Comments Add Comment

‘रुखो जमिनमा पैसा फलाउन सकिन्छ’

Krishi

८ वैशाख, काठमाण्डौ । उराठलाग्दो डाँडो र रुखो जमीनमा पैसा फलाउन सकिदैन ? बाह्रै मास खट्दा पनि दुइ छाक खान नपुग्ने किसान समृद्ध बन्न सक्दैनन् ?

जबसम्म रुखो डाँडोमा हरियाली बनाउन सकिदैन, किसानलाई आफ्नै भूमिले पाल्न सक्ने बनाउन सकिदँैन, तबसम्म हामीजस्ता कृषि विज्ञको के काम ?

कृषिविज्ञ डा. हरिकृष्ण उपाध्यायले २५ वर्षअघि यो कुरा नसोचेको भए नेपालका लाखौं रोपनी जमीनमा बेमौसमी तरकारी यति छिट्टै व्यापक हुने थिएन ।

अहिले रुखो, बालुवाले भरिएको जमीनमा तरकारी लहलह भइरहेको छ । किसानहरु आफ्नै गाडीमा लोड गरेर तरकारी बेच्न सक्ने भएका छन् । पढेलेखेका युवाहरु कृषिमा भविष्य देख्दै होमिदै गएका छन् । बैंकहरु किसान खोज्दै गाउँघर डुलिरहेका छन् ।

आफ्नो स्थापनाको २५ औं वर्ष मनाउने क्रममा आमन्त्रण गरिएको पत्रकार सम्मेलनमा सिप्रेडका संस्थापक डा. उपाध्यायमा सन्तुष्टिको आभाष देखिएको थियो । ‘हामीले अहिलेसम्म २ लाख ६५ हजार किसान परिवारलाई व्यवसायिक कृषिमा सहभागी गराइसक्यौं’ करिब ५६ जिल्लामा विभिन्न कार्यक्रम लिएर पुगेको सिप्रेडको प्रगति सुनाउँदै उनी मख्खिएका थिए । अहिलेसम्म ५५८ सहकारी, १४ हजार कृषक समूह, १० वटा लघु जलविद्युत, ७२ हजार साना सिंचाइ गरी विभिन्न उत्पादनमूलक संस्था खडा गरिसकेको उनले बताए ।

रुखो र उपयोगविहीन देखिने रोड करिडोरमा तरकारी खेती गराइ कृषिको व्यवसायिकीकरणमा सिप्रेडले मार्गनिर्देश गरेको छ । मौसममा निर्भर खेती पद्धतिसँगै बेमौसमी तरकारी खेती गराइ किसानलाई दिगो आम्दानी गर्न सक्ने तरिका पनि यसले सिकाएको छ ।

करोडौं रुपैंयाँ बीऊ आयातमा खर्च हुने अवस्थालाई घटाएको छ । किसानलाई आफ्नै खेतबारीमा बीऊ उत्पादन गर्न सिकाएको छ । आफ्नै घर, आँगनमा तरकारी, फलफूल फलाउने सीप पनि दिएको छ । माछा र बंगुर पालेर पनि मनग्ये आम्दानी लिन सकिने ज्ञान पनि प्रसार गरेको छ ।

नेपाली किसानको आर्थिक हैसियत उकास्न नगदेवालीको विकल्प नभएको डा. उपाध्यायको ठहर छ । ‘एक रोपनी जमीनमा ५ हजारको धान पनि फल्दैन, तर २० हजारको तरकारी फलाउन सकिन्छ ‘ उनले उदाहरण दिँदै भने ‘तरकारी निर्यात गरेर पनि मज्जाले कमाउन सकिन्छ ।’

सिप्रेडका बागवानी विज्ञ इन्द्रराज पाण्डे किसानको मौलिक सीप र आकांक्षालाई परिष्कार गर्दै उत्पादन योजना बनाउँदा नतिजा राम्रो आएको बताउँछन् । ‘हामीले एकतर्फी योजना बनाउनु हुँदैन, उनले भने ‘किसान पनि विद्धान छन् । अनुभवले खारिएका छन् ।’

सिप्रेडका कार्यकारी निर्देशक भरत उपाध्यायले बजारको विश्लेषण गरेर मात्र कृषि उत्पादन योजना बनाउनुपर्नेमा जोड दिए । ‘भाऊ पाइन्छ भन्दैमा जथाभावी रोपेर हुँदैन । लगानीको आधारमा स्थानीय र बाह्य बजारको पहुँच विश्लेषण गर्नुपर्छ’ उनले उल्लेख गरे ।

नेपालमा बेमौसमी तरकारी खेतीको सूत्रधार सिप्रेडले अहिले देशका २७ जिल्लामा तरकारी, फलफूल, माछा, पशुपालन लगायतको क्षेत्रमा किसानलाई सीप हस्तान्तरण गरिरहेको छ । किसानलाई खेतबारीमै पुगेर हातेमालो गर्ने हुँदा हजारौं किसानको भरोसा समेत बनेको छ सिप्रेड । संस्थापक डा. हरिकृष्ण उपाध्यायले हँसिलो मुहारमा भने, ‘हामी किसान खोज्दै खेतबारी पुग्छौं, किसान पनि हामी खोज्दै आइरहन्छन् । हामी एकै परिवारका सदस्य जत्तिकै भएका छौं, यो नै हाम्रो सफलता हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment