Comments Add Comment

कांग्रेस नेतृको बयान : गणेश थापाको रगतको मूल्य कति ?

८ साउन, काठमाडौं । राप्रपा नेपालले हेटौंडामा सभासद गणेश थापालाई १३ टाँका लगाउनु पर्ने गरी कुटिएको घटनाबारे संसदमा जानकारी मागेपछि सभामुख सुवास नेम्वाङले यस घटनाबारे सत्यतथ्य जानकारी दिन गृहमन्त्री बामदेव गौतमलाई रुलिङ गरिसकेका छन् ।

सभासद गणेश थापाको टाउको फुट्ने गरी भएको हेटौंडा झडपमा गणेशकै छोरा अभिषेक पनि नराम्ररी कुटिएका थिए । सोही दिन राप्रपा नेपालका अध्यक्ष तथा गणेशका दाजु कमल थापा र कमलपत्नी प्रलिता थापाले पनि कुटाइ खाएको भन्दै राप्रपा नेपालले यसलाई ठूलो मुद्दा बनाइरहेको छ ।

राप्रपा नेपालको आरोप छ कि सो घटनामा कांग्रेस र एमालेका कार्यकर्ताले आक्रमण गरेका थिए । थापा परिवार नै घाइते हुने गरी भएको घटनामा करीव तीन घण्टा भिडेकी कांग्रेस महासमिति सदस्य रीता खनालले भनिन्, कमल थापाका दाजुभाइहरु नियोजितरुपमा एमाले सभासद अनन्त नेपालसहित लोकतन्त्र पक्षधर आफूहरुलाई सिध्याउने ढंगले हतियारले सुसज्जित भएर आएपछि बाध्य भएर भिड्नु परेको दाबी गरेकी छन् ।

गृहमन्त्रीले यसबारे सम्भवतः साउन १० गते औपचारिक जानकारी संसदलाई दिनेछन् । तर, खासमा साउन ४ र ५ गते हेटौंडामा कसरी भिडन्त भयो ? किन कुटिए थापा परिवार ? यसबारेमा सोही घटनामा प्रत्यक्ष भिडेकी कांग्रेस नेतृ रीता खनालको बयानचाहिँ यस्तो छ :

Rita-Khanal

फुच्चे मण्डलेको धम्की

संविधानको प्रारम्भिक मस्यौदामाथि जनताको राय लिने कार्यक्रम अन्तर्गत साउन ४ गते मकवानपुर क्षेत्र नम्बर १ को हटियामा सयौं जनता जम्मा भएका थिए । त्यहाँ गणेश थापाका छोराले निकै उद्दण्डता मच्चाए । उनीहरुले सीसा फुटाएर तमासा देखाए । हामीले भिड्ने तयारी गरेपछि गणेश थापाका छोराले ‘आज हामी थोरै छौं, भोलि हेटौंडामा देखाइदिन्छौं’ भनेका थिए । तर, हामीले त्यस्ता फुच्चे मण्डलेको कुरालाई वास्ता गरेनौं ।

भोलिपल्ट हेटौंडाको पल्पसा हलमा भव्य जनमत संकलन कार्यक्रम हुँदै थियो । करीव ३ हजार जनता भित्र र बाहिर जम्मा भएका थिए । एक्कासी विप्लब माओवादी लगायत केही पार्टीका मान्छे आएर माइक खोसे । सीडिओलाई लडाएर मस्यौदा जलाउँदै हिँडे ।

त्यसपछि पुनः कार्यक्रम शुरु हुँदै थियो, एकाएक केही दर्जन गुण्डाहरु पसेर कुर्सीमा बसेका जनतालाई पिट्दै कुर्सीले हान्दै लखेट्न थाले ।

कमल थापाकी पत्नी कुट्न आइन्

तिनीहरु कमल थापा र गणेश थापाका केटाहरु रहेछन् । अन्धाधुन्द कुर्सी हान्दै जनता कुट्न थाले । मान्छेहरुको भागाभाग भयो । उनीहरु योजनतावद्ध ढंगले हातहतियार सहित आएका रहेछन् । मञ्चमा यसो हेर्दा सभासद अनन्त पौडेल र म मात्र रहेछौं । दुईजना महिला दौडँदै हामी भएतिर आए । विप्लबका कार्यकर्ता होलान्, यिनीहरुले बम पनि हान्न सक्छन् भनेर मैले सुरक्षाकर्मीलाई ‘ती आइमाईलाई रोक’ भनेँ । प्रहरीले उनीहरुलाई रोक्ने क्रममा तिनीहरु सामान्य घाइते भए, ती दुई मध्येकै एक रहिछन् कमल थापाकी पत्नी प्रलिता थापा । उनी हामीलाई कुट्न आएकी रहिछन् ।

यसरी करीव तीनघण्टा हामी भिड्यौं । सुझाव संकलन गर्ने ठाउँ युद्ध मैदानमा परिणत भयो । प्रहरीका एसपी आफैं हेलमेट लाएर झडप रोक्न खोज्दै थिए । तर, उनीहरु यति उग्र थिए कि सोफासेटले हाने सभासद पौडेललाई । मलाई राप्रपा नेपालकै केही महिलाले आएर छेक्दै जोगाए । किनकि उनीहरु मेरो गृहिणी शिक्षा कार्यक्रमबाट लाभान्वित महिला थिए ।

भिडन्तको दुई घण्टा जति पछि कमल थापा र गणेश थापा शत्रु सेनाका कमाण्डरको रुपमा आए । गणेश थापाको टाउको फुटेको रहेछ । उनका कार्यकर्ताले अन्धाधुन्द आक्रमण गरेपछि जनताले प्रतिकार गर्दा उनी घाइते भएका थिए ।

सभासद् गणेश थापा र छोरा अभिषेक
सभासद् गणेश थापा र छोरा अभिषेक

गणेश थापाको रौद्ररुप

गणेश थापाले फुटेको टाउकोमा एउटा हात राखेर अर्को हातको चोर औंला तेस्र्याउदै भने-मेरो टाउको फुटेको छ, अब हेटौंडाबासीलाई म देखाइदिन्छु ।

रौद्र रुप देखाउँदै अघि बढेका गणेश थापाले मकवानपुरका पूर्वजिविस सभापति तथा एमालेका नेता रामेश्वर राना मगरलाई दुई मुक्का हाने । एमालेका युवाहरु त्यसपछि झन् आक्रोशित भएर भिडन्त अझ हिंश्रक बन्न थाल्यो ।
गणेशले हेटौंडाबासीलाई देखाइदिन्छु भनेपछि जनता बढी आक्रोशित भएका हुन् ।

कमल थापाको योजना असफल पार्‍यौं

कमल थापाका परिवारको योजना मकवानपुरमा जनमत संकलन कार्य अवरुद्ध पारेर आफूले जितेको सन्देश दिने रहेछ । हामीले उनीहरुको त्यो योजना पूरा हुन दिएनौं । त्यसैले उनीहरु पराजित मानसिकताले बर्बराएका हुन् ।

हेटौंडामा हामीले कमल थापाका दाजुभाइको मण्डले प्रवृति विरुद्ध ३५ वर्ष अघि पनि लड्यौं । यसपटक पनि बाध्य भएर लड्नु पर्‍यो ।

हिजो १३ वर्षको उमेर म एउटी किशोरी नबन्दै हेटौंडाको वन विज्ञान क्याम्पसमा कमल थापाको मण्डलेकरण विरुद्ध भाषण गर्दा मण्डलेहरुबाट लखेटिएर कर्रा खोलामा लडेकी थिएँ । त्यो बेला पनि कमल थापाका मण्डलेबाट कुटाइ खाइयो ।

घाइते अवस्थामा कमल थापा । तस्वीरः प्रवल नरसिंह राणाको फेसबुकबाट
घाइते अवस्थामा कमल थापा । तस्वीरः प्रवल नरसिंह राणाको फेसबुकबाट

आज लोकतान्त्रिक गणतन्त्र आएपछि पनि म ४४ वर्षकी भइसक्दा पनि कमल थापा, गणेश थापा र तिनका छोराहरुबाट कुटाइ खानुपर्ने ? यो कुनै हालतमा स्वीकार्य छैन भनेर त्यस दिन हामी भिडेका हौं ।

हामीले दुई घण्टासम्म कमल थापा परिवारबाट कुटाइ खायौं । अहिले पनि मेरो शरीर थिल्थिलो भएको छ । हामीले अन्त्यमा बाध्य भएर मण्डलेहरुलाई लेखेटौं भनेर लखेटेका हौं ।

गणेश थापाले मेरो टाउकोबाट रगत बग्यो, यसको मूल्य चुकाउनुपर्छ भनेर चेतावनी दिएका छन् । हामी भन्छौं-नेपाली जनताको लोकतान्त्रिक आन्दोलन दबाउने, गुण्डा लाएर निहत्था जनताको हत्या गर्न खोज्ने गणेश थापाको रगतको कुनै मूल्य छैन । त्यसैले उनको टाउकोबाट बगेको रगत जनताका लागि पानी जस्तै हो, त्यसको कुनै मूल्य छैन ।

मूर्ति बेच्नेलाई किन चाहियो हिन्दू राज्य ?

हिजो राजाका नाममा मण्डलेहरुले देश लुटे । आज फेरि हिन्दु धर्मको प्रबर्द्धक बनेर मण्डलेहरु हेटौंडामा जनता  तर्साउन दिनदहाडै हिँडेका छन् ।

हिजो नेपालका मठ मन्दिरबाट बहुमूल्य पुरातात्विक सामान र मूर्ति बेच्नेहरु आज हिन्दू धर्मका ठेकेदार बनेर आउने ? यो त कदापी हुन सक्दैन । वास्तवमा हिन्दू राज्यको सही माग गलत मान्छेले उठाए भनेर जनताले बुझेका छन् ।

हामी नेपालमा ८० प्रतिशत हिन्दू छौं । हाम्रो सिद्धान्त भनेको हुनेले नहुनेलाई सहयोग गर्ने, बलियाले निर्धालाई संरक्षण गर्ने भन्ने हो । ८० प्रतिशत हिन्दूले २० प्रतिशत अरु धर्मका मान्छेको संरक्षण गर्नुपर्छ । हामीले अरुको चित्त दुःखाएर हिन्दू राज्य बनाउने होइन, ती अल्पसंख्यकको चित्त बुझायौं भने मात्र हिन्दूत्वको प्रभाव अझ बढ्छ । मैले यही कुरा जनताबीच पनि राखेपछि हिन्दू राज्यको भ्रममा परेका धेरै हेटौंडाबासीको चेत खुलेको छ ।

कमल थापाले हिन्दू राज्य माग्नु र बाँदरले मकैबालीको संरक्षण गर्छु भन्नु एउटै कुरा हो ।

समानुपातिकले मण्डले ब्युँतिए

वास्तवमा यो समानुपातिक निर्वाचन प्रणलीले नेपालमा मण्डले भूत पुनः व्युँतिएको हो । समानुपातिक प्रणाली थिएन भने कमल थापाको पार्टीले एक सिट पनि पाउने थिएन । समानुपातिक प्रणाली नभएको भए आज कमल थापा हरिद्धार र पशुपतिमा डुल्दै हुन्थे ।

आज समानुपातिक प्रणालीको बलमा कमल थापा र गणेश थापाका परिवार हामी लोकतन्त्रवादीमाथि आक्रमण गर्ने हैसियतमा पुगेका छन् । त्यसैले यो समानुपातिक निर्वाचन प्रणालीनै राख्नु हुँदैन । राष्ट्रिय सभालाई पूर्ण समानुपातिक र समावेशी बनाएपछि प्रतिनिधिसभामा समानुपातिक किन चाहियो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment