+
+
Shares

बालेनको च्यानलमा देखिएको ‘ज्ञानेन्द्र खोज्ने’ गीतको  वास्तविकता के हो ?

यो गीत धर्मराज थापाले गाएको ‘शिरमाथि नेपाली आमालाई…’ गीतको लय र शब्दसँग मिल्दोजुल्दो सुनिन्छ । उक्त गीतमा महेन्द्र भनिएको ठाउँमा यसमा भने ज्ञानेन्द्रको नाम लिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ११ गते १२:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको आधिकारिक युट्युब च्यानलमा राजतन्त्र पक्षधर एआईद्वारा निर्मित गीत जोडिएपछि सामाजिक सञ्जालमा बहस शुरू भएको छ ।
  • प्राविधिक विज्ञहरूका अनुसार 'डिस्ट्रोकिड' जस्ता डिजिटल वितरकको लुपहोल प्रयोग गरी कसैले बालेनको नाममा उक्त गीत युट्युबमा लिङ्क गराएको हो ।
  • यसअघि स्थापित गायकहरू सुशान्त केसी र समिर श्रेष्ठको आधिकारिक युट्युब प्रोफाइलमा पनि प्राविधिक त्रुटिका कारण अन्य गीतहरू लिङ्क भएका थिए ।

१० जेठ, काठमाडौं ।

शिरमाथि नेपाल आमालाई

काँधमाथि ज्ञानेन्द्र राजालाई’

यी गीतका शब्दहरु युट्यूबमा केही दिनयता चर्चामा छ । प्रधानमन्त्री बालेन शाहको आधिकारिक युट्यूब च्यानलको नाममा देखिने यो गीतमा उनकै च्यानलमा आउनेजस्तो उल्लेख्य भ्यूज भने छैन । तीन महिनाअघि (२० फेब्रुअरी, २०२६) अपलोड भएको गीतमा यो रिपोर्ट तयार गरुन्जेलसम्म जम्मा २४ हजार भ्यूज छ । १९ सय लाइक र ४ सय बढी कमेन्ट छन् ।

जबकि बालेन शाहको युट्यूब च्यानलमा यसअघि उल्लेख्य भ्यूज आएको देखिन्थ्यो । तर, अहिले सामाजिक सञ्जालमा चर्चामा रहेको यो गीतमा त्यति भ्यूज छैन । यसलाई लिएर कतिपयले अनुमान गर्दै लेखिरहेका छन्, ‘तीन महिनाअघि अपलोड गरेर प्राइभेटमा राखिएको गीत अहिले पब्लिक गरियो । त्यसैले भर्खर रिच आउन सुरु हुँदैछ ।’

उक्त भिडियोको तल बीस्ट इन नेपाल नामका प्रयोगकर्ताले लेखेका छन्, ‘फेसबुकमा हेरेर आउने को–को हुनुहुन्छ ?’

त्यस्तै, लभनेपाल–२९ नामक प्रयोगकर्ताले यो गीतलाई ट्रेन्डिङमा ल्याएर राजतन्त्र पक्षधरले गणतन्त्र फाल्नुपर्ने तर्क राखेका छन् । ‘धन्यवाद सबै राजावादीहरुलाई जोजोले फेसबुकबाट थाहा पाएर आउनुभएकोलाई । अब सबैले राजावादी मिलेर यो गीतलाई ट्रेन्डिङमा लगेर गणतन्त्रको गाँडमा आगो लगाउनुपर्छ ।’

कमेन्टबक्समा प्रतिक्रिया बढ्दो देखिन्छन् । कतिले त बालेनसँग यो गीतको मर्मअनुसार काम गर्न पनि अनुरोध राखेका छन् । अधिकांशले यो गीत बालेन स्वयंले आफ्नो च्यानलमा राखेको भन्दै खुसी व्यक्त गरिरहेका छन् भने कतिपयले व्यवस्था विरोधी बालेनको छवि अब स्पष्ट भएको भन्दै आलोचना पनि गरिरहेका छन् ।

यो भिडियोको थम्बनेलमा भने ‘शिरमाथि नेपाल आमा’ लेखिएको छ, जुन गीतको शीर्षक नै हो । थम्बनेलमा स्वयम्बु, गौतमबुद्ध, हिमाल र त्यसको सुरक्षार्थ खेटिएको देखाउन हतियारधारी सेना प्रयोग गरिएको छ । सँगसँगै हात जोडिरहेकी प्राथनारत् एक वृद्धा पनि अगाडि देखिन्छिन् ।

तर, यो गीत बालेनको अधिकारिक युट्यूब च्यालनभित्र गएर हेर्दा भने कतै देखिँदैन । सामाजिक सञ्जालमा सेयर भइरहेका लिङ्कमा गएर थिच्दा उनकै आधिकारिक च्यानलको नाममा देखिएपनि च्यानलभित्र पोस्ट देखिँदैन । यो गीतको थम्बनेल र आवाज सबै एआईको माध्यमबाट निर्मित स्पष्ट झल्कन्छ ।

यसरी सेयर भइरहेको यो भिडियोको डिस्क्रिप्सनमाथि लेखिएको छ, ‘प्रोभाइडेड टु युट्यूब बाइ डिस्ट्रोकिड ।’ अर्थात, यो भिडियो डिस्ट्रोकिडमार्फत यस च्यानलमा उपलब्ध गराइएको हो ।

यो गीत धर्मराज थापाले गाएको ‘शिरमाथि नेपाली आमालाई…’ गीतको लय र शब्दसँग मिल्दोजुल्दो सुनिन्छ । उक्त गीतमा महेन्द्र भनिएको ठाउँमा यसमा भने ज्ञानेन्द्रको नाम लिएको छ ।

धेरै नेपाली कलाकारहरूको युट्युब प्रोफाइल सम्हाल्दै आएका एक विज्ञका अनुसार, यो कुनै भिडियो नभएर केवल अडियो मात्र बज्ने ट्याक हो ।

अन्तर्राष्ट्रिय बजारमा ‘डिस्ट्रोकिड’ जस्ता एजेन्सीहरू छन्, जसको काम कलाकारको गीतलाई युट्युब म्युजिक, एप्पल म्युजिक वा स्पोटिफाइमा पुर्‍याउने हो । यस्ता एजेन्सीमा जोसुकैले पनि फेसबुक खोले जस्तै सजिलै अकाउन्ट बनाउन सक्छन् ।

उनी भन्छन्, ‘कसैले एआईबाट बनेको वा अरूकै कुनै देशभक्ति गीतलाई यो एजेन्ट मार्फत युट्युबमा पठायो र चलाखीपूर्वक कृयटर्सको ठाउँमा ‘बालेन’ को नाम र प्रोफाइल लिङ्क गरिदियो होला, क्लिकबेटको लागि । यो समस्या हामीले पनि झेल्दै आएका छौँ ।’

जस्तो, केही समयअघि स्थापित गायकहरू सुशान्त केसी, समिर श्रेष्ठ र स्वप्न सुमनको आधिकारिक युट्युब प्रोफाइलमा पनि यसै गरी कसैले जानाजानी वा प्राविधिक गल्तीका कारण लोकदोहोरी गीतहरू लिंक गरिदिएको उदाहरण रहेको उनले बताए । यसपटक बालेनको हकमा पनि त्यस्तै हुनसक्ने आकलन उनको छ ।

के हो डिस्ट्रोकिड ?

हामीले फेसबुक वा टिकटकमा सिधै भिडियो हाले जस्तो, कुनै पनि गायकले आफ्नो गीत सिधै युट्युब म्युजिक, स्पोटिफाइ वा एप्पल म्युजिक जस्ता ठूला एपहरूमा आफैं अपलोड गर्न मिल्दैन । त्यसका लागि बीचमा एउटा माध्यम चाहिन्छ, जसलाई प्राविधिक भाषामा ‘डिजिटल डिष्ट्रीब्युटर’ भनिन्छ । डिस्ट्रोकिड संसारभरि चल्ने त्यस्तै एउटा एजेन्सी हो ।

कलाकारहरूले डिस्ट्रोकिडमा आफ्नो अकाउन्ट खोल्छन् । वार्षिक केही शुल्क तिर्छन् र आफ्नो गीत र कभर फोटो त्यहाँ अपलोड गर्छन् । त्यसपछि डिस्ट्रोकिडले उक्त गीतलाई म्युजिक एपहरूमा एकैसाथ पठाइदिन्छ र त्यहाँबाट हुने कमाइ कलाकारलाई दिन्छ ।

डिस्ट्रोकिडमा जोसुकैले पनि फेसबुकमा नयाँ एकाउन्ट खोले जस्तै सजिलै खाता खोल्न सक्छन् । यसले यो गीत आधिकारिक क्रियएटर्ससँग सम्बन्धित छ वा छैन भन्ने कुराको परवाह राख्दैन । आधिकारिता जाँच्दैन ।

यही लुपहोलको फाइदा उठाएर कुनै क्रिययटरले पनि डिस्ट्रोकिडमा अकाउन्ट खोलेर र अरूकै गीत अपलोड गरेर गायकको ठाउँमा ‘बालेन’ लेखेर पठाइदिनसक्छ ।

डिस्ट्रोकिडले बिनाजाँच त्यो गीत युट्युब म्युजिकमा फरवार्ड गरिदियो र युट्युबको सिस्टमले पनि नाम मिल्ने बित्तिकै त्यसलाई बालेनकै प्रोफाइलसँग भित्रभित्रै लिङ्क गरिदियो भने यसरी देखाउने सम्भावना रहन्छ ।

यसरी डिस्ट्रोकिडमार्फत बालेनको युट्यूब च्यानलसँग एसोसियट भएको हुनसक्ने सम्भावना जानकारहरु बताउँछन् । यद्यपि, यसरी बालेनको युट्यूब च्यानलमा लिङ्क भएको यो पहिलो गीत भने होइन । केही दिनयता अर्को गीत ‘ह्याप्पी होली, बाइबाइ ओली’ पनि चर्चामा छ । यो गीतमा पनि उसैगरी प्रतिक्रियाहरु आइरहेका देखिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?