१ चैत, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइ–१२ विमानले पुनः उडान शुरु गरेको छ । विमानचालक (पाइलट) अभावले डेढमहिनादेखि थन्केर बसेको उक्त विमानले शुक्रबार काठमाडौँ–दाङ दोहोरो उडान भरेको हो ।
बिरामी बिदामा बसेका पाइलट निपेन्द्र भट्टराई पुनःकाममा फर्किएपछि उक्त विमानले उडान भर्न शुरु गरेको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए ।
निगमले वाइ–१२ विमानकै अर्का पाइलट उद्धव घिमिरेलाई ए–३२० को प्रशिक्षणमा पठाएको विरोधमा दुई पाइलट गत माघ २९ गते (जनवरी ३१) बाट बिरामी बिदामा बसेका कारण निगमका तीन विमान ग्राउण्डेड भएको बताइन्छ ।
आन्तरिक विवादका कारण लामो समयदेखि बिरामी बिदामा बसेका दुई पाइलट भट्टराई र सञ्जय बादे फागुन १३ र १६ गते नै काममा फर्किएका थिए । उनीहरु २० दिनभन्दा बढी बिदामा बसेका कारण विमान उडाउनुभन्दा पहिले स्वास्थ्य परीक्षण गर्नुपर्ने भएकाले उडान भर्न पाएका थिएनन् ।
यसअघि ‘पाइलट प्रोफिसियन्सी चेक (पीपीसी)’ को म्याद सकिएकाले नवीकरणका लागि पाइलट आङनुरी शेर्पाको पीपीसी चीन जाने भएका छन् ।
प्रशिक्षक पाइलटसमेत रहेका शेर्पाको पीपीसी नवीकरण नहुँदा नयाँ थप गरिएका दुई पाइलट पनि कामविहीन भएका छन् । निगमका सहायक प्रवक्ता कोइरालाका अनुसार शेर्पा एक सातापछि पीपीसी नवीकरणका लागि चीन जाँदै छन् । उनी फर्किएपछि नयाँलाई तालिम दिने योजना बनाइएको थियो ।
डेढमहिनाको अवधिमा पाँच क्याप्टेन तयार भई वाई–१२ सबै विमानसञ्चालनमा ल्याइने योजना छ । निगमसँग वाइ–१२ चिनियाँ कम्पनीका चार विमान रहेकामा एक प्राविधिक परीक्षणमा छ भने बाँकी तीन विमानमा पाइलटको वैकल्पिक व्यवस्था गरेर भए पनि उडान भर्ने बताइएको छ ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4