Comments Add Comment

आखिर को हुन् फेसबुकका चर्चित ‘शेरे’ ?

आजकल फेसबुकमा चुटि्कला तथा जोकहरुका प्रसस्तै पेजहरु देख्न पाइन्छ । पेट मिचिमिची हँसाउने ती पेजमा प्रायः एकजना पात्र कहिल्यै छुट्दैन, त्यो हो शेरे ।

शेरे नामको पात्रको रुपमा जोक तथा चुटि्कलाहरुमा साँच्चीकै पेट दबाएरै हाँसको एउटा स्केच देखिन्छ । त्यो पात्र यति मज्जाले हाँसेको छ की अनुहारमा मनग्गे चाउरी परेका छन् र आँखा लुप्त नै हुनेगरी चिम्सिएका छन् । भलै फेसबुक पेजको जोक खासै हँसाउने किन नहोस् शेरेको त्यो अनुहारले भने मज्जाले हँसाउँछ ।

Yao Ming faceआखिर त्यो हँसाउने स्केचवाला पात्रको त्यो चित्र कसले बनायो होला ? त्यो साँच्चीकै मानिसको चित्र होला वा कसैको कल्पनाको खेति होला ?

फेसबुकमा शेरेका जोक पढेर हाँस्ने हामी धेरैले यसमा खासै मतलब पनि गर्दैनौँ र जान्न चाहेपनि यसको उत्तर तत्कालै पाउन कठीन नै थियो ।

तर अन्ततः यो हँसिलो पात्रको पहिचान खुलेको छ अर्थात् फेसबुकमा जोकर बनिरहेको यो अनुहारको रहस्योद्घाटन भएको छ ।

नेपालमा मात्र होइन विश्वभर नै फेसबुकमा जोकर पात्रको रुपमा प्रयोग भएको यो चित्र वास्तवमा एक जना खेलाडिको वास्तविक तस्वीरको स्केच हो । यी हँसिला पात्र हुन् चिनियाँ बास्केटबल खेलाडि याओ मिङ ।

सन् २००९ मा एक पत्रकार सम्मेलनका क्रममा उनले हाँसको त्यो उन्मुक्त हाँसो यति लोकप्रिय बन्यो की अहिले ६ वर्षपछि सम्म पनि त्यो हाँसोको चित्र भाइरल बनिरहेको छ ।

कसरी बन्यो यो चित्र ?

सन् २००९ को मे महिनामा भएको बास्केटबल प्रतियोगिता पछाडि आयोजित पत्रकार सम्मेलनमा याओ र उनका साथी खेलाडि रोन आर्टेस्ट सहभागी थिए । रोन हँसिमजाक गर्दै बोलिरहेका थिए र याङ मुसुमुसु हाँसिरहेका थिए । तर, रोनको कुरा यतिधेरै हाँसोलाग्दो भएछ की याओ टाउको माथि फैलाउँदै अट्टहास गर्न बाध्य भए । वास्तवमा उनको हाँसो निकै टिपिकल थियो । अझ भनौँ टिपिकल एसियाली हाँसो ।

याओको त्यो हाँसो सम्मिलित ३० सेकेण्डको भिडियो नै वास्तवमा कलाकारका लागि काफी थियो । एकजना कलाकारले त्यो भिडियोमा याओकेा हाँसोको सबैभन्दा चरम रुपलाई क्याप्चर गरे । साँच्चीकै अरुलाई हाँसो उठाउने खालको मुखाकृति बनेको थियो याओको ।

अन्ततः एकजना कलाकारले ‘डाउनलो’ को छद्म नामबाट याओको त्यो उन्मुक्त हाँसोको अवस्थाको तस्वीरबाट तयार पारेको स्केचलाई सोसल साइट रेडिटमा अपलोड गरे, सन् २०१० को जुलाई ११ मा । त्यो स्केच चित्र पत्रकार सम्मेलनमा मज्जाले हाँसेका याओको भिडियोको स्क्रिनसट भएको कुराको पनि उनले खुलासा गरे ।

भाइरल बन्यो

रेडिटमा अपलोड भएसँगै याओको त्यो स्केच एकाएक चर्चित बन्यो । सामान्य प्रयोगकर्ता देखि लिएर कलाकारहरुले उनको त्यो स्केचलाई विभिन्न नाम दिए ।

याओले चीनलाई तिनपटक सम्म एसियाली बास्केटबल च्याम्पियनसीको उपाधि मात्र दिलाएनन् सन् २००६ मा विश्व बास्केटबल च्याम्पियनसीपकेा उपाधि पनि जिते

कतिले उक्त स्केचलाई आफ्नै ढंगले मोडिफाइ समेत गरेर झनै हाँसोउठ्दो पनि बनाउन भ्याए । त्यसपछि उनको त्यो अनुहार फेसबुक, टम्बलर, फन्नीजोक, मेमबेस जस्ता सोसल साइटमा पनि भाइरल बन्दै गयो ।

विभिन्न खाले जोक तथा चुटि्कलाका पेजहरुमा याओको त्यो मुखाकृति अभिन्न अंग बन्न थाल्यो र थप हँसाउने मसला बन्दै गएको छ । यतिमात्र होइन याओको त्यो स्केचको महिला संस्करण समेत तयार पारेर सोसल साइटमा अपलोड गर्न थालिएको छ ।

याओ मिङको जिवनी

सन् १९८० को सेप्टेम्बर १२ मा चीनको सांघाइमा जन्मिएका पूर्व चिनियाँ व्यवसायिक बास्केटबल खेलाडि याओ मिङ अमेरिकी बास्केटबल टिम हस्टन रकेट्सबाट समेत व्यवसायिक बास्केटबल खेले । आफ्नो करिअरको अन्त्यतिर उनी अमेरिकामा व्यवसायिक बास्केटबल खेल्नेमध्येका सबैभन्दा अग्ला खेलाडि समेत थिए । उनको उचाइ ७ फिट ६ इन्च थियो ।

Yao3

खुट्टामा पटक पटकको चोटबाट पिरोलिएपछि याओले सन् २०११ मा बास्केटबलबाट सन्यासको घोषणा गरे । उनको नाममा एक दी इयर अफ याओ नामक डकुमेन्ट्री फिल्म समेत बनेको छ । त्यसका साथै उनको बायोग्राफी याओ : अ लाइफ इन टु वर्ल्डस् पनि प्रकाशित छ ।

दाह्री नखौरिने घोषणा

याओेको मुखाकृति मात्र हँसिलो होइन, उनले कहिलेकाहीँ केही अनोठा फण्डा पनि गर्दा रहेछन् । सन् २००४ को एथेन्स ओलम्पिकका बेला पनि उनले यस्तै फण्डा गरे ।

ओलम्पिकमा चिनियाँ झण्डा बोकेका उनले आफ्नो टोली क्वाटरफाइनल सम्म नपुगेमा अढाइ वर्षसम्म आफुले दाह्री नखौरिने घोषणा गरे । अन्ततः चिनियाँ बास्केटबल टिम उक्त ओलम्पिक खेलको क्वाटरफाइनलमा पुग्यो र उनले दाह्री नखौरिइकन बस्नु परेन ।

याओले चीनलाई तिनपटक सम्म एसियाली बास्केटबल च्याम्पियनसीको उपाधि मात्र दिलाएनन् सन् २००६ मा विश्व बास्केटबल च्याम्पियनसीपकेा उपाधि पनि जिते ।

सन् २००८ मा चीनमै भएको ओलम्पिक प्रतियोगितामा चोटका बाबजुत पनि सहभागिता जनाएका याओले आफ्नो देशको टीमलाई क्वाटरफाइनल सम्म पूराए ।

Yao2
याओ एक दानी करोडपति पनि हुन् । उनले सन् २००८ को सिचुआन भुकम्पको राहत र उद्धार कार्यमा २० लाख डलर सहयोग गरेका थिए भने भुकम्पले भत्काएका स्कुल पुनर्निर्माणका लागि एक फाउण्डेसनको स्थापना गरेका थिए ।

हात्ती र गैँडामा मन

सक्रिय खेलाडी जिवनबाट सन्यास लिएसँगै याओ अहिले वन्यजन्तु संरक्षणमा जुटेका छन् । उनी हात्ती संरक्षण दुत पनि हुन् ।

उनले उत्तरी सेतो गैडाँको संरक्षणको विषयमा एक डकुमेन्ट्री समेत तयार पारेका छन् । अफ्रिकन वाइल्डलाइफ फाउण्डेसन तथा वाइल्डएड संस्थासँगको सहकार्यमा संचालित गैँडा तथा हात्ती संरक्षण सम्बन्धि ‘से नो’ अभियानका लागि पनि उनले विभिन्न काम गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment