Comments Add Comment

मलेसियाबाट मनकुमार क्यान्सर लिएर फर्किए

Mankumar-Rai

ज्ञानेन्द्र खड्का

११ भदौ, काठमाडौं । उमेरले भर्खरै २५ टेकेका मनकुमार राई प्रेम विवाह गरेर भित्र्याएकी पत्नी, बाबुआमा र दाजुभाइलाई छाडेर पैसा कमाउन मलेसिया गएका थिए । तर, उनी यतिबेला क्यान्सर बोकेर स्वदेश फर्किएका छन् ।
भोजपुरको याकु गाविस-४ का मनकुमार राई देशमा रोजगारी नपाएपछि साथीहरुसँगै ठूलो जहाज चढेर मलेसिया भासिएका थिए । राम्रै कमाइ हुने आशमा उनी मलेसिया पुगे । तर, सबै कुरा सोचेजस्तो कहाँ हुन्छ र ? गतिलो कमाइ हुने आशमा विदेश गएका मनकुमारलाई पहिलो गाँसमै ढुंगा लाग्यो ।
मासिक ३० हजार कमाइ हुने आशमा मलेसिया पुगेका उनले मुस्किलले मासिक २० हजार मात्रै कमाउन सके । फलामको काँटी बनाउने कम्पनीमा रात दिन घोटिँदा पनि घर खर्च पठाउन धौधौ परेपछि उनी सो कम्पनीबाट भागे ।
कम्पनीबाट भागेर अवैधानिक बनेका उनका दुःखका दिन परदेशमै शुरु भए । पहिलो कम्पनीमा काम गर्दा नियमित खानपानको अभावमा उनको पेट दुख्न थालेको थियो । सुरक्षागार्डका रुपमा नयाँ काम थालेपछि उनले कमाइ त राम्रै गरे तर, उनको पेटको व्यथा बढ्दै गयो ।
पैसा कमाएर परिवारलाई सुख दिने सपनामा पेटको व्यथा तगारो बन्यो । एन्टिबायोटिक खाँदै दुई वर्ष बिताएर मनकुमार गत फागुनमा घर फर्के । परदेश जाँदा जाँदा ६० किलो तौलका हट्टा-कट्टा उनी घर र्फकँदा तौल घटेर ४० किलोमा झर्दा ढोडजस्तै दुब्लो भए ।
घरबाट हाँसिखुसी विदा भएका पतिको अवस्था देखेर पत्नी दिलकुमारी र बाबुआमा विक्षिप्त भए । ‘परदेशबाट सम्पत्ति कमाएर आउँछु भन्नुभएको थियो’, दिलकुमारीले भनिन्, ‘घर फर्किँदा उहाँको अवस्था देखेर रुवाबासी नै चल्यो ।’
मलेसियाबाट क्यान्सर पनि आयो
मलेसियामा रातदिन खटिँदा उपचार गर्न नपाएका मनकुमार फागुनमा घर आएपछि उनको अवस्था विरक्त लाग्दो थियो । हात खुट्टा सुकेर सुकेनास लागेजस्ता थिए, अनुहारको चमक फुङ्ग उडेको थियो । झट्ट हेर्दा उनी ६० वर्षका वृद्धजस्ता देखिन्थे । घरबाट साँचेर लगेका उनका सबै सपना परदेशले लुटेको थियो ।
भनिन्छ, सास हुञ्जेल आश हुन्छ । त्यही आश संगालेकी दिलकुमारीले पतिलाई उपचारका लागि बिराटनगर पुर्‍याइन् । बिराटनरका दुईवटा अस्पतालमा जँचाएपछि मनकुमार र दिलकुमारीको जीवनमा भुइँचालो आयो । ‘पेट दुखेर सिन्को बनेका पतिको पेट जचाँएपछि डाक्टरले क्यान्सर लाग्यो भने’, दिलकुमारीले सुनाइन्, ‘गरिबलाई नै दैवले पनि ठग्दा रहेछन्, पैसा कमाउन जानुभएका उहाँलाई क्यान्सर लागेको सुन्दा संसारै सकिएजस्तो भयो ।’
उपचारमा सकियो चार लाख
मलेसियाले उपहार दिएको क्यान्सरले गरीखाने छोरो ढलेपछि राई परिवार विलखबन्दमा छ । लाऊँलाऊँ र खाउ“mखाऊँको उमेरमा मनकुमार अहिले चितवनस्थित वीपी कोइराला क्यान्सर अस्पतालमा उपचाररत छन् ।
क्यान्सरले थला परेपछि मनकुमार ओइल्याएको सागजस्तै भएका छन् । न राम्ररी बोल्न सक्छन्, न त हिँड्डुल गर्न नै । पेटमा खाना जाने बाटैमा क्यान्सरले गाँजेपछि पेटमा पाइप लगाइएको छ । ठोस कुरा खान नसक्ने उनलाई पत्नी दिलकुमारीले झोल पदार्थ पाइपबाट खुवाउँछिन् ।
‘भर्खरै गरेको घरबार हराबरा बनाउने सपना साँचेकी थिएँ’, दिलकुमारीले भनिन्, ‘पति थला परेपछि मनले शान्ति पाएको छैन, पतिलाई बचाउन सके भाग्यमानी हुन्थेँ ।’
राई परिवारले माहिलो छोराको उपचारका लागि ४ लाख रुपैयाँ सकिसकेको छ । सम्पत्तिका नाममा दुई फोक्टा बारी र झुप्रो घर रहेका उनले मलेसियाबाट ल्याएको पैसा र गाउँमा ऋण गरेर उपचार गरिरहेका छन् । ‘म गरिबसँग केही पनि छैन, कमाएर ल्याएको पनि सकिसकें’, मनकुमार सुनाउँछन्, ‘अब अरुले सहयोग दिए भने ज्यान बाँच्ने आश छ, मलाई धेरै बाँच्ने मन छ ।’
जुट्दैछन् मनकारी हात
मनकुमार क्यान्सरले थला परेपछि उनका छिमेकी साहित्यका शशी लुमुम्बुले उपचार खर्च जुटाइरहेका छन् । बैशाखबाट वीपी कोइराला क्यान्सर अस्पताल चितवनमा उपचाररत मनकुमारका लागि देश विदेशबाट सहयोग जुटिरहेको छ ।
साहित्यकार लुमुम्बुका अनुसार तेस्रो चरणको किमोथेरापी गरिरहेका मनकुमारलाई बचाउन करिब ५ लाख रुपैयाँ जुटिसकेको छ । सोमबारमात्रै भोजपुर सेवा समाज हङकङको तर्फबाट मनकुमारलाई बचाउन समाजका सचिव इन्द्र श्रेष्ठले हस्तान्तरण गरे ।
मनकुमारलाई बचाउन हङकङ, बेलायत, साउदी अरब र अन्य देशमा रोजगारीमा रहेका नेपालीले सहयोग गरिरहेका छन् । उनको उपचारमा करिब ७ लाख रुपैयाँ लाग्ने चिकित्सकहरुले बताएका छन् ।
‘विदेशमा लागेको क्यान्सर देशकै दाजुभाइको सहयोगले निको हुने आश बढेको छ’, मनकुमारले अस्पतालको बेडबाट भने, ‘यत्रा सहयोगी हातको साथ पाएकाले बाँच्ने आश बढेको छ, रोग निको भयो भने देशका लागि केही गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment