Comments Add Comment

सञ्चयकोष र ठेकेदारको विवादले काठमाण्डौं मलका ब्यापारीको बिचल्ली

kathmandu mall५ मंसिर काठमाडौं । सञ्चय कोष र काठमाडौं मलका ठेकेदारवीचको लेनदेन विवादले त्यहाँका करिव तीन सय पसल सञ्चालक मारमा परेका छन् ।

मलका मुख्य ठेकेदार प्रविर समशेर राणाले सम्झौता बमोजिम भाडा नतिरेको भन्दै कोषले ०६२ भदौ १ गते भएको सम्झौता भंग गरी यही मंसिर १० गतेसम्म मल खाली गर्न अल्टिमेटम दिएकाे छ । काेषकाे अल्टिमेेटमपछि त्यहाँ लगानी भएको करिव ४ अर्ब रुपैयाँ बराबरको सम्पत्तिको सुरक्षा व्यापारीहरूकाे मुख्य चिन्ता बनेको छ ।

मल खाली गर्न कर्मचारी सञ्चय कोषले दिएको ३० दिने अल्टिमेटम समाप्त हुन अब ५ दिन मात्रै बाँकी छ । सम्झौतामा एक वर्षको अग्रिम भाडा वा बैंक ग्यारेन्टी पेश नगरे करार भंग गरी सपिङ मल खाली गराउन सक्ने व्यवस्था छ ।

पटक-पटक भाडा तिर्न ताकेता गर्दा पनि राणाले भाडा नतिरेपछि मल खाली गर्न अल्टिमेट दिनुपरेको कोषका प्रशासक कृष्ण आचार्यले अनलाइनखबरलाई बताए । आचार्यका अनुसार राणाले काेषलार्इ गत साउन महिनायताको भाडा तिर्न बाँकी छ ।

तर, ठेकेदार राणाले भने कोषले सम्झौताअनुसार सेवा सुबिधा नदिएको भन्दै त्यसबापतको रकम आफुले पाउनुपर्ने दाबी गरिरहेका छन् ।

भवनमा लिफ्ट जडान गर्दा, पानीका लागि र अन्य खर्च बापत अाफ्नो २० करोड रुपैयाँ खर्च भएको भन्दै यसको शोधभर्ना नभएसम्म बक्यौता नतिर्ने राणा बताउँछन ।

सम्झौता भंग हुँदा नाफा हुने देखेका भवन मालिक भने सञ्चयकोष र ठेकेदार दुवै पक्ष बिबाद समाधानका लागि उदासीन देखिएका छन । तर, त्यहाँ ब्यबसाय सञ्चालन गरिरहेका ब्यबसायीहरू भने समस्या समाधानका लागि दौडधुप गरिरहेका छन् ।

सम्झौता बमोजिम राणाले कोषलाई मासिक ७८ लाख रुपैयाँका दरले भाडा बुझाउनुपर्थ्याे। तर, राणाले करिब ३० महिनाको भाडा नतिरेपछि बैंक ग्यारेन्टी राखेको दरबारमार्गस्थित ‘किरण भवन’ १९ करोड ५६ लाख ९९ हजार ९ सय ९९ रुपैयाँमा गत असारमै कोषले जफत गरिसकेको छ ।

यो रकम सकार्दा पनि राणाले कोषलाई करिब पाँच करोड रुपैयाँ तिर्न बाँकी कोषका एक अधिकारीले बताए । चार महिनाको भाडाबापत ३ करोड १२ लाख र हिसाब पुनःजाँच गर्दा राणाले थप डेढ करोड रुपैयाँ तिर्नु पर्ने देखिएको कोषको भनाइ छ ।

कोषले आगामी ०७६ सालसम्मका लागि राणालाई काठमाडौं मलको ठेक्का दिएको थियो । मलमा भौतिक पूर्वाधार निर्माण गर्दा अतिरिक्त पैसा दिने सम्झौता नभएको कोषका प्रशासक आचार्य बताउँछन् ।

काठमाण्डौ मल व्यापार संघका महासचिव खिमबिक्रम सेनले व्यवसायीहरुलाई मलको ठेक्का दिए राणाले कोषलाई तिर्न बाँकी रहेको बक्यौता तिर्नसमेत तयार रहेको बताए ।
‘कोष र राणाको झगडाले हामी व्यवसायीको बिचल्ली त हुनु भएन नि’ उनले भने -‘हामीलाई ठेक्का दिइयोस् हामी बक्यौता पनि तिर्छौ र भाडा पनि बढाएर तिर्छौं।’

व्यवसायीका समस्याप्रति कोषले गम्भिर भएर समाधान खोज्नुपर्ने उनको भनाइ छ । व्यवसायीहरु इमान्दार भएकै कारण अरु व्यापारिक मल जस्तो आधुनिक सुविधा नहुँदा पनि काठमाडौं मलमा ग्राहकको घुईँचो लाग्ने गरेको उनले बताए ।

‘दुवै पक्षको आ-आफ्नो अडानले यहाँ आश्रति करिव ५ हजारको रोजागारी गुम्ने अबस्था आएको छ’ सेनले भने-‘हामीले अनेक बिकल्प दिँदा पनि ब्यबसायीको कुरा सुनुवाई भएन् ।’

कोषका प्रशासक आचार्य त्यो आफ्नो क्षेत्राधिकार नभएको बताउँछन् । ‘मलाई यसअघि भएको सम्झौता र्कायान्वयन गराउने मात्रै अधिकार छ’ उनले भने – ‘त्यसबाहेक सञ्चालक समितिले निर्णय गर्नुपर्छ । हाल कोषमा सञ्चालक समिति अध्यक्ष छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment