१६ जेठ, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘केनेडी सेन्टर’ को नियन्त्रण कङ्ग्रेसलाई हस्तान्तरण गर्ने घोषणा गरेका छन् । वासिङ्टनस्थित यस प्रसिद्ध केन्द्रबाट ट्रम्पको नाम हटाउन र जीर्णोद्धारका लागि केन्द्र बन्द गर्ने उनको योजना रोक्न अदालतले आदेश दिएपछि राष्ट्रपतिले यस्तो कदम चालेका हुन् ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिकी वाणिज्य विभागलाई यस संस्थाको सञ्चालन, मर्मतसम्भार र व्यवस्थापनको पूर्ण जिम्मेवारी कङ्ग्रेसलाई सुम्पिन आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको जानकारी दिएका छन् ।
यसअघि न्यायाधीश कुपरले केनेडी सेन्टरको मूल कानुनले यो केन्द्र राष्ट्रपति केनेडीको नाममा रहने स्पष्ट व्यवस्था गरेको उल्लेख गर्दै बोर्डको एकलौटी निर्णयले यसको औपचारिक नाम परिवर्तन गर्न नसक्ने फैसला सुनाएका थिए । कङ्ग्रेसले दिएको यो नाम कङ्ग्रेसले मात्र परिवर्तन गर्न सक्ने फैसलामा उल्लेख छ ।
अदालतको यो आदेशले ट्रम्प प्रशासनको दुई वर्षे जीर्णोद्धार योजना र त्यसका लागि केन्द्र बन्द गर्ने तयारीलाई रोकेको छ । यद्यपि, पुरानो भइसकेको यस भवनमा अति आवश्यक देखिएका मर्मतका कामहरू भने अगाडि बढाउन सकिने न्यायाधीशले स्पष्ट पारेका छन् । अदालतले यो निर्णय केन्द्र कसरी सञ्चालन गर्ने वा यसको निर्माण र बन्द गर्ने विषयमा कुनै नयाँ नियम तय गर्नका लागि नभएको स्पष्ट पारेको छ ।
यता ट्रम्पले ट्रुथ सोसलमा लेख्दै केन्द्र बन्द नगरी आगामी महिनादेखि सुरु हुने ठुलो स्तरको जीर्णोद्धार असम्भव हुने दाबी गरेका छन् । उनले केन्द्र खुला राख्ने अदालतको आदेश खतरनाक हुन सक्ने तर्क समेत गरेका छन् ।
भवनको नाम परिवर्तन गर्ने कार्य कानुनको शासन र संवैधानिक व्यवस्था विपरीत भएको भन्दै बीट्टीले गत डिसेम्बरमा ट्रम्प प्रशासन विरुद्ध मुद्दा दायर गरेकी थिइन् । बीट्टीका वकिलहरू नर्म आइजन र नथानियल जेलिन्स्कीले एक विज्ञप्ति जारी गर्दै अदालतको यो निर्णयलाई ट्रम्प प्रशासनको भ्रष्टाचार विरुद्धको बलियो प्रहार भन्दै स्वागत गरेका छन् ।
न्यायाधीश कुपरका अनुसार केन्द्रको बोर्डले आफ्ना बहुआयामिक जिम्मेवारीहरूलाई विवेकपूर्ण रूपमा मूल्याङ्कन गरेर स्वतन्त्र रूपमा निर्णय गरेमा अझै पनि केनेडी सेन्टर बन्द गर्न सक्ने बाटो भने खुला छ । सन् १९७१ मा स्थापना भएको केनेडी सेन्टर दिवंगत राष्ट्रपति जोन एफ. केनेडीको जीवन्त स्मारकको रूपमा रहँदै आएको छ ।
प्रतिक्रिया 4