Comments Add Comment

मैले घुस खुवाएँ ! कारवाही भए सहुँला बुझाउँला

मात्रिका पौडेल

कार्यालय समय शुरु हुनासाथ सवारी साधनको सामान्य काम लिएर ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय पुग्दा करीव एक हजार सेवाग्राही कार्यालय परिसरमा जम्मा भइसकेका थिए ।

Ekantakuna-line

लाइसेन्स बनाउनेहरुको लाइन यति अव्यवस्थित र अस्तव्यस्त थियो कि घण्टौं लाइन बसेकाहरु पालो मिचिएको पत्तै पाउँदैनथे ।

कुन कामका लागि कहाँ लाइन बस्ने भन्ने न त स्पष्ट सूचना टाँसिएको छ, न त सम्बद्ध कार्यालयका कर्मचारीसँग सोधपुछ गर्न पाइन्छ । भेटिन्छन् त केबल दलाल र बिचौलियाहरु ।

लाइनमा बसेकाहरु दिसा पिसाबले चापे पनि सहेर बस्न विवश छन् । किनकि ट्वाइलेट गएर आउँदा आफ्नो ठाउँ कब्जा भइसकेको हुन्छ । शौचालय खोज्दा पनि भेटिँदैन, बरु सहेरै बस्छन् ।

toylet

‘बिना झञ्झट, लाइनमा नबसी दश मिनेटमै काम हुन्छ, सस्तो भरपर्दो काम गर्ने हो भने मेरो पछि आउनुस’ दलालहरु सेवाग्राहीको लाइनमै पुगेर सुन्ने गरी यस्तो प्रस्ताव राख्छन् । तीनचार घण्टा लाइन लागे पनि काम हुने ठेगान नभएपछि दिक्क भएकाहरु बरु घुस खुवाएर भए पनि काम फत्ते गर्न विवश हुन्छन् ।

अनि त के, लाइन जहाँको त्यहीँ हुन्छ, दलालले भित्र गएर काम फत्ते गरेर आइ सक्छ । जसले घुस खुवाउन सक्दैन वा चाहँदैन, उसले दिनभरि लाइन लागेर रित्तो हात घर फर्किनु पर्ने हुन सक्छ । तर, दलालको पछि लागेपछि भित्रभित्रै काम भइहाल्दोरहेछ । सरकारी कार्यालयमा कस्तो अचम्म !

यातायात कार्यालय सम्भवतः अहिले सबभैन्दा बढी सेवाग्राही जानैपर्ने सरकारी कार्यालय हो । तर, यो कार्यालय परिसरमा पुगेपछि यसको हविगत र व्यवस्थापन हेर्दा सरकारको सुशासन भन्ने मन्त्र, अश्लील गालीजस्तो लाग्छ ।

ekantakuna-line-2

सेवाग्राहीले कर्मचारीलाई भेटेर आफ्नो कामका बारेमा सोधपुछ गर्ने अवसर पाउन असम्भव छ । बरु छेउछाउका होटल,चिया पसल, लेखापढी अफिस र भवन परिसरमा डुलिरहेका दलालहरुलाई आफ्नो गुनासो सुनायो भने एक हातले पैसा दिएपछि अर्को हातमा काम फत्ते भएको कागज चाहिँ आइपुग्दोरहेछ ।

किशोरी लाइनमै ढलिन्

लाइनमा बस्दाबस्दै लाग्यो- यस्तो यातना त शत्रुले पनि नपाओस् । टण्टलापुर घाम, अनि बुङ्बुङ्ती उडेको धूलो मुखभित्र बिना रोकटोक प्रवेश हुन्छ । कसैलाई यातना दिनु छ भने यातायात कार्यालयमा लगेर लाइनमा राखिदिए पुग्ने रहेछ ।

एकजना किशोरी कलेज ड्रेसमै थिइन्, हेर्दाहेर्दै उनी लाइनमै ढलिन् । अत्यधीक गर्मीमा पिसाबले च्यापेर बस्दा असैह्य भई ढलेकी रहिछन् । कार्यालय परिसरको पल्लो छेउमा एउटा छाप्रो रहेछ, शौचालय लेखिएको । शौचालय भन्नुमात्रै, दश हात परबाटै दुर्गन्ध खपिनसक्नु । महिला र पुरुषको एउटै शौचालय, त्यसमा पनि फोहोरले टेक्ने ठाउँ त छैन भने कसरी बसेर शौच गर्ने ?

शौचले च्यापेर आपत परेपछि शौचालय खोज्दै पुगेकाहरु शौचालयको यस्तो हालत देखेपछि सरकारलाई सराप्दै हिँड्न बाध्य हुन्छन् ।

यातायात कार्यालयमा काम लिएर जानेहरु सबै वर्गका छन् । तर, त्यहाँ निम्न, मध्यम र उच्च वर्गका मान्छेहरुको पीडा भने लगभग एउटै पाइयो । बुढाबुढीहरु लाइनमा उभिएर लखतरान परेका छन् । तर, टसक्क बस्ने ठाउँ छैन । न पिउने पानी, न त शौचालय ।

nagarik-badapatra

यातायात कार्यालयबाट दैनिक लाखौं करोडौं राजश्व संकलन गर्ने सरकारले कार्यालयको व्यवस्थापन गर्न किन सक्दैन ? कि जान्दैन ? एउटा शौचालय पनि बनाउन नसक्ने हो भने किन कार्यालय सञ्चालन गर्नु ?

सेवाग्राही यातायात कार्यालयमा सेवा लिन होइन, सास्ती भोग्न जानु परेको छ । सुशासन र जनता मैत्री सरकारको यातायात कार्यालयमा धज्जी उडिरहेको छ ।

फेरिएको घुसको शैली

यातायात कार्यालयमा अहिले विगतमा जस्तो घुसको कारोबार चल्दैन । अख्तियारको डर र सेवाग्राहीको चेतनाको विकाससँगै घुसको शैली फेरिएको छ । तर, विगतमा कर्मचारीलाई दिने घुस दलालमार्फत जाँदा दोब्बरसम्म भएको छ ।

 

कर्मचारीको पहुँचसम्म पुगियो भने बिधिपूर्वक लगिएको फाइलको काम हुन्छ । तर, त्यहाँसम्म पुग्न यतिसम्म सास्ती खेप्नुपर्छ कि, जो कोहीले यो यातना सहनै सक्दैन ।

यातायात व्यवस्था कार्यालयको घुसको शैली फेरिएको छ । जनताले पाउने सास्ती थपिएको छ । एउटा सम्मानित नेपाली नागरिकले त्यहाँभित्र पसेपछि पाइला पाइलामा अपमानको धक्का खानुपर्छ ।

मन्त्री र मुख्यसचिवलाई अनुरोध

भौतिक पूर्वधार तथा यातायात मन्त्री विमलेन्द्र निधी ज्यू ! एक घण्टा समय निकालेर तपाई नेतृत्वको यातायात व्यवस्था कार्यालयमा जानुस र सुन्नुस, तपाई र तपाईको लोकतान्त्रिक सरकारबारे जनताले के भन्दा रहेछन् ।

एउटा सरकारी कार्यालय त व्यवस्थित र जनतामैत्री बनाउन नसक्नेले देश बनाउने गफ दिएको पटक्कै नसुहाउने रहेछ

अनि एउटा प्रश्न मुख्य सचिव लीलामणि पौडेललाई पनि- के तपाई यातायात कार्यालयमा जानुभएको छ ? छैन भने जानुस, एकान्तकुनाको चक्रपथ सडकबाटै पैदल झरेर कार्यालयभित्र प्रवेश गर्नुस्, तपाईले भन्ने गरेको सुशासन त्यही हो ?

हो भने केही भन्नु छैन, होइन भने वागमती सफाइ एक सातालाई थाती राखेर आफ्नै मातहतका अड्डाहरुको सफाइ थाल्नुस् ।

मात्रिका पौडेल
मात्रिका पौडेल

देखाउनलाई त कार्यालयमा नागरिक बडापत्र पनि टाँसिएको छ । १५ मिनेट देखि १ घण्टाको बीचमा सेवाग्राहीका प्रायः सबै काम हुनेछन् भनेर स्पष्ट किटान पनि गरिएको छ । तर, यी त सब भन्ने कुरा हुन् ।

राज्यलाई कर तिर्न गएको नागरिकले त्यहाँ न्युनतम सुविधा पनि नपाउनु सरकारका लागि लाज लाग्ने विषय हो । यो सरकारी कार्यालय हो । तर, सरकार कहाँ छ भन्ने थाहै नपाई सेवाग्राही घर फर्किनुपर्छ ।

एउटा सरकारी कार्यालय त व्यवस्थित र जनतामैत्री बनाउन नसक्नेले देश बनाउने गफ दिएको पटक्कै नसुहाउने रहेछ ।

मैले घुस खुवाएँ

तीस मिनेटमा हुनुपर्ने काम तीन घण्टामा पनि नभएपछि मैले बाध्य भएर तीन हजार रुपैयाँ घुस दिएर काम गराएँ । घुस पनि कर्मचारीको हातमा होइन, बिचौलिया मार्फत ।

घुस दिनु पनि अपराध हो, तर मैले यो कार्यालयमा मेरो बुँताबाट काम हुन नसक्ने देखेपछि बिचौलिया लगाएर घुस खुवाएँ के कारवाही हुन्छ, सहुँला बुझाउँला

जीवनमा पहिलोपटक घुस खुवाउनु परेकोमा आत्मग्लानी अवश्य छ । तर, अरु एक-दुई घण्टा बस्दा पनि मेरो काम नहुने यथार्थको साक्षी भएकाले गर्दा घुस खुवाउनु परेकोमा अपराधवोध भन्दा पनि हीनताबोधको भारी बोकेर ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयबाट फर्किनु परेकोमा अपमानबोध छ ।

अनि त्यहाँ लाइन लागेका र दलालको पछि-पछि अवोध बालवालिका जसरी भौतारिएका ती निरीह मान्छेहरु सम्झिँदा दया जागेको छ ।

हुन त घुस दिनु पनि अपराध हो, तर मैले यो कार्यालयमा मेरो बुँताबाट काम हुन नसक्ने देखेपछि बिचौलिया लगाएर घुस खुवाएँ र काम पनि गराएँ । ठीक छ, के कारवाही हुन्छ, सहुँला बुझाउँला । तर, नेपाली जनतालाई दिनहुँ अमानवीय सास्ती दिने सरकार सञ्चालकहरुलाई कारवाही हुँदैन ? जनता जवाफ खोजिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment