सर्लाही । कलाकार शिवशंकर रिजाल सर्लाही क्षेत्र नम्बर ४ को क्षेत्रीय अधिवेशनबाट नेपाली कांग्रेस महाधिवेशनको लागि केन्द्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् ।
उनी उक्त क्षेत्रबाट तेस्रो पटक महाधिवेशन प्रतिनिधि बनेका हुन् । निर्वाचित भएपछि प्रमाणपत्र ग्रहण गर्दै रिजालले कला क्षेत्रका मुद्दा राजनीतिक तहमा प्रभावकारी रूपमा उठाउन कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
उनले नेपाल विद्यार्थी संघ हुँदै कांग्रेससँग जोडिएको आफ्नो राजनीतिक यात्रालाई अब पार्टीको केन्द्रीय तहसम्म अघि बढाउने उद्देश्यले महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताए ।
‘नेपाल विद्यार्थी संघ हुँदै नेपाली कांग्रेससँग जोडिएको मेरो राजनीतिक यात्रालाई अब थप अगाडि बढाउँदै १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेको हुँ । मेरो उपस्थितिले कांग्रेसमा कला क्षेत्रका मुद्दा र समस्यालाई अझ बलियो ढंगले प्रस्तुत गर्न सकिन्छ भन्ने विश्वास लिएको छु,’ उनले भने ।
रिजाल कांग्रेसनिकट नेपाल सांस्कृतिक महासंघका महामन्त्रीसमेत हुन् । यसअघि १४औँ महाधिवेशनमा पनि उनी त्यहाँबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए ।
कांग्रेसको १५औँ महाधिवेशनको केन्द्रीय कार्यक्रम असोज १६ देखि १९ गतेसम्मका लागि निर्धारित गरिएको थियो । विभिन्न क्षेत्रमा अधिवेशन प्रक्रिया प्रभावित भएपछि कार्यतालिकामा केही हेरफेर गरिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
प्रतिक्रिया 4