Comments Add Comment

मन्त्रिपरिषदबाट निर्णय गर्दै भातृसंगठनलाई लाखौं बाँडियो

२९ मंसिर, काठमाण्डौ । प्रधानमन्त्री सुशील कोइरालाले १ करोड ४३ लाख रुपैयाँ ‘आर्थिक सहायता’ लिएका छन् । कोइराला सरकारले मन्त्रिपरिषदबाट निर्णय गरी सत्तारुढ दलका भातृ संगठनलाई लाखौं रकम बाँडेको छ ।

singhdarbarभातृ संगठनलाई राज्य कोषबाट चन्दा

कुनै पनि राजनीतिक पार्टीको भातृ संगठनको कार्यक्रमका लागि राज्यको ढुकुटीबाट बजेट निकासा गर्ने प्रचलन कांग्रेस र एमालेले धेरै पहिलेदेखि चलाएका हुन् । यस्तो प्रचलन भ्रष्टाचार हो कि सदारचार ? बहस गर्नुपर्ने भएको छ ।

सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले हालै आफ्नो पार्टी नेपाली कांग्रेसको भातृ संगठनलाई राज्यको ढुकुटीबाट १० लाख रुपैयाँ निकासा गराएका छन् । त्यस्तै भैपरी आउने खर्चमार्फत् एमालेको युवा संघले राज्य कोषबाट ७ लाख रुपैयाँ हात पारेको छ ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल प्रेस युनियनको सम्मेलन आयोजना गर्ने प्रयोजनार्थ सूचना तथा सञ्चार मन्त्रालयले मन्त्रिपरिषदबाट निर्णय गराएर आर्थिक सहायता (चन्दा) शीर्षकमा १० लाख रुपैयाँ निकासा गरेको हो ।

त्यसैगरी नेकपा एमालेको भातृ संगठन युवा संघले ‘भैपरि आउने साधारण प्रशासन’  बजेट शीर्षकमा ७ लाख रुपैयाँ लिन सफल भएको छ । ‘राष्ट्रिय युवा परिचालन कार्यक्रम’ मा नाममा एमालेको भातृ संस्थाले ७ लाख लिएको हो ।

मन्त्रिपरिषदबाट गरिएको निर्णयमा अख्तियारले समाउन पाउँदैन । अख्तियार प्रमुख लोकमानसिंह कार्कीले यसअघि नै बताइसकेका छन् कि सरकारले अख्तियारलाई छल्नका लागि कतिपय प्रस्तावहरु मन्त्रिपरिषदमार्फत निर्णय गर्न थालिएको छ ।

मन्त्रिपरिषदले एमालेको युवा संघलाई ७ लाख र कांग्रेसको भातृ संगठनलाई १० लाख रुपैयाँ दिएको छ

कसको उपचार खर्च कति ?

प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो औषधि उपचार खर्च वापतको रकम ‘आर्थिक सहायता’ शीर्षकमा  परराष्ट्र मन्त्रालयबाट पाएका छन् । अमेरिकामा उपचार गराएका कोइरालाका लागि नेपाल सरकारले १ करोड ४३ लाख ३८ हजार ८ सय ८५ रुपैयाँ व्यहोरेको अर्थ मन्त्रालयले जनाएको छ ।
दोस्रोपटकको उपचारका लागि अमेरिका जाँदा भने संयुक्त राष्ट्र संघको ६९ औं महासभा परेकाले प्रधानमन्त्रीले ‘विशिष्ट व्यक्तिको भ्रमण खर्च’ अन्तरगत नै यात्रा पूरा गरेका छन् । महासभाको बैठकमा जाँदा १ करोड ९० लाख २४ हजार ६ सय २२ रुपैयाँ खर्च भएको छ ।

सरकारले कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको उपचारका लागि मन्त्रि परिषदबाट निर्णय गराई ५० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ ।

सुशील कोइरालाको उपचारका लागि  १ करोड ४३ लाख ३८ हजार ८ सय ८५ रुपैयाँ भुक्तानी गरिएको छ

एमाले अध्यक्ष केपी ओलीले पहिलो पटकको उपचारका क्रममा १ करोड २८ लाख आर्थिक सहायता पाएका छन् ।

सरकारले पाँचथर फैलजा-२ की शोभा खतिवडालाई मन्त्रिपरिषदबाटै निर्णय गराई दुई लाख रुपैयाँ चन्दा दिएको छ । त्यस्तै पूर्वएमाले सभासद शान्ता चौधरीले पनि औधपोचारका लागि ५ लाख रुपैयाँ मन्त्रिपरिषदबाट निर्णय गराएर चन्दा लिएकी छन् ।

मन्त्रीहरुले आफ्नो पहुँचका व्यक्तिलाई अख्तियारले समात्न नपाउने गरी मन्त्रिपरिषदबाटै निर्णय गराउँदै पैसा बाँड्ने गरेका छन् ।

कानूनमन्त्रीले लिए साढे चार लाख

यसैवीच कानूनमन्त्री नरहरी आचार्यले संविधानसभा निर्वाचनका बेला तोडफोड भएको गाडीको मर्मतका लागि भन्दै गृह मन्त्रालयबाट ‘आर्थिक सहायता’ लिएका छन् । मन्त्री आचार्यले आफ्नो बा ६ च ४१९ नम्बरको सवारी साधनको क्षतिपूर्तिवापत ४ लाख ३४ हजार ७ सय ६७ रुपैयाँ ‘आर्थिक सहायता’ लिएका हुन् ।

नेकपा-माओवादी अध्यक्ष मोहन वैद्य ‘किरण’को धापासीस्थित निवास नजिकै आचार्यको गाडीको शिसा फुटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment