Comments Add Comment

१५ वर्षअघि काठमाडौं छिरेका तीन ‘चितुवा’

rajan-upndra
कवि उपेन्द्र सुब्बा, राजन मुकारूङ र हाङयुग अज्ञात

श्रवण मुकारुङ
सिर्जनशील अराजकता १५ वर्ष पुगेकोमा यसका अभियन्ता (राजन मुकारुङ, हाङयुग अज्ञात र उपेन्द्र सुब्बा) लाई शुभकामना व्यक्त गर्न चाहन्छु । सिर्जनशील अराजकतासँग मेरो भातृत्वपूर्ण सम्बन्ध रहेको अवगत गराउन चाहन्छु ।

पन्ध्र वर्षअघि, उहाँहरुको सिर्जनशील अराजकता अभियान सुरु हुनुभन्दा पनि १५ वर्षअघि म काठमाडौं आएको थिएँ । लगभग ३० वर्षअघि । त्यसपछि उहाँहरु आइपुग्नुभयो ।

लिम्बुवान र खम्बुवानका उहाँहरु बैरागी काइँलाको चितुवाजस्तो भएर  काठमाडौं आइपुग्नुभयो

म उहाँहरुको सिर्जनशील अराजकताको म प्रत्यक्ष साक्षी हुँ । उहाँहरुको घोषणापत्र र सबै इतिहास हराएर ममात्रै बाँचें भने पनि म यसको आधिकारिक व्यक्ति हुँ । किनभने मेरो कोठामा निर्माण भएको आन्दोलन हो यो ।

उहाँहरु धेरै ठूला सपना र उत्तेजनाहरु लिएर काठमाडौं आउनुभएको थियो । १५ वर्षअघि पूर्व लिम्बुवानका हाङयुग अज्ञात र खम्बुवानका राजन मुकारुङको शहर प्रवेश भयो ।

बैरागी दाइको एउटा कविता छ, मालीगाउँको चितुवा । जंगलबाट अप्ठ्यारो परेपछि शहरमा, मालीगाउँमा चितुवा आइपुगेछ एक दिन । बैरागी दाइले कविता लेख्नुभयो । त्यस्तै लिम्बुवान र खम्बुवानबाट बैरागी काइँलाको चितुवाजस्तो भएर उहाँहरु काठमाडौं आइपुग्नुभयो ।
उहाँहरुलाई शहरमा असहज भयो । मान्छे बसेको ठाउँमा चितुवालाई त अप्ठ्यारो हुने भैगो ।

sarwan
उपेन्द्र सुब्बा, राजन मुकारूङ

उहाँहरुलाई पहिचानको समस्या भयो । सपना त कवि हुनेछ । लेखक हुनेछ । ठूलो मानिस हुने सपना छ । यो सर्भाइभ हुने समस्याबाट उहाँहरु मानसिकरुपमा गुज्रन थाल्नुभयो । त्यसपछि उहाँहरुले खोज्नुभएको बाटो हो सिर्जनशील अराजकता ।

उहाँहरुले कविता त धेरै लेख्नुभयो । उपेन्द्रजीको कविताको शीर्षकजस्तै उहाँका कविताहरु सबै खोलाका गीत भए । दुई-दुईवटा, तीन-तीनवटा किताव निकालिसक्नुभयो, न चर्चा छ, न कुनै स्पेस छ, कहीँ, कसैले सुनिदिएन ।
मलाई लाग्छ, शीर्जनशील अराजकताको उदय र हाम्रो गोविन्दराज भट्टराईको समालोचकीय उदय पनि सँगसँगै भयोजस्तो लाग्छ मलाई । दुबैको इन्ट्रेस्ट मिल्यो । सिर्जनशील अराजकताको इन्ट्रेस्ट आफूलाई स्थापित गराउने, आफूलाई अगाडि बढाउने थियो भने उहाँलाई समालोचक हुने इन्ट्रेस्ट थियो ।

हाङयुगजी अझ बढी मेहनत गर्ने । उहाँ मारक्सवाद, नियोमार्क्सवादेखि उहाँ दर्शन धेरै चिजहरु अध्ययन गर्ने । साइन्सको त उहाँ विद्यार्थी नै । उहाँहरुले धेरै कुराहरुको अध्ययन गर्नुभएको थियो । मभन्दा उमेरले सात/आठ वर्ष कान्छो भए पनि मलाई उहाँ दाजुजस्तो लाग्थ्यो । त्यतिबेलै उहाँलाई सबाल्टन राइटिङबारे थाहा हुने, मोर्डनिज्मको त पित्री बुझाइदिने । गोविन्दराज भट्टराई र अभि सुवेदीलाई पनि बुझाउने क्षमता उहाँमा थियो ।

राजनजी चिन्तनशील हुनुहुन्थ्यो । राजनजीमा अर्को विलक्षण प्रतिभा के थियो भने किरात सभ्यता र संस्कृति, मुन्धुमजस्ता चिजहरुको साह्रै भित्री तहसम्म पुग्न सक्ने क्षमता उहाँमा थियो ।

उपेन्द्रजीमा ती चिजहरुलाई सिर्जनात्मक बनाउन सक्ने क्षमता थियो । कविता बनाइदिनसक्ने क्षमता थियो ।
यसरी साथीहरुले सिर्जनशील अराजकताको आन्दोलनको प्रारम्भ गरे ।

काठमाडौंमा मण्डले कविताको जगजगी

हामी काठमाडौं आउँदाखेरि, हामीले कवितामा संघर्ष गर्दाखेरि पनि थिए यस्ता ग्रुपहरु त । श्यामप्रसाद, नारायणप्रसाद, विमलप्रसाद भनेजस्ताहरुको एउटा ग्रुप । अर्को के बहादुर, के बहादुर भनेजस्तो ग्रुप हुने रैछ । मैले पछि थाहा पाएँ ।

श्यामप्रसाद, नारायणप्रसाद र विमलप्रसादको ग्रुपमा तपाईलाई मन पर्ने कवि को हो भनेर विमलप्रसादलाई सोध्यो भने श्यामप्रसाद र नारायणप्रसाद भनिदिने । अनि श्यामप्रसाद कहाँ गएर सोध्यो भने विमलप्रसाद र नारायणप्रसाद भनिदिने ।

अर्को पनि त्यस्तै गु्रप हुने, जसले अषेशप्रसाद, विष्णुप्रसादको मात्रै नाम लिने । आफ्नै ग्रुपको मात्रै नाम भन्ने ।
त्यतिबेला समग्र विचार सिद्धान्त बोकेर हिँड्ने एउटा छँदैछ, त्यो त्यत्तिकै बनेको ग्रुपलाई मण्डल भन्छ क्यारे । मण्डले त भन्न भएन । मण्डले कविता लेख्नेहरुको जगजगी थियो । मैले लेखेकै ठीक भन्ने जगजगीमा मेरो जेनेरेशन चाँहि कविता लेख्न आइपुगेछ । हामीचाँहि हरितन्नमहरु ।

श्रवण मुकारूङ
श्रवण मुकारूङ

हाम्रा समयका कवि विप्लव ढकाल, रमेश क्षितिजहरुको पनि ग्रुप त थियो, तर, हामीचाँहि त्यस्ता थिएनौं । मलाई विप्लव ढकालको कविता मन परेन भने मन परेन नै भन्थें म । मेरो कविता मन पराएन भने रमेश क्षितिजले तेरो कविता मन पराइँन नै भन्थ्यो । शुत्रकेा कविता राम्रो लाग्यो भने त्यो नै राम्रो भन्थ्यौं । हामी त्यसरी हुर्केर आयौं ।

साहित्यमा संगठन जरुरी

साहित्यमा संगठनको जरुरी हुन्छ भन्ने कुरा त नेपाली साहित्यमै तेस्रो आयामदेखि सिर्जनशील अराजकतासम्मै आउँदा हामीलाई थाहा भइसक्यो । संगठन राजनीतिमा मात्रै चाहिने होइनरहेछ ।

बुद्धलाई त बुद्धिज्मका लागि संगठन चाहियो । एक्लो मान्छे हो नि बुद्ध त । उनलाई त संगठन चाहियो भने साहित्यमा त चाहिने नै रहेछ ।

त्यसैले संगठित श्रष्टाहरुको आन्दोलन फलोस्, फुलोस् । अझै तेस्रो आयामको आन्दोलन सिद्धिएको छैनजस्तो काँल्दाइहरु गर्नुहुन्छ । आन्दोलन त मलाई लाग्छ, निश्चित उद्देश्यको लागि हुन्छ होला । त्यसलाई भँजाई खान त हुँदैन होला ।सधैंभरि भइरहने आन्दोलन कमजोर आन्दोलन हो । जस्तो, ०६२/०६३ मा झ्याप्पै भयो, १९ दिनपछि सकियो । अब अर्को आन्दोलनतिर जाने हो नि । सिर्जनशील अराजकताको आन्दोलन १५ वर्ष पुगिसकेछ, अब यसलाई कहाँसम्म लानुहुन्छ ? लैजानुहोला ।

हाङयुगजीको कविता संग्रह करङको हिरासत परीक्षणमा पर्नेवाला छ 

कवि समाजसँग जोडिनुपर्छ

हाङयुग अज्ञातका बारेमा बोलिसकें मैले । उहाँका कविताहरु उम्दा कविता छन् । गहिरा कविताहरु छन् । संसारका अनन्त ज्ञानहरुलाई निचोरेर लेखिएका कविताहरु छन् र ती आजको हाम्रो नेपालको जीवनसँग जोडिएका कविताहरु छन् ।

तर, पछिल्लो समयका कविताहरुको विषयमा निै ठूल्ठूलो बहसको सुरुवात भएको छ । समाजसँग कविहरुले प्रत्यक्ष सम्वाद गर्नुपर्‍यो । सम्वाद गर्नैपर्‍यो । तिमीले लेखेको कविता तिम्रो समाजले स्वीकार गर्नैपर्‍यो र अपनत्व समाजले ग्रहण गर्नैपर्‍यो भन्ने विचार आइरहेको समयमा हाङयुगजीको कविता संग्रह (करङको हिरासत) परीक्षणमा पर्नेवाला छ ।
तर, यिनी उच्च कोटीका कवि हुन् भन्नलाई मैले घडी हेरिराख्नु पर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment