Comments Add Comment

सार्कमा सघाउँछौं, त्यसपछि निर्णायक आन्दोलन गर्छौं : प्रचण्ड

८ मंसिर, काठमाडौं । एकीकृत नेकपा माओवादी नेतृत्वको २२ दलीय मोर्चाले सार्क सम्मेलन लगत्तै कांग्रेस र एमालेलाई दबाव दिन उच्चस्तरको आन्दोलन गर्ने घोषणा गरेको छ ।

मोर्चाले आफूहरु संविधान निर्माण प्रक्रियाको बिरोधी नरहेको सन्देश अन्तर्राष्ट्रिय समुदायलाई दिने प्रयाससमेत गरेको छ । यसका लागि २२ दलले सोमबारै विभिन्न देशका राजदूतहरुसँग अन्तरक्रिया आयोजना गरेका छन् ।

मोर्चाका तर्फबाट सोमबार लाजिम्पाटस्थित होटल शंकरमा आयोजित पत्रकार सम्मेलनमा मोर्चाका प्रमुख एमाओवादी अध्यक्ष प्रचण्डले माघ ८ मा संविधान जारी हुने सम्भावना अन्त्य हुँदै गएको स्वीकारे ।

फाइल फोटो
फाइल फोटो

प्रचण्डले कांग्रेस एमालेलगायत सत्ताधारी पार्टीहरु अंकगणितीय बहुमतको दम्भ देखाएर परिवर्तनका एजेण्डा स्वीकार नगर्ने अवस्थामा देखिएकाले उच्चस्तरकै आन्दोलन गर्नुपर्ने देखिएको बताए ।

‘कांग्रेस एमालेलाई लात्तीले हान्ने भनेको त होइन, तर उनीहरु शक्तिको भाषा मात्र सुन्ने बानी परेका छन्,’ प्रचण्डले भने, ‘सार्क सम्मेलन सफल पार्न हरतरहले सघाउँछौं, त्यसको लगत्तै आन्दोलनको उच्चस्तरका कार्यक्रम ल्याउँछौं ।’

संविधान निर्माण प्रक्रियामा सहमति नजिक पुगेका बेला कांग्रेस-एमालेले ४३ सभासदको हस्ताक्षर संवाद समितिका सभापतिलाई बुझाएर सरप्राइज दिएको प्रचण्डले बताए ।

‘सहमति नजिक पुगेका बेला कांग्रेस एमालेले हामीलाई सरप्राइज दिए, ४३ सभासदको हस्ताक्षरले वातावरण बिथोलियो,’ प्रचण्डले भने, ‘अहिले उनीहरुले सभापति बाबुराम भट्टराईमाथि अनावश्यक दबाव र आरोप लगाइरहेका छन्, हामी २२ दल त्यसको बिरोध गर्छौं ।’

प्रचण्डले कांग्रेस र एमालेले प्रस्ताव गरेअनुसारको संविधान कुनै हालतमा आउन नदिने र जनआन्दोलन सृष्टि गरेर भने पनि परिवर्तनलाई स्वीकार्ने संविधान बनाउने बताए ।

सरकारमा नजाने

पत्रकार सम्मेलनमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मधेसवादी दलहरु कांग्रेस एमालेको सरकारमा सहभागी नहुने प्रष्ट पारे ।

गच्छदारले भने, ‘हामी आजै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा घोषणा गर्दैछौं र यो सरकारमा सहभागी नहुने जानकारी पनि गराउँछौं ।’

गच्छदारले मधेसवादी दलहरुलाई सरकारमा ल्याउन लागिएको भनेर सत्तारुढ दलहरुले बदनाम गर्न खोजेको बताए ।

याे पनि पढ्नुहाेस्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment