नेता अमृत बोहोरा, अरुण नेपाल, सरेश नेपाल, एमाओवादी नेता अग्नि सापकोटाहरु पुगे पनि उनीहरु निरीह भएर दुर्दशा हेर्नुबाहेक केही बोल्न सकिरहेका थिएनन् । उनीहरुले गर्नसक्ने केही थिएन । आकाशबाट सेनाका हेलिकोप्टरको दोहोरीलत्त ओहोर-दोहोर हुँदा स्थानीयसँगै ती नेताहरु पनि अब केही उपाय आउँछ कि भनेर पर्खिन्थे । तर, हात लाग्थ्यो निराशामात्र ।

रुनसमेत पाएनन् पीडितले

दशा र दुर्दशाले मान्छेलाई असैहृय पीडा दिएपछि रुन पनि आउँदो रहेन छ । आफन्त, नातागोता, श्रीसम्पत्ति सर्वस्व गुमाएर एकै रातमा करोडबाट रोडमा झरेका स्थानीयहरु आँशु झारेर धित मरुन्जेल रुन समेत सकिरहेका थिएनन् ।

लामोसाँघु र खाडीचौरका व्यापारीहरु करोडौंको सामान छाडेर केही नगद र सुनमात्र बोकेर ज्यान जोगाउन मुडे जाने सडक किनारामा अलपत्र बसिरहेका थिए ।

भरे उठी कहाँ जाने केही थाहा छैन…….
करीव ५ हजार बासिन्दा र व्यवसायीहरु आफ्नो सिरखुरी छाडेर रुखमुनि ओत लागेर बसेका थिए । उनीहरु तलतिर सुकेको सुनकोशी हेर्दै अब के बिनाश लीला मच्चिएला भनेर त्राशदीपूर्ण प्रतिक्षा गरिरहेका थिए । नारायणगोपालले गाएको गीत ‘भरे उठी कहाँ जाने, केही थाहा छैन’ भनेजस्तै भरे राति कहाँ सुत्ने उनीहरुलाई थाहा थिएन ।

साना नानीहरु काखी च्यापेर सडकमा सुस्ताएका महिला खानेपानी खोज्दै जरुवातिर दौडिरहेका थिए । कतिपयले ग्यास र स्टोभ लगेर सडकमै खाना पकाइरहेका थिए । ‘यो दृश्यले मेरो मुटु छिया छिया भएको छ, आजको रात यो गाउँका सबै घरमा बाँडेर सुताउछौं’ पाँग्रेटार डाँडामा भेटिएका सिन्धुपाल्चोकका पूर्वजिविस सभापति सरेश नेपालले भने ।

बाह्रबिसेको बिजोग

यताको अवस्था यस्तो थियो भने उता नदी थुनिएपछि सम्पर्क बिच्छेद भएको बाह्रबिसेतिरको अवस्था झनै कहालीलाग्दो । वारि सुरक्षित स्थानतिर गएर बसेकाहरु पारिका आफन्तलाई थुनिएको नदीले डुबाउला कि भन्दै डाँडातिर वा खासातिर जान सुझाउँदै थिए । सानीमा जलविद्युतको कार्यालय डुबाइसकेको नदीले जुरेका २० घर पनि आफ्नो नियन्त्रणमा लिइसकेको थियो ।

यो अवस्थाको रिपोर्टिङ गरिरहँदा रामेछापबाट तारन्तार फोन आइरहेको थियो । किनकि थुनिएको सुनकोशी एकैचोटि फुट्दा सुनकोशी किनारामा रहेका रामेछापका लुभुघाट, बेथान, राकाथुम, सित्खा, सेलेघाट लगायतका बस्तीलाई चपेटामा पार्ने खतरा देखिएको थियो ।

रामेछापका बासिन्दालाई पनि सुरक्षित स्थानतिर जान त्यहीँबाट स्थानीय रेडियोहरुमार्फत जानकारी दिँदै एउटा बियोगान्त दृश्यको निरीह साक्षी बनेर हामी राजधानी काठमाडौं फर्कियौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment