Comments Add Comment

अञ्जु दिदी ! तिम्रो धर्मले केे सिकाउँछ ?

दयानिधि गौतम

अञ्जु दिदी !

तिमीसँग कहीँ कतै भेट्ने अवसर मिल्यो भने तिमीलाई हेर्दै मोदीले जापानलाई किन गीताको पुस्तक उपहार दिए होलान् ? भन्ने प्रश्नको उत्तर खोज्ने थिएँ मैले । दोस्रो ऐतिहासिक जनआन्दोलनपछि सबै महत्वपूर्ण काम कारवाहीलाई पन्छाउदै संसदले किन धर्मको घाउ कोट्याए होला ? यो प्रश्न पनि लगत्तै आउँथ्यो होला मेरो मनमा ।

DAYANIDHIमोदीले आफूलाई हिन्दू र गीता केवल हिन्दूहरुको मात्र ग्रन्थ हो भन्ने भावना राख्छन् भन्दैमा मैले पनि मेरी प्रेमिकाको सुन्दरतालाई मेरो आफ्नै सुन्दरता ठानूँ ? गीताको उच्च चेतनाबाट अभिप्रेरित हुँदै अरुले पनि त्यसको अनुसरण गरुन् भन्ने उनको भावना हो भनेे त्यो सह्रानीय मान्न सकिन्छ । किनकि सुन्दरताको प्रभाव कहिल्यै घट्दैन र यसले अन्य कुराको अपेक्षा पनि राख्दैन ।

मलाई त के लाग्छ भने हरेकको सुन्दरता उसको व्यक्तिगत हुन्छ । त्यस्तै धर्म पनि व्यक्तिगत हुन्छ । तिम्रोे सुरिलो आवाजलाई मैले आˆनो भनेर कसरी दाबी गर्न सकुँला ? गीता, वाइबल, कुरान वा अन्य ग्रन्थहरु रचनाकारका मात्र निजी हुन् । यो त लेख्नेवालाको बौद्धिक सुन्दरता हो । तिनलाई कुनै निश्चित धर्मले मात्र दाबी गर्न मिल्दैन । धर्मलाई राजनीतिको हतियार बनाउने अचम्मको चलन चलेको छ आजकल ।

मलाई अचम्म लाग्छ, पाकिस्तानी क्रिकेटरले तिलकरत्नेलाई किन मुस्लिम बन सिधै स्वर्ग जान्छौ भने होलान् ? तिमी के गछ्र्यौ अञ्जु दिदी ? सिधै स्वर्ग जाने सपनामा फेरि धर्म परिवर्तन गर्छ्यौ ?

तिम्रा सबै गीत मैले सुनेको छैन । गाडीमा हिँड्दा, अचानक रेडियो खोल्दा, साथीसँग बस्दा जे जति कानमा परेका छन्, ती सबै राम्रा लागेका छन् । भर्सटाइल भन्न नमिले पनि तिम्रो स्वरमा जादू छ । मीठा गीत गाएर स्रोताको मनमा राज गर्ने कलाकारको गायन नै मुख्य धर्म होइन भने म तिमीलाई गायिका कसरी भनौँ ?

हो, कुनै गीत गाउने वा नगाउने निर्णय कलाकारले गर्न पाउनुपर्छ । उसको व्यक्तिगत रुची वा चाहनालाई कसैले पनि जबर्जस्ती गर्छ भने त्यो अमानवीयताको पराकाष्ठा हुन जान्छ । तर, तिमीलाई धर्मले दशैँको गीत गाउन दिएन ? यो कस्तो धर्म हो ? के इच्छा भएर पनि धर्मले गाउन नदिएकै हो ? वा गाएवापत पारिश्रमिक थोरै पाउने देखेर गाउन मन नलागेको हो ?

