Comments Add Comment

शंखधर साख्वा कान्तिपुरका ब्यापारी थिए

Sankhadhar_statue७ कात्तिक, काठमाडौ । नेपालका राष्ट्रिय विभूति तथा नेपाल संवतका प्रवर्तक शंखधर साख्वाको चर्चा प्रायः नेपाल सम्वतको दिन हुने गर्छ । उनी काठमाडौका एउटा ब्यापारी हुन् । उनी एउटा ब्यापारी भए पनि समाजसेवी थिए ।

तत्कालिन अवस्थाको कान्तिपुर इलाकामा बस्ने साख्वाले गरीव नेपालीलाई ऋणमुक्त गराएको दावी इतिहासविद्हरुको छ । साख्वास्को घर काठमाडौको मरुसत्तलको इलाकामा थियो भन्ने लोकोत्ती रहेको पाइन्छ । उनैले बनाएको चैत्य कंकेश्वरीमा रहेको बताइन्छ ।

राघवदेवको पालामा साख्वाःले नेपालीहरुको ऋण मोचन गरिदिएको खुशीयालीमा वि.सं. ९३६ मा नेपाल संवत प्रचलनमा ल्याइएको एकथरि इतिहासकारहरुको भनाई छ ।

वि.सं. ९३६ मा कान्तिपुर र भादगाउँका जनताको ऋण तिरेर नेपाल सम्बतको थालनी गरेको दावी गरिन्छ । तत्कालीन समयमा शुद्र जातिलाई पशुपतिनाथको मन्दिर प्रवेशमा बन्देज लगाइएको थियो । कान्तिपुरका राजा राघवदेवले शंखधरको योगदानलाई कदर गरी शुद्र जातिलाई पशुपतिमा प्रवेश दिएका थिए ।

केशर पुस्तकालयमा रहेको गोपालराज वंशावलीमा उपलब्ध जानकारीअनुसार ईश्वी सम्वत ८७९ अक्टोेबर २० देखि नेपाल सम्वत सुरु भएको हो । गोपालराज वंशावलीमा संक्षिप्तरूपमा ‘श्री राघवदेव वर्ष ६३ मास ६ श्री पशुपति भट्टारके सम्वत सर प्रवृतिकृता’ उल्लेख गरिएको छ । त्यसबाट राजा राघवदेवको समयमा नयाँ सम्वत सुरु भएको मानिएको छ ।

साख्वाले प्रचलनमा ल्याएको नेपाल सम्बत वि.सं.१९६० सम्म पनि नेपालको सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गरिएको थियो । तर तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले नेपाल सम्बतको सट्टामा बिक्रम सम्बतलाई प्रचलनमा ल्याए । सोही प्रचलन नै अहिलेसम्म कायम छ ।

किंवदन्ती अनुसार ज्योतिषहरूले शुभ साइतमा भद्रमती र बिष्णुुमतीको दोभान लखुतीर्थ नाम गरेको नदीबाट बालुवा झिकेर ल्याए त्यो वालुवा सुनमा परिणात हुन्छ भनेर भादगाउँका राजा आनन्ददेवलाई भनेका थिए । सोही बमोजिम राजा आनन्ददेवले शुभ साइतमा बालुवा झिक्न भरियाहरूलाई पठाएका थिए । तर शुभसाइतमा भरियाहरुले ल्याएको बालुवा उनै ब्यापारी साख्वाले भरियाहरुलाई फकाई उनीहरुलाई केही पैसा दिएर आफ्नो घरमा खन्याउन लगाएर राजाका लागि पुनः बालुवा ल्याउँन लगाए ।

नदीबाट निकालिएको बालुवा भोलिपल्ट हेर्दा सुनमा परिणात भएको र त्यही सुनबाट शङ्खधर साख्वाले नेपाली जनताको ऋण चुक्ता गरेको विश्वास गरिन्छ । ज्योतिषहरूको भविष्यवाणी अनुसार चारदिनपछि सो बालुवा सुनमा परिणत भएको र शंखधरले त्यो सुनबाट लोकको कल्याण गर्न भन्दै कान्तिपुर र भादगाउँका जनताको ऋणमोचन गरिदिएको विश्वास गरिएको छ र त्यसपछि राजाको अनुमति लिएर शंखधरले नेपाल सम्बत १ पनि सुरु गर्न सफल भएको इतिहासविद्हरु बताउँछन् ।

यद्यपी जनताको ऋण कोसँग थियो र साख्वाले कसलाई कति ऋण तिरेका थिए भन्ने कुरा भने गौण छ । पशुपति मन्दिरभित्र रहेको शङ्खधरको शिलामूर्तिलाई मध्यपुर थिमिको युवा संस्था ल्याम्हः पुचःको सक्रियतामा तत्कालीन संचार मन्त्रालयअन्तर्गतका कलाकार वत्सगोपाल वैद्यको सहयोगमा शङ्खधरको प्रतिमूर्तिको प्रारुप तयार पारिएको बताइन्छ । उक्त प्रारुप नै साख्वाःको पहिलो तस्विर भएको र ल्यायम्ह पुचःले सोही तस्विर राखेर नेपाल संवत ११०८ मा पात्रो प्रकाशन गरेको थियो ।

चन्द्रसमशेरले हटाएको नेपाल सम्बतलाई नै कायम राख्नुपर्ने माग राखिदै आएको छ । मन्त्रीपरिषदको निर्र्णय अनुसार २०५६ मंसिर २ गते देखि शंखधर साख्वाःलाई नेपालको राष्ट्रिय विभूतिका रूपमा घोषणा गरिएको छ भने एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०६५ कात्तिक सात गते आजकै दिनदेखि नेपाल संवतलाई राष्ट्रिय संवत घोषणा गरेको थियो । तर राष्ट्रिय संवत घोषणा गरिएको ६ वर्षसम्म पनि ब्यवहारमा भने आउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment