+
+
Shares

इरानसँग शान्ति सम्झौता भए इजरायलसँग सम्बन्ध सुधार्न ट्रम्पको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ११ गते १२:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वी देश र पाकिस्तानका नेताहरूसँग कुराकानी गर्दै इजरायलसँगको सम्बन्ध सामान्य बनाउन आग्रह गरेका छन् ।
  • गत २३ मेमा भएको \'कन्फरेन्स कल\' मा इजरायलसँग कूटनीतिक सम्बन्ध नभएका कतार, साउदी अरेबिया र पाकिस्तानका नेताहरू समेत सहभागी थिए ।
  • राष्ट्रपति ट्रम्पले अमेरिका र इरानबीचको द्वन्द्व समाप्त भएमा इजरायलसँग सम्बन्ध नभएका देशले पनि शान्ति सम्झौता गर्ने विश्वास व्यक्त गरे।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वी देशहरू र पाकिस्तानका नेताहरूसँग ’कन्फरेन्स कल’ गरेका छन् । उनले ती देशहरूलाई इजरायलसँगको सम्बन्ध सामान्य बनाउन ‘अब्राहम सम्झौता’ मा सहभागी हुन आग्रह गरेका छन्।

वासिङ्टन र तेहरानबीच जारी युद्ध अन्त्यका लागि शान्ति सम्झौता भएमा यो कदम चाल्न उनले प्रस्ताव गरेका हुन् । दुई अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै न्यूज पोर्टल ‘एक्सिओस’ ले यसबारे समाचार लेखेको छ।

गत शनिबार मे २३ मा भएको यस वार्तामा बहराइन, इजिप्ट, जोर्डन, कतार, संयुक्त अरब इमिरेट्स (यूएई), पाकिस्तान, साउदी अरेबिया र टर्कीका नेताहरू सहभागी थिए।

ट्रम्पले इरानसँगको द्वन्द्व समाप्त भएपछि इजरायलसँग शान्ति सम्झौता नभएका देशहरूले पनि तेल अवीवसँगको सम्बन्ध सुधार्ने आशा व्यक्त गरेका छन्।

इजरायलसँग कूटनीतिक सम्बन्ध नभएका कतार, पाकिस्तान र साउदी अरेबियाका प्रतिनिधिहरू ह्वाइट हाउसका राष्ट्रपतिको यो आकस्मिक प्रस्तावबाट निकै आश्चर्यमा परेका छन्।

वार्ताको त्यो क्षणबारे एक अमेरिकी अधिकारीले रोचक खुलासा गरेका छन्। ती अधिकारीका अनुसार ट्रम्पले प्रस्ताव राखेपछि फोन लाइनमा केही बेर पूर्ण सन्नाटा छाएको थियो। त्यसपछि ट्रम्पले ठट्टा गर्दै  “तपाईँहरू अझै फोनमै हुनुहुन्छ कि जानुभयो?” भनी सोधेका थिए।

अमेरिकी राष्ट्रपतिले आगामी हप्ताहरूमा आफ्ना विशेष दूत स्टिभ विटकफ र उद्यमी जारेड कुश्नरले यस विषयमा ती देशहरूसँग थप छलफल गर्ने जानकारी दिएका छन्।

यसअघि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा एक पोस्ट लेख्दै भविष्यमा इरान आफैँ पनि अब्राहम सम्झौतामा जोडिन सक्ने सङ्केत गरेका थिए। अब्राहम सम्झौता सन् २०२०-२०२१ मा अमेरिकाको मध्यस्थतामा इजरायल र अरब देशहरूबीच भएको ऐतिहासिक सहमति हो।

यस अन्तर्गत सन् २०२० मा बहराइन, मोरक्को र यूएईले इजरायलसँगको सम्बन्ध सामान्य बनाएका थिए। सन् २०२१ मा सुडानले पनि इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने घोषणा गरेको थियो। यी सम्झौताहरू हुनुअघि अरब राष्ट्रहरूमध्ये केवल इजिप्ट र जोर्डनको मात्र इजरायलसँग कूटनीतिक सम्बन्ध रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?