Comments Add Comment

माया र विष्णु भन्छन्-अमेरिका लान्छु भन्दै दलालले डुबाए (भिडियोसहित)

मात्रिका पौडेल 

२१ चैत, काठमाडौं । लमजुङकी विष्णु गुरुङ र काभ्रेकी माया लामालाई अमेरिका गएर डलर कमाउने इच्छा जाग्यो । तर, उनीहरुलाई कांग्रेस नेता एवं अर्थमन्त्री डा. रामशरण महतको नाम लिँदै दुई व्यक्तिले अमेरिका पुर्‍याइदिने बाहनामा डुबाउनुसम्म डुबाए ।
pidit (5)

  • ठगिएकोबारे जानकारी गराउँदै पीडितहरू

माया र विष्णुसहित करिब २० जनाको यतिबेला अमेरिकी सपनामात्रै डुबेन, घरबारसमेत चुर्लुम्मै डुबेको छ ।
कांग्रेसकाे आडमा दर्जनौं व्यक्तिलाई अमेरिका लैजाने आश्वासन दिएर एक करोड रुपैयाँ भन्दा बढी ठगी गर्ने गिरोहलाई पीडितले प्रहरीको जिम्मा लगाउन खोजेपछि ठगीका नाइकेहरु फरार भएका छन् ।

महिला विकास सहकारी खोलेर त्यसको संरक्षकमा अर्थमन्त्री डा. रामशरण महतलगायत नुवाकोटका कांग्रेस नेताहरुलाई सल्लाहकार राखी ठगी धन्दा चलाउने तुलसादेवी रिमाल र दुर्गाबहादुर तामाङ प्रहरीसमक्ष पीडितहरु नपुग्दै फरार भइसकेका छन् ।

अमेरिकामा मेला आयोजना गर्ने र सोही मेलाका सहभागीका रुपमा अमेरिका लैजाने आश्वासन दिएर यो गिरोहले कम्तिमा २० जनाबाट एक करोड ३३ लाख रुपैयाँ नगद संकलन गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

यो गिरोहबाट ठगिएकी माया लामा, बिष्णु गुरुङलगायतले आफ्नो पैसा फिर्ता नआउने र अमेरिका पनि जान नपाउने निश्चित भएपछि तुलसादेवीको गिरोहलाई प्रहरीको जिम्मा लगाउन खोजेको थियो ।

यस्तो छ पीडितको भनाइ –

यसक्रममा विहीबार पीडितहरु आफैं खटेर तुलसाकी बुहारीसमेत रहेकी महिला विकास सहकारीकी कोषाध्यक्ष सुशीला रिमाललाई प्रहरीको जिम्मा लगाएका छन् ।

प्रहरीले ठगीको अनुसन्धान शुरु गरेको अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले बताएका छन् ।

कसरी बनाए अमेरिकाको योजना ?

तुलसादेवी रिमाल साधारण लेखपढ मात्रै जान्ने महिला हुन् । तर, राजनीतिक रुपमा उनको पहुँच कांग्रेसका माथिल्ला नेताहरुसम्म छ । पीडितहरुका अनुसार अर्थमन्त्री रामशरण महतको संरक्षण आफूलाई रहेको उनी सगर्व बताउँथिन् ।

कांग्रेसको महिला संघको राजनीति र नुवाकोटका देवीघाटमा केन्द्र रहेको महिला विकास सहकारी संस्थाको आडमा उनले अमेरिकाको सपना देख्ने युवायुवतीलाई जालमा पार्न सफल भइन् ।

महिला सहकारीद्वारा उत्पादित कृषिजन्य सामाग्री तथा हस्तकला प्रदर्शनी अमेरिकाको न्यूयोर्क शहरमा आयोजना गर्ने र त्यसमा चार पाँच सय नेपाली सहभागी हुने प्रपोजलको आडमा उनको ठगी धन्दा शुरु भयो ।

उनले सो समारोहमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालय लगायत अधिकांश मन्त्रालयबाट तीन-तीनजना सहभागी हुने प्रस्ताव समेत तयार पारिन् ।

मेनपार छाडेर ठगीमा !

यो धन्दामा मान्छे जम्मा गर्नका लागि तुलसाले बसुन्धरामा नेगी कन्सल्ट्यान्सी नामक मेनपावर चलाउने दुर्गाबहादुर तामाङको साथ लिइन् ।

मेनपावर व्यवसायी दुर्गाबहादुर तामाङ
मेनपावर व्यवसायी दुर्गाबहादुर तामाङ

सजिलै पैसा कमाउन पाइने भएपछि तामाङले मेनपावर नै बन्द गरेर अमेरिकाको खेती गर्न थाले । यसक्रममा यो गिरोहले डेढ करोड भन्दा बढी रकम संकलन गरेको अनुमान गरिएको छ ।

दुर्गा तामाङले लमजुङकी बिष्णुमाया गुरुङलाई अमेरिकाको सपना देखाए । बिष्णुले बसुन्धरामै पसल गरिरहेकी काभ्रे भुम्लु सल्लेकी माया लामालाई पनि अमेरिका जाने उपाय बताइन् ।

एकपछि अर्को गर्दै कृषि प्रदर्शनीका नाममा अमेरिका जान चाहने र उतै लुक्न चाहनेहरुको भीड तुलसा र दुर्गाबहादुरको पछि लाग्न थाल्यो ।

उनीहरुले विभिन्न सहकारीको सदस्य बन्ने र सहकारीमार्फत प्रदर्शनीमा जानुपर्ने बताएपछि उनीहरु सहकारीमा पैसा तिर्दै सदस्य बन्न थाले ।

एक वर्षपछि पर्दाफास

गत साल जेठबाट शुरु भएको यो धन्दाका क्रममा तुलसादेवी र दुर्गावहादुरले प्रतिव्यक्ति पटक-पटक गरि १२ लाख रुपैयाँसम्म अग्रिम लिइसकेको पाइएको छ । सहकारीकी कोषाध्यक्ष सुशीलाले पैसा जम्मा गरेको विभिन्न बिल भर्पाइबाट देखिएको छ ।

बिष्णुमायाले त लमजुङबाट सिस्नोको धूलो, राडीपाखी समेत अमेरिकामा प्रदर्शनी गर्नका लागि चाहिन्छ भनेकाले हजारौं रुपैयाँ खर्च गरेर किनिन् र तुलसाको जिम्मा लगाइन् ।

गत वर्षको सेप्टेम्बर २६ मा हुने भनिएको कथित मेलाका लागि भिसा लागेपछि सबै पैसा तिर्नुपर्ने भन्दै पासपोर्ट समेत संकलन गरेको यो गिरोहले पटक-पटक इमोशनल ब्ल्याकमेलिङ गर्दै पीडितहरुबाट पैसा संकलन गर्‍यो ।

‘भदौमा नभएपछि उनीहरुले मेलाको तयारी पुगेन भन्दै कात्तिकमा लैजाने भने । कात्तिकबाट मंसिर ४ मा सारेपछि मलाई उनीहरुको नियतमाथि शंका लाग्यो’ अनलाइनखबरको कार्यालय खोज्दै आइपुगेकी मायाले भनिन् ‘त्यसपछि फागुनमा लैजाने भन्दाभन्दै उनीहरु फरार भए’ ।

सहकारी संस्था नै ठगिए

यो गिरोहबाट ठगिनेमध्ये माया लामा र बिष्णुमाया गुरुङले अपराध महाशाखा हनुमानढोकामा जाहेरी दिएका छन् । अरु सातजना पीडितहरु पनि प्रहरी सम्पर्कमा पुगेका छन् ।

चितवन, धादिङलगायतका जिल्लाका कतिपय सहकारी संस्थाहरु समेत अमेरिकामा प्रदर्शनीमा जाने नाममा ठगिएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।

अर्थमन्त्रीको आश्वासन ?

अमेरिकामा कार्यक्रम गर्न अमेरिका निवासी श्री पराजुली भन्ने व्यक्तिले स्पोन्सर गरेको र अर्थमन्त्री डा. महतले १२ करोड रुपैयाँसम्म सरकारबाट सहयोग दिलाउने आवश्सान दिएको रिमालले पीडितलाई बताएकी थिइन् ।
Ramsaran-mahat

तर, कार्यक्रमका बारेमा नकारात्मक चर्चा चलेकाले अमेरिकाको मेला रद्द गरिएको अनलाइनखबरसँगको सम्पर्कमा तुलसा रिमालले बताइन् ।

यद्यपी पराजुलीले स्पोन्सर लेटर नपठाएको स्पष्ट पारेका छन् ।

अमेरिकाको भिसा आइसक्यो भनेर माया, बिष्णुमाया लगायतका व्यक्तिसँग पोशाकको लागि अलग्गै पैसा चाहिन्छ भन्दै थप ६० हजार रुपैया समेत प्रतिव्यक्ति असुलेको बिष्णुले बताइन् ।

पीडितलाई प्रलोभन

रिमालाको गिरोहबाट ठगिएका अधिकांश व्यक्तिसँग पैसा दिएको भर्पाइ समेत नभएकाले उनीहरु कानुनी कारवाहीमा जान हच्किएका छन् ।

तर, प्रहरीले संस्थाकी कोषाध्यक्ष सुशीलालाई नियन्त्रणमा लिएर कारवाही अघि बढाएपछि उनको परिवारबाट पीडित पक्षलाई मिल्नका लागि दबाव आउन थालेको मायाले बताइन् ।

‘हाम्रो बेइज्जत हुन्छ, घर बन्धकी राखेर भने पनि एक महिनापछि पैसा दिन्छौं, तर केस फिर्ता गर भन्दैछन्’ मायालो भनिन् ‘तर हामी यो गिरोहको पर्दाफास गराएर छाड्छौं’ ।

पैसा गयो,घर पनि बिग्रियो

अमेरिका जाने चक्करमा ऋण गरेर पैसा बुझाएकाहरु अहिले कोही डिप्रेसनको शिकार भएका छन् भने कसैको घरबार समेत बिग्रिएको छ ।

‘अमेरिकाको चक्करले भएको पसल पनि छाडेँ, पैसा सबै सकियो, घर परिवार पनि भाँडियो, बाँच्न मनसमेत छैन’ २९ वर्षीया मायाले भनिन् । उनका श्रीमान बैदेशिक रोजगारीमा छन् ।

आफूहरुले पाएको मानसिक यातना र घरबार बिग्रिएका कारण पीडकहरुलाई पानीमुनि गए पनि नछाड्ने उनी बताउँछिन् ।

तुलसाको दाबी

तुलसादेवी रिमाल
तुलसादेवी रिमाल

यसैबीच आरोपित तुलसादेवीले भने आफू विरुद्ध षड्यन्त्र भएको बताइन् । उनले अमेरिकाको कार्यक्रम रद्द गरिएको बताए पनि पीडितहरुको पैसा नखाएको दाबी गरिन् ।

‘केही व्यक्तिसँग लेनदेनको कारोबार हो, त्यो मिलाउँदै छु तर मेरो घरमा गुण्डा लगाएर आक्रमण गरे’ उनले भनिन् ‘म विरुद्ध राजनीति भयो’ । उनले मायाले आफ्नो घरमा पसेर चेक चोरी गरेको आरोप लगाइन् ।

तर, उनले चोरी भयो भनिएको सहकारी विकास वैंकको चेकमा मायाको नाममा ९ लाख रुपैया भुक्तानी दिनु भनी लेखिएको छ । जसमा तुलसाको हस्ताक्षर छ । चेक बाउन्स भएको सहकारी बैंकका लेखा निर्देशक कुलचन्द्र अधिकारी बताउँछन् ।

यो पनि पढ्नुहोस्

अमेरिका लैजाने ठगको सूचीमा राष्ट्रपति कार्यालयको नाम 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment