Comments Add Comment

बालुवाटारमा गच्छदारको गर्जन : एक मधेस प्रदेशमा हस्ताक्षर गर्नुपर्ला !

Bijay Gachhadar

अरुण बराल

६ भदौ, काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रमुख दलहरु तराई मधेसमा दुईवटा प्रदेश बनाउन तयार नभए अब हुने आन्दोलनबाट एक मधेस प्रदेश स्थापना हुने बताएका छन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा गच्छदारले तीन दलका नेतालाई चुनौती दिँदै भने-‘अब धेरै पानी बगिसक्यो, म तपाईहरुको ७ प्रदेश मान्दिँन, हेरिराख्नुहोला, तराई मधेसमा दुईवटा प्रदेश बनाउन तयार हुनुभएन भने म एक मधेस प्रदेशमा उभिन्छु, त्यतिखेर एक मधेस-प्रदेश बन्छ ।’

पछिल्लो पटक सात प्रदेