+
+
Shares

बुटवलको सुनचाँदी पसलमा चोरी

साढे २ करोड बढी गरगहना चोरी भएको दाबी

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते १२:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुटवलको अमरपथस्थित तिनाउ सुनचाँदी पसलबाट आइतबार राति करिब ८० तोला सुनका गहना चोरी भएको छ ।
  • पसलको सीसीटीभी क्यामेरा बिग्रेको र सञ्चालक पोखरा गएको समयमा चोरी भएकाले घटना शंकास्पद देखिएको प्रहरीले जनाएको छ ।
  • चोरले ५० वटा फरक–फरक चाबी प्रयोग गरी पसलको लकर खोलेर सुन चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

१९ जेठ, बुटवल । बुटवलको मुख्य व्यापारिक केन्द्र अमरपथको तिनाउ सुनचाँदी पसलमा चोरी भएको छ ।

पसलबाट करिब ८० तोला बराबरको सुनका गहना र सुन चोरी भएका पसलका सञ्चालक दीपक सेन्चुरीले प्रहरीलाई बताएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

८० तोला सुनको अहिलेको बजार मूल्य करिब साढे २ करोड रुपैयाँ हुन्छ ।

रातको समयमा पसलको च्यानल गेटको ताला खोलेर चोरभित्र पसेको पाइएको छ । ५० वटा फरक फरक चाबी प्रयोग गरी लकर खोलेर सुनका गरगहना चोरी गरेको पाइएको डीएसपी निशान्त श्रीवास्तवले बताए ।

पसल सञ्चालक दीपक सेन्चरी पोखरा गएको तथा पसलको सीसीटीभी क्यामेरा बिग्रेको समयमा चोरी भएकाले घटना शंकास्पद देखिएको डीएसपी श्रीवास्तवले बताए ।

चोरीको घटना आइतबार राति भए पनि दीपक पोखराबाट सोमबार साँझ अबेर बुटवल फर्केर प्रहरीलाई चोरीबारे जानकारी गराएका थिए ।

बुटवल ४ अमर पथमा भाडाको सटरमा करिब ४० वर्षदेखि सञ्चालनमा रहेको तिनाउ सुनचाँदी पसल इलाका प्रहरी कार्यालय बुटवल र अमरपथ प्रहरी बीटको नजिकै पर्छ ।

पसलमा एकजना आफन्त र एकजना कामदार गरी दुई जना कर्मचारी थिए ।

प्रारम्भिक अनुसन्धानमा पसलको सीसीटीभी क्यामेरा बिग्रेको जानकारी भएको व्यक्तिको घटनामा संलग्नता हुन सक्ने अनुमान छ ।

प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरेर सकेसम्म छिटो भन्दा छिटो चोर पत्ता लगाउने डीएसपी श्रीवास्तवले बताए ।

प्रमुख व्यापारिक केन्द्रमा चोरी भएपछि सुनचाँदी व्यवसायीहरू त्रसित बनेको सुनचाँदी व्यवसायी संघ बुटवलका अध्यक्ष गकुल विश्वकर्माले बताए ।

प्रहरी प्रशासनले यो घटनामा संलग्नलाई छिटो भन्दा छिटो पक्राउ गरी कारबाही गर्नुपर्ने संघको माग रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?