तिमीलाई थाहा नै छ, लगभग सबै नेपालीले दशैँ मान्छन् । धर्मले जीवनका कुरा गर्छ । तर, दशैँ जस्ता पर्व संस्कार र सँस्कृतिका परिचायक हुन् । दशैँ मान्नु धार्मिक बन्नुभन्दा पनि सामाजिक सहभागितामा आधारित संस्कृतिको अभ्यास गर्नु हो । गूढ अर्थमा शक्तिको आराधना गर्नु हो । विज्ञानको शरणमा जानु हो । खैर, यस्ता कुराले तिमीलाई बालै नहोला । तर, यसमा कति विज्ञान लुकेको छ भन्ने कुरा लुकाएर लुक्दैन ।

दुर्गाको नाम राखेको भजन गाउन इन्कार गर्नु भनेको कमसेकम नारी स्वतन्त्रताको खिल्ली उडाउनु मात्र होइन, पुरुषप्रतिको अघोषित आशक्ति हो । मेरो मनोविज्ञान फेल खाएन भने तिम्रा देवता पक्कै पुरुष नै हुनुपर्छ । चण्डी, दुर्गा र कालीजस्ता नारीहरुले महिषासुर, शुम्भ र निशुम्भ जस्ता निरङ्कुश शासकको सातो हरेका छन् । तर अञ्जु पन्तजस्ता अवसरवादी गायिकाले स्वतन्त्ररुपमा संस्कृतिको अभ्यास गर्नेहरुको मनमा चोट पुर्‍याएका छन् । भन त तिमी गुफामा बस्छ्यौ ?

गीत गाउनु तिम्रो रोजाइ हो । स्वर राम्रो हुनु कसैको प्रकृति हुन सक्छ । धर्मले दशैँको गीत गाउन दिँदैन भन्नुको अर्थ तिमी पनि हामीजस्तै संकुचित धारणाकी केटी हौ भन्ने कुराको प्रमाण मिल्छ । न्यूनतम मानवीय भावना पनि हामीमा छैन भने तथाकथित धर्मले हाम्रो केही लछारपाटो लगाउँदैन ।

बुद्धको भूमिमा आग्रही विचारका पतिङ्गरहरु पलाउन नदिई चेतनात्मक एकरसता वा समताको बोध गर्नु नै धर्मको वास्तविक अर्थ हो । बुद्धले यही भन्छन् । जहाँसम्म सँस्कारका कुरा छन्, ती त परिवर्तनीय हुन्छन् नै । तर धर्म परिवर्तन गर्छु या गरेँ भन्नुको अर्थ एकपटक ढुङ्गामा ठोकिएको टाउकोलाई फेरि उठाएर अर्काे ढुङ्गामा मज्जाले बजार्नु समान हो । गुमेको सन्तुलनलाई औपचारिकता दिनु हो ।

अञ्जु ! आम मानिस र तिमीमा भएको फरक पनि यही हो कि तिमी दुईपटक बजारिएकी छौ । घायल, कायल छौ । पहिला तिमी तथाकथित हिन्दू थियौ । त्यतिबेला तिमीलाई अरु धर्म मन पर्दैनथ्यो होला । विचरा, तिमी विभेदको पत्थर बोकेर बाँच्यौ । अहिले यौटा धर्म मान्छ्यौ र अरु धर्म मान्दिनौ । तिम्रो दुःख छुटेन । तिमीले भेदभावको भारी कतिञ्जेल बोक्छ्यौ ? यसै पनि तिम्रो कस्तो धर्म हो ? जसले विभेद सिकाउँछ ? कलाकारको जात, धर्म छुट्याउँछ ?

मोहम्मद रफीका बारेमा नसुन्ने को होला, जसले मुसलमान भएर पनि हिन्दूका भजन गाए ! भारतीय चर्चित खान अभिनेताहरुले धर्मकै कारण अभिनय रोकेका छैनन् । के तिम्रा भगवान्ले यस्तै विभेद गर्न सिकाउँछन् ? धर्मसम्बन्धी हक व्यक्तिको मौलिक हक हो, यसमा शंका छैन । आफूले मन पराएको धर्मको अभ्यास गर्न पाउनु अधिकारको कुरा नै हुने भयो । तर, त्यस्तो धर्मको अभ्यास गर्दा अरुलाई असर परेको छ कि छैन भनेर सोच्नु पनि पर्ने हो ।

धर्म बचाउनुपर्छ भन्दै चिल्लाउने हरु त मुर्ख नै हुन्, तर धर्म परिवर्तन गराउन पैसाको खोलो बगाउनेहरु शैतान हुन् । महामूर्ख हुन् । भन त अञ्जु दिदी Û तिम्रो धर्मले के सिकाउँछ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment