Comments Add Comment

राजधानीबाट गाउँ फर्किन थाले भूकम्प पीडित

१४ वैशाख, काठमाडौ । विभिन्न कामको सिलसिलामा काठमाडौं बसेकाहरु भूकम्पको त्रासले गाउँ फर्किन थालेका छन् । सोमवार विहान अनलाइनखबर संवाददाताले कलंकी, नयाँ वानेश्वर र मीन भवनमा गाउँ फर्किने तयारीमा रहेका केही युवासँग कुरा गरेको थियो ।

काठमाडौमा ट्याक्सी चलाउँदै आएका सिन्धुपाल्चोकका २८ वर्षीय मोहन लामा सिन्धुपाल्चोक जाने बसको खोजीमा थिए । आफ्नै आमासँग टेलिफोन सम्पर्क नभएकाले उनले छिमेकीसँग आफ्नो घरका बारेमा बुझेका थिए । पहिलो दिनको भूकम्पले घर पुरै भत्किए पनि आमा सुरक्षित भएको जानकारी पाएका उनले आइतवार दिउँसोको भूकम्पबारे भने कुनै जानकारी पाउन सकेनन् ।

‘चिनजानका मान्छेहरुको फोन स्वीच्ड अफ छ, एउटा भाइकोमा बल्ल बल्ल फोन लागेको थियो तर, कुरा हुनै पाएन’ उनले अनलाइनखबरसँग भने ।

 त्यस्तै गोर्खा फुजेलमा शिव खनालले पनि घर र गोठ भत्केको खबर शनिवारै पाए । शनिवार दिउँसो बुबासँग फोनमा कुरा भएपछि घर भत्केको तर, बा-आमा सुरक्षित भएको जानकारी पाएका शिवले दुई दिनदेखि फोनमा बा-आमासँग कुरा गर्न सकेका छैनन् ।

अरु गाउँमा मानवीय र भौतिक क्षति भएको सुनेका शिवले सोमवार मात्रै गाउँ जाने गाडी भेटेका थिए । ‘एकजना साथीले बालाजुबाट गाडी हिँडेको जानकारी दिएको छ, त्यही कुरेर बस्दैछु ।’ उनले भने ।

गाउँ जानकै लागि गाडी कुरेर बसेका मध्ये धेरैले सहजैरुपमा गाडी नपाएको गुनासो गरे । सोमवार बिहान काठमाडौवाट छुटेका  लामो दुरीका गाडीमा छतभरि कोचाकोच यात्रु देखिन्थे ।

नवलपरासी बर्दघाटमा आफ्ना परिवारका सदस्यजन सुरक्षित भएको जानकारी पाएकी शर्मिला ज्ञवाली पनि कलंकी चोकमै भेटिइन् । काठमाडौमा दुई दिन पालमुनि बसेकी शर्मिला भन्दै थिइन् ‘मरे पनि आमाकै छेउमा मर्छु । छतमा बसेर भए पनि आज गाउँ जान्छु ।’

दुई दिन काठमाडौमा कष्टले बसेकी शर्मिलाले यस्तो आपत पर्दा परिवारका सदस्यको साथ महसुस भएको बताइन् ।

नेपाल सरकारले भने नआत्तिन र लामो दुरीको यात्रामा ननिस्कन सर्वसाधारणलाई सतर्क गराएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री विमलेन्द्र निधीले सोमबार यातायात व्यवसायीसँग छलफल गरी अब यातायातका साधन सुचारु गर्न निर्देशन दिएका छन् ।

मन्त्रीको निर्देशनपछि यातायात व्यवस्था विभागले यातायात मजदुर संगठनका प्रतिनिधि, यातायात व्यवसायी एवं ट्राफिक प्रहरीसँग सोमबार अपरान्ह संयुक्त बैठक आयोजना गरी यातायात इवस्था सुचारु गर्नेबारे छलफल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment