Comments Add Comment

चितवनमा १० करोड लगानीमा प्राङ्गारिक मल उद्योग

७ वैशाख, चितवन  । चितवनमा १० करोड रूपैयाँ लगानीमा प्राङ्गारिक मल उद्योग सञ्चालनमा आएको छ । नारायणी नगरपालिकास्थित जगतपुरमा उक्त उद्योग सञ्चालनमा आएको हो ।

‘युनिक बायोटेक अर्गानिक प्रालि’ले आफ्नो उद्योगबाट उत्पादन सुरु गरेको छ । उत्पादन गरिएको धुलो मल बजारमा पुर्‍याइसकेको र दानादार मल तथा झोल मल एवम् जैविक विषादी उत्पादन भए पनि परीक्षणकै क्रममा रहेको उद्योगका अध्यक्ष हरिप्रसाद मरहट्ठाले जानकारी दिए ।

‘मन्त्रालयले अनुमति दिएपछि जैविक विषादी बजारमा ल्याउँछौँ,’ उनले भने । उद्योगको उत्पादन क्षमता वार्षिक ५० हजार मेट्रिक टन छ । यहाँ उत्पादन भएको मल २६ जिल्लामा जाने गरेको छ ।

करिब तीन बिगाह क्षेत्रफलमा सञ्चालनमा आएको उद्योगमा रु चार करोडका मेसिन उपकरण रहेका छन् । रु दुई करोड सरकारले अनुदान दिएको उद्योगका महाप्रबन्धक वासुदेव आचार्यले जानकारी दिनभयो ।

बढ्दो विषादी र रासायनिक मलको प्रयोगका कारण माटोको शक्ति कमजोर भई अम्लीयपना बढेकाले यसको न्यूनीकरणका लागि यस्ता उद्योग आवश्यक भएको कृषि मन्त्रालय, कृषि विभागअन्तर्गत माटो व्यवस्थापन निर्देशनालयका कार्यक्रम निर्देशक दुर्गाप्रसाद दवाडीले बताए ।

उद्योगी व्यवसायीलाई यस्ता उद्योगमा प्रोत्साहनका लागि सरकारले यन्त्र उपकरणमा ५० प्रतिशत अनुदान दिन थालेको उनले बताए । अनुदान दिइएका २१ उद्योग मध्ये यो सबैभन्दा ठूलो उद्योग भएको दवाडीको भनाइ छ ।

अहिलेसम्म १७ उद्योग सञ्चालनमा रहेको र ९ करोड रूपैयाँ अनुदान सहयोग भइसकेको उनले जानकारी दिए । यो मल प्रयोग गरे माटोको शक्ति बढ्ने र उत्पादनमा समेत वृद्धि हुने विज्ञहरुले बताएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment