News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा भइरहेको सैन्य गतिविधिलाई लिएर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग कडा आक्रोश व्यक्त गरेका छन्।
- ट्रम्पले लेबनानको राजधानी बेरुतमा बमबारी गर्ने इजरायलको योजना तत्काल रोक्न आदेश दिँदै नरोके इजरायल एक्लिने चेतावनी दिएका छन्।
- अमेरिकी दबाबपछि इजरायलले हालका लागि बेरुतमा आक्रमण गर्ने आफ्नो योजना स्थगित गरेको एक इजरायली अधिकारीले पुष्टि गरेका छन्।
१९ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा इजरायलले गरिरहेको सैन्य गतिविधि र आक्रमणको शृङ्खलालाई लिएर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग कडा आक्रोश व्यक्त गरेका छन्।
स्रोतका अनुसार , सोमबार भएको टेलिफोन वार्तामा ट्रम्पले अत्यन्तै आक्रामक र अमर्यादित शब्दहरू प्रयोग गर्दै नेतान्याहुलाई हप्काएका थिए। इरानसँग जारी शान्ति वार्ता बिग्रने खतरा बढेपछि ट्रम्प इजरायली प्रधानमन्त्रीमाथि खनिएका हुन्।
कुराकानीका क्रममा ट्रम्पले नेतान्याहुलाई पागलको सङ्ज्ञा दिँदै उनीप्रति कृतघ्नताको आरोप समेत लगाएका छन्। भ्रष्टाचारको मुद्दामा आफूले सहयोग गरेकै कारण उनी जेल जानबाट जोगिएको दाबी ट्रम्पले फोनमा गरेका थिए।
अमेरिकी अधिकारीका अनुसार ट्रम्पले नेतान्याहूलाई भनेका थिए, ‘तिमी पूर्ण रूपमा पागल भएका छौ, यदि म नभएको भए तिमी अहिले जेलमा हुन्थ्यौ, मैले तिम्रो रक्षा गरिरहेको छु तर अहिले यो कदमका कारण सबैले तिमीलाई र इजरायललाई घृणा गर्न थालेका छन्।’
ट्रम्पले लेबनानको राजधानी बेरुतमा बमबारी गर्ने इजरायलको योजनामा तत्काल रोक लगाउन आदेश दिँदै त्यसो गरेमा इजरायल एक्लिने चेतावनी समेत दिएका छन्।
ट्रम्पले इजरायललाई आफ्नो रक्षा गर्ने अधिकार रहेको स्वीकार गरे पनि पछिल्ला दिनमा नेतान्याहूले चालेका कदमहरू असन्तुलित र अत्यधिक आक्रामक भएको महसुस गरेका छन्।
लेबनानमा ठूलो सङ्ख्यामा सर्वसाधारण मारिएको र हेजबुल्लाहका एक कमान्डरलाई मार्नका लागि पूरै भवनहरू भत्काउने इजरायली शैलीप्रति ट्रम्पले कडा आपत्ति जनाएका छन्।
अमेरिकी दबाबपछि इजरायलले हालका लागि बेरुतमा आक्रमण गर्ने आफ्नो योजना स्थगित गरेको एक इजरायली अधिकारीले पुष्टि गरेका छन्।
यस टेलिफोन वार्तापछि प्रधानमन्त्री नेतान्याहूको कार्यालयले एक विज्ञप्ति जारी गर्दै हेजबुल्लाहले आक्रमण नरोकेसम्म आफूहरूले बेरुतमा आक्रमण गर्न सक्ने र दक्षिणी लेबनानमा सैन्य अपरेसन जारी रहने बताएको छ।
प्रतिक्रिया 4