Comments Add Comment

माफि माग्दै भारतीय पत्रकारले भने- अब नेपाली पर्यटन पुनरुत्थानमा सघाउँछौं

सन्देश श्रेष्ठ
१४ असार, पोखरा । पर्यटकीय नगरी पोखराको भ्रमणमा आएका भारतीय पत्रकारहरुले नेपालको पर्यटन पूनरुत्थानमा सघाउने प्रतिवद्धता जनाएका छन् । यसअघि जान अञ्जानमा भूकम्पको त्रास फैलाउने काम भएको स्वीकार गर्दै उनीहरुले आगामी दिनमा नेपाली पर्यटनको सकरात्मक समचार सम्प्रेषण गर्ने विश्वास दिलाए ।

पोखरा पर्यटन प्रवर्द्धन समिति (पिटीआरसी)को निमन्त्रणामा भारतीय पत्रकारहरु पोखरा भ्रमणमा आएका हुन । भूकम्पलगत्तै आएका भारतीय पत्रकारहरुले नेपाल तहस-नहस भएको भनेर नकारात्मक समचारमात्र प्रकाशन प्रसारण गरेकोप्रति उनीहरुले माफीसमेत मागेका छन् ।

Indian-Media-Person-Pokhara

भारतीय पत्रकारहरुले भूकम्पको पराकम्पनलाई दिनदिनै यति रेक्टरको भूकम्प गयो, उति रेक्टरको गयो भनेर प्रचार गरिँदा पर्यटक बढी त्रसित भएको बताउँदै त्यस्तो प्रचार रोक्न सुझाव दिएका छन् ।

लखनउका बरिष्ठ पत्रकार गुड्डु जैयसवालले जान अञ्जानमा भारतका पत्रकारले भुकम्पको त्रास फैलाउँदा नेपालमा पर्यटक आगमनमा कमी आएको स्वीकार गरे । उनले अब यसलाई सच्याउने आश्वासन समेत दिएका छन् ।

‘भारतीय पत्रकारले नकारात्मक कुरामात्र प्रचार गरेर गल्ती गरे, तर अहिले आएर हामीलाई पश्चाताप लागिरहेको छ, त्यसैले हामी माफी चाहन्छौं’ उनले भने- ‘हामीबाट गल्ती सच्याउन शुरु भइसकेको छ, नेपालको पर्यटन प्रवर्द्धनका लागि अब भारत गएर सक्दो सकरात्मक सन्देश फिँजाउने काम गर्छौं ।’

भारतकै बरिष्ठ पत्रकार डिके सिंहले भारतीय सञ्चार माध्यममा नेपाल तहस-नहस भएको दृश्य र समाचारमात्र देखेर त्रसित भएपनि पोखरा आएर हेर्दा त्यस्तो त्रास कहीँ पनि नदेखिएको बताए ।

‘हामीले भारतीय मिडियामा जस्तो देखेका थियौं, जस्तो सुनेका थियौं, तर यहाँ त्यस्तो विल्कुल देखिएन, सबै सुरक्षित देख्यौं’ सिंहले भने- ‘भूकम्पपछि पनि नेपालीको ओँठमा हाँसो पहिले जस्तै देखिएको छ , अहिलेपनि नेपालीको ओँठमा पहिलेजस्तै मुस्कान छ, अनि यहाँको हस्पिटालिटी र दिनचर्या देख्दा लाग्छ-के यहाँ भुकम्प गएको थियो र ?’

उनले यहाँको बास्तविक यथार्थ भारतभर फिँजाएर नेपालमा घुम्न आउने वातावरण मिलाउन भरपुर कोशिस गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अर्का बरिष्ठ पत्रकार तथा पर्यटन ब्यबसायी श्रीचन्द्र गुप्ताले नेपालको १४ जिल्लामा मात्रै भूकम्पले क्षेति पुर्‍याएको र अन्य ठाउँ सुरक्षित रहेको बारेमा आफुहरुले सूसुचित गर्ने बताए । उनले नेपाल र भारतबीच रोटी-बेटीको सम्बन्ध भएको बताउँदै भारतीय केही मिडियाले गलत गर्दैमा दुइ देशबीचको सम्बन्धमा कुनै कमी नआउने स्पष्ट पारे ।

भारतीय समाजवादी पार्टीका नेता आरिफ हास्मीले पुराना संरचना भत्किए पनि नयाँ संरचना केही नभएको बताउँदै नेपाल एक वर्ष भित्रैमा पुरानै अवस्थामा र्फकने विश्वास व्यक्त गरे । उनले भने, ‘तपाईंहरु अहिले आत्तिनुभएको छ, तर धैर्य गर्नुस्, मलाई विश्वास छ तपाईंहरु ६ महिनादेखि १ वर्ष भित्रमा पहिलाकै अवस्थामा फर्किनु हुनेछ ।’

पोखरा पर्यटन पूनरुत्थान समितिका संयोजक गणेशबहादुर भट्टराईले नेपालका केही ठाउँमा भूकम्पले क्षति पुर्‍याए पनि पर्यटकीय क्षेत्र सुरक्षित रहेको जानकारी गराए । भूकम्पले नेपाल सबै तहस-नहस भएको भनेर विश्वभर नकारात्मक सन्देश फैलाइएको भन्दै उनले यसलाई चिरेर बास्तविकता बुझाइदिन भारतीय पत्रकारहरुसँग आग्रह गरे ।

पोखरासहित अधिकांश पर्यटकीय क्षेत्र ताल, गुफा, र्‍याफि्टङ, हिमाल, टे्रकिङ, मन्दिर, मस्जिद, गुफालगायतका प्राकृतिक सम्पदा सुरक्षित रहेकाले त्यसको यथार्थ बुझाएर पुनः नेपालको पर्यटन पूनरुत्थानमा सघाउन उनको आग्रह थियो ।

भट्टराईले नेपाल आएका बिदेशी पर्यटकलाई भारत लैजाने र भारत पुगेका विदेशी पर्यटक नेपाल आउने वातावरण मिलाउनको लागि पनि पहल गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पश्चिमाञ्चल होटल संघका निवर्तमान अध्यक्ष हरि शर्मा गैह्रे, पर्यटन वोर्डका पूर्वसदस्य बासु त्रिपाठी, पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष टिकाराम सापकोटा लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment