Comments Add Comment

फेसबुकमा काम पाइएन भन्ने प्रवृत्ति अन्त्य गर्छु: महेश बस्नेत

mahesh-basnet१४ कात्तिक, काठमाडौं । उद्योग मन्त्री महेश बस्नेतले ५० हजार नेपाली युवाहरुलाई रोजगारी दिने आफ्नो योजना रहेको बताएका छन् । त्यसका लागि उनीसँग तीनवटा सूत्र छन् । प्रत्येक निर्वाचन क्षेत्रका दुई सय युवालाई तालिम दिने । तालिमप्राप्त युवालाई प्रत्येक शनिवार ५ सय रुपैयाँ दिएर सार्वजानिक काममा लगाउने । त्यसका साथै एक निर्वाचन क्षेत्रमा एक हस्तकला ग्राम र एक जिल्लामा एक औद्योगिक क्षेत्र स्थापना गर्ने बस्नेतले बताए ।

‘यी तीनवटा काम गर्ने मेरो योजना छ, यो योजना सफल भए ५० हजार युवाले रोजगारी पाउँछन्’, मन्त्री निवासमा भेला भएका पत्रकारसँग बस्नेतले आफ्नो योजना सुनाए । आफू युवा संघको राजनीति गरेर आएको हुनाले युवाहरुको समस्याका बारेमा जानकार रहेको दाबी गर्दै मन्त्री बस्नेतले युवालाई स्वदेशमै रोजगारीको अवसर प्रदान गर्न आफू दिलोज्यान दिएर लाग्ने बताए ।

प्रत्येक निर्वाचन क्षेत्रबाट एक संयन्त्र बनाई दुई सय युवा छनोट गरेर ३ महिने तालिम दिने उनले बताए । विषेशगरी एसएलसीमा कमजोर अंक ल्याएका र फेल भएकालाई यस्तो तालिम दिइने बस्नेतको भनाइ छ । ‘युवाहरुलाई कोदालो, कुटो, हँसिया, हथौडा तथा अन्य घरेलु कृषिऔजार, हतियार चलाउने तालिम दिनुपर्छ’ उनले भने -परम्परागत पेसा व्यवसायमा सीपयुक्त जनशक्तिको खाँचो छ, यस्तो सीप भएको जनशक्ति प्रतिस्पर्धी बजारमा बिक्छ ।’

एक जनालाई तालिम दिनका लागि २५ हजार रुपैयाँ लाग्ने र देशै भरका युवालाई तालिम दिँदा सवा एक अर्ब रुपैयाँ खर्च हुने उनले सुनाए ।

‘सवा एक अर्ब रुपैयाँ खर्च गर्दा हजारौं युवाले रोजगारी पाउँछन् भने किन नदिने ?’ मन्त्री बस्नेतले भने ।

फेसबुक चलाएर काम पाइएन भन्ने प्रवृत्ति अन्त्य गर्ने
अहिले नेपालमा बाबुआमाले कामदार पाइएन भन्दै खेतबारी बाँझै राख्ने गरेको र छोराछोरी भने काम पाइएन भन्दै फेसबुक चलाएर बस्ने प्रवृत्ति मौलाउँदै गएको उनले बताए । ‘म यस्तो प्रवृत्तिको अन्त्य गर्न चाहन्छु’ बस्नेतले भने ।

MAHESH-BASNET-&-PARSHURAM
महेश बस्नेतसँग परशुराम (रातो हाफ सर्टमा)

बेरोजगार भत्ताको प्रस्ताव
बेरोजगार युवालाई बेरोजगारी भत्ता स्वरुप मासिक दुई हजार रुपैयाँ दिनुपर्ने आफ्नो प्रस्ताव रहेको मन्त्री बस्नेतले सुनाए । ‘बेरोजगारलाई प्रत्येक शनिवार सार्वजानिक काममा लगाउने र दैनिक पाँच सयका दरले ज्याला दिने हो भने विकास निर्माणका कामले पनि गति पाउँछन्, उनीहरुमा पनि काम गर्ने बानीको विकास पनि हुन्छ’ बस्नेतले भने ।

पर्शुरामसँग कुम जोडेर जुटमिलको भ्रमण
यसैबीच  कम्पनी रजिष्ट्रार कार्यालयको पूर्वाञ्चल शाखा उदघाटन गर्न विहीबार बिराटनगर पुगेका उद्योगमन्त्री बस्नेतले सम्पत्ति शुद्धीकरणको मुद्दा लागेका पर्शुराम बस्नेतसँगै कुम जोडेर जुटमिलको भ्रमण गरे ।

Parshuram-photo-khichdaiबेकामे मन्त्रालय
उद्योग मन्त्री बस्नेतले आफैंले नेतृत्व गरेको मन्त्रालयलाई पैसा नभएको बेकामे मन्त्रालयको संज्ञासमेत दिएका छन् । ‘उद्योग मन्त्रालय भनेको निरीह मन्त्रालय हो, बिराटनगर पुगेर मन्त्री बस्नेतले भने, ‘उद्योग मन्त्रालय स्रोध साधन, अधिकार र बजेटविनाको निरीह मन्त्रालय हो ।’

उद्योग मन्त्रालयसँग आवश्य खर्चका लागि अहिले १ लाख रुपैयाँ झिक्न नसक्ने अवस्थामा रहेको मन्त्री बस्नेतको गुनासो छ । उनले कम्पनी रजिष्ट्रारको कार्यालय विस्तार गर्न पनि निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने अवस्था रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment