Comments Add Comment

भारतमा चर्चा कमाउँदै नेपाली ‘पेस्तोल किंग’

Jitu-Rai-

३ भदौ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा भाषण गर्दा भनेका थिए, भारतको जीतमा गोर्खालीहरुको भूमिका छ । मोदीले भनेजस्तै भारतले आगामी ओलम्पिक खेलमा समेत स्वर्ण पदकका लागि नेपाली ‘पेस्तोल किङ’ को सहारा लिनुपर्ने भएको छ ।

भारतको गोर्खा राइफल्समा कार्यरत एक नेपाली शुटिङ खेलाडी अहिले भारतको खेल वृत्तमा सर्वाधिक चर्चामा छन् । संखुवासभामा जन्मिएर ८ वर्षअघि भारतीय सेनामा भर्ती भएका जितु राईले शुटिङ खेलमा विश्वकीर्तिमान कायम गरेपछि उनलाई ‘पेस्तोल किङ’ को उपाधि दिइएको छ ।
हालै सम्पन्न राष्ट्रमण्डलीय खेलमा भारतका लागि शुटिङमा स्वर्णपदक जितेसँगै उनको चर्चा अझै चुलिएको हो । भारतीय मिडियाहरुले उनलाई ‘पेस्तोल किंग’का रुपमा खुबै प्रसंसा गरिरहेका छन् ।

कमनवेल्थ खेलअन्तरगत ५० मिटर पेस्तोल इभेन्टमा राईले विश्वकीर्तिमानसहित स्वर्णपदक जितेपछि उनलाई आगामी ओलम्पिकमा भारतका लागि पदक दिलाउने खेलाडीका रुपमा समेत हेरिएको छ ।

स्कटल्याण्डमा सम्पन्न राष्ट्रमण्डल खेलका क्रममा उनले ५० मिटर पेस्तोल इभेन्टको छनोट चरणमा ५६२ अंक तथा फाइनलमा १९४.१ अंकको कीर्तिमान कायम गरेका थिए ।

jit-rai-2गत जूनमा अन्तराष्ट्रिय सुटिङ खेल महासंघ विश्वकपमा एक रजत पदक जितेका थिए भने त्योलगत्तै स्लोभानियामा भएको शुटिङको विश्व प्रतिस्पर्धामा एक स्वर्ण र एक रजत पदक जितेर तहल्का मच्चाएका थिए । २६ वर्षीय जितु राई सन् २००६ मा भारतीय सेनामा भर्ति भएको टाइम्स अफ इण्डियाले जनाएको छ । उनी पछिल्लो ८ वर्षदेखि भारतको लखनउमा बस्दै आएका छन् ।

टाइम्स अफ इण्डियाले ११ औँ गोर्खा रेजिमेन्टका जितु राई नयाँ तरंगको रुपमा उदाएको भन्दै उनी एउटै विश्व प्रतिस्पर्धामा दुई पदक जित्ने पहिलो भारतका खेलाडी हुन् । साथै उनी ९ दिनमा ३ पटक जित्ने पहिलो खेलाडि भएको भारतीयहरुले बताएका छन् ।

जितुको यो प्रदर्शनकै कारण उनी १० मिटर एयर पेस्तोलमा विश्व बरियताको पहिलो नम्बरमा तथा ५० मिटर पेस्तोलमा चौथो नम्बरमा छन् ।

सम्मान नपाएको भन्दै बसाइ सर्ने मनस्थितिमा, कुनै पुरस्कार नलिने

यसैबीच उत्तर प्रदेश सरकारले आफुलाई बेवास्ता गरिरहेको र आफुले प्राप्त गरेको सफलताप्रति कुनै सम्मान प्रकट नगरेकोमा असन्तुष्टि जनाउँदै जितु लखनउबाट बसाइ सर्ने मनस्थितिमा पुगेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

पछिल्लो ८ वर्षदेखि लखनउमा बसिरहेको र शुटिङमा कीर्तिमानी प्रदर्शन गरेर देश र राज्यका लागिसमेत पदक भित्र्याए पनि राई लखनउमा अपरिचित पात्रजस्तै भएको टिप्पणी टाइम्स अफ इण्डियाको छ ।

सन् २०११ को राष्ट्रिय खेलमा उत्तर प्रदेशबाट सहभागिता जनाउने आफु एकमात्र शुटिङ खेलाडी रहेको, त्यसपछि पनि विभिन्न ६ वटा राष्ट्रिय प्रतिस्पर्धामा युपीको तर्फबाट प्रतिनिधित्व जनाएको भए पनि सरकारमा आफ्नो आवद्धताप्रति अझै पनि शंका तथा द्विविधा रहेको उनले बताएका छन् ।
युपीका लागि थुप्रै पदक ल्याउँदा पनि आफुलाई उत्तर प्रदेश सरकारले कुनै पहिचान नदिएकाले आफु निकै नै दुखी भएको भन्दै उनले आफू सन् २००६ देखि लखनउमा बस्दै आएको र लखनउमै आफ्नो घर भएको बताएका छन् ।

Jitu-Rai-1अब आफुले उत्तर प्रदेश सरकारबाट दिइने कुनै पनि सम्मान तथा पुरस्कार नलिने घोषणा गर्दै उनले आफु हरियाणा तथा पञ्जाव राज्यमा बसाइ सर्नसक्ने संकेत गरेका छन् ।

सेप्टेम्बर ६ देखि स्पेनमा हुन लागेको शुटिङको विश्व च्याम्पियनका लागि तयारी गरिरहेका जितुका लागि उक्त प्रतिस्पर्धा निकै महत्वको हुनेछ । किनकि उक्त प्रतिस्पर्धाका उत्कृष्ट ६४ खेलाडीमध्येबाटै सन् २०१६ मा ब्राजिलमा हुने ओलम्पिक खेलमा छनोट गरिने छ ।

राईलाई आशन्न एशियाली खेलकुदमा समेत भारतका लागि स्वर्णपदक भित्राउने एक खेलाडीका रुपमा हेरिएको छ ।
उता भारतीय चर्चित टेलिभिजन एनडी टीभीले भने आफ्नो अनलाइन संस्करणमा उत्तर प्रदेश सरकारले आफुलाई सम्मान नगरेको भन्दै जितु राई असन्तुष्ट रहेको भन्ने व्यहोराको टाइम्स अफ इण्डियाको खबरको खण्डन गर्ने प्रयास गरेको छ ।

राईलाई उधृत गर्दै एनडी टीभीले भनेको छ, ‘उनले कुनै राज्यबाट प्रदान गरिने लाभका विषयमा आफु चिन्तित नभएको र अन्तराष्ट्रिय प्रतिस्पर्धामा देशको प्रतिनिधित्वमै केन्द्रित  रहेको बताएका छन् ।’

‘मैले देशका लागि पदक जितेको हुँ, उत्तर प्रदेशका लागि होइन । म केवल भारतीय सेनाका लागि खेल्दछु’, राईले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment