+
+
Shares

गाईवस्तु निर्घात कुट्न लगाउन मेयरलाई सर्वोच्व अदालतको यस्तो निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते १७:१६

१९ जेठ, काठमाडौं । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले बुटवल उपमहानगरपालिकालाई सडकमा रहेका गाईगोरुलाई गैरकानुनी तथा निर्ममतापूर्ण ढंगले कुटपिट नगर्न निर्देशन दिएको छ ।

निर्देशनालयले २०८३ असार १८ गते उपमहानगरपालिकालाई पत्र पठाएर यस्तो निर्देशन दिएको हो । पत्रमा नगर प्रमुखको निर्देशनमा नगर कर्मचारी र नगर प्रहरीले सडकका गाईगोरुलाई कुटपिट गरेको घटना सर्वोच्च अदालतको २०७६ वैशाख ८ गतेको परमादेशविपरीत रहेको उल्लेख छ ।

स्नेहा केयरकी अध्यक्ष स्नेहा श्रेष्ठले केही दिनअघि बुटवलमा भएको घटनाबारे उजुरी दर्ता गराउँदै निर्देशनालयमा निवेदन दिएकी थिइन् । निवेदनमा नगर प्रमुखको सक्रियतामा जानीजानी गाईगोरुमाथि कुटपिट गरिएको आरोप लगाइएको छ।

सर्वोच्च अदालतले २०७६ वैशाख ८ गते दिएको परमादेशमा गाईलाई राष्ट्रिय जनावरका रूपमा संरक्षण गर्नुपर्ने, बेवारिसे गाईगोरुको उचित व्यवस्थापन गर्नुपर्ने तथा कुटपिट वा हत्या जस्ता कार्यमा संलग्न पदाधिकारी र कर्मचारीमाथि कानुनी कारबाही गर्नुपर्ने व्यवस्था गरेको छ । 

अदालतको फैसलामा गाईगोरुको हत्या, अकाल मृत्यु वा संरक्षणको जिम्मेवारीमा रहेका व्यक्तिको नियत, हेलचेक्र्याइँ, लापरबाही वा उपेक्षाका कारण क्षति पुगे कानुनबमोजिम कारबाही हुन सक्ने उल्लेख छ ।

सोही आदेश कार्यान्वयनका लागि निर्देशनालयले बुटवल उपमहानगरपालिकालाई यस्ता गतिविधि तत्काल रोक्न र अदालतको आदेश पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो । पत्रको बोधार्थ नगर प्रहरीलाई समेत पठाइएको छ ।

नेपालको संविधानले गाईलाई राष्ट्रिय जनावरको मान्यता दिएको छ । सर्वोच्च अदालतले स्थानीय तहलाई पशु व्यवस्थापन, संरक्षण केन्द्र स्थापना, पशु बीमा तथा वैज्ञानिक गोचर व्यवस्थापनका उपाय अवलम्बन गर्नसमेत निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?