Comments Add Comment

परिसंघको सुझाव : उद्योग जोगाउन कर र भ्याट घटाउनुस्

१० जेठ, काठमाडौं । विनाशकारी भूकम्पले उद्योग व्यवसाय नराम्ररी प्रभावित भएको नेपाल उद्योग परिसंघले बताएको छ । भूकम्पपछि धेरैजसो उद्योगहरु अझै सञ्चालनमा आउन नसकेको र सञ्चालनमा आइसकेका उद्योगहरु पनि आंशिक रुपमा चलेको परिसंघको भनाई छ ।

भूकम्पको धक्काले परिसंघमा आवद्ध ४० वटा ठूला उद्योगमा भौतिक क्षति पुगेको वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माले बताए । भूकम्पपछि समस्यामा परेका उद्योग व्यवसायलाई ट्रयाकमा ल्याउन सरकारले विभिन्न कर तथा भ्याटमा छुट दिनुपर्ने परिसंघले बताएको छ ।

VAT-Logoक्षतिग्रस्त उद्योग व्यवसायको पुनरुत्थानका लागि परिसंघले तयार पारेको सुझावमा व्यवसायीक करको दर घटाएर तीन वर्षका लागि ५ प्रतिशतमा झार्नुपर्ने उल्लेख गरिएको छ ।

सञ्चालनमा रहेका उद्योगलाई पहिलाकै अवस्थामा फर्काउन र लगानीको वातावरण बनाइराख्न व्यवसायीक करको दर घटाउनुपर्ने परिसंघको ठहर छ ।

यसैगरि अर्थतन्त्रमा आउनसक्ने सम्भावित डिप्रेशनलाई रोक्न मूल्य अभिवृद्धि कर (भ्याट)को दरलाई घटाएर २ वर्षका लागि ११ प्रतिशत कायम राख्नुपर्ने परिसंघको सुझाव छ ।

व्यक्ति तथा परिवारको आयकर गणना गर्दा कर छुटको सीमा ५ लाख पुर्‍याउन पनि परिसंघले आग्रह गरेको छ । अहिले साढे २ लाख रुपैयाँभन्दा बढी आम्दानी हुनेले आयकर तिर्नुपर्छ ।

उद्योग व्यवसायको भौतिक पूर्वाधारहरुको निर्माण गर्दा भएको खर्चलाई करमा छुट लिने व्यवस्था मिलाउन पनि परिसंघको सुझाव छ ।
राहत तथा पुनर्निर्माणको काममा प्रयोग हुने वस्तुहरुको आयातका लागि कम्तिमा एक वर्षका लागि विशेष भन्सार नीति बनाएर लागू गर्न पनि आग्रह गरिएको  छ ।

परिसंघका अध्यक्ष नरेन्द्र कुमार बस्न्यातले भूकम्पबाट मझौला तथा साना उद्योग व्यवसायमा पूर्ण रुपमा क्षति पुगेको बताए । उनका अनुसार कतिपय उद्योगको पूर्वाधार ध्वस्त भएर पुनः सञ्चालनमा आउन नसक्ने अवस्थामा पुगेका छन् ।

भूकम्पपछि ठूला उद्योग व्यवसायमा समेत मागमा भएको कमी र गिरावट, उच्च ज्याला तथा अतिरिक्त खर्चका कारण समस्या परेको अध्यक्ष बस्न्यातले गुनासो गरे ।

यसैगरि भूकम्पबाट क्षतिग्रस्त साना तथा मझौला उद्योगहरुको पुर्नस्थापना गर्न ‘व्यवसाय पुनरुत्थान केन्द्र’ स्थापनाको आवश्यकता महशुस गर्दै सो अवधारणा अगाडि बढाएको अध्यक्ष बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment