२५ जेठ, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा रहेको ३० दलीय मोर्चा औपचारिक रुपमा फुटेको छ ।
सोमबार दिउँसो बसेको मोर्चाको बैठकमा एमाओवादी अध्यक्ष प्रचण्ड ८ प्रदेशमा सहमति गर्ने भन्दै हिडेपछि मोर्चामा विभाजन आएको हो । बैठकमा प्रचण्डले नामांकन प्रदेशसभा र सीमांकन संघीय आयोगले गर्ने सहमति भएको र आजै सहमतिमा हस्ताक्षर गर्न सक्ने बताए ।
बैठकमा मोर्चामा आवद्ध २८ दलले भने सीमांकन विनाको ८ प्रदेश स्वीकार्य नहुने बताए । तर, आफ्नो कुरा संयोजक प्रचण्डले नसुनेपछि मोर्चामा विभाजन आएको छ ।
मोर्चामा आवद्ध मधेसी र जनजाति दलहरुले संयुक्त पत्रकार सम्मेलन गरेर चार दलबीच कुनै सहमति भए मान्य नहुने बताए ।
पत्रकार सम्मेलनमा तमलोपाका सहअध्यक्ष हृदयेश त्रिपाठीले भने-‘कुनै सहमति भए त्यो चार दलको मात्र हुनेछ । ३० दलीय मोर्चाको होइन ।’
पत्रकार सम्मेलनमा एमाओवादी र विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक बाहेकका मधेसी दल र जनजाति पार्टीका नेताहरु उपस्थित थिए ।
तमलोपा सहअध्यक्ष त्रिपाठीले चार दलबीच भएको भनिएको ८ प्रदेशको सहमति संघीयता र परिर्वतनमाथिको निर्मम प्रहार भएको बताए ।
उनले यस्तै अवस्था रहे केही दल र सभासदले संविधानसभा छाड्ने चेतावनी दिए ।
प्रतिक्रिया 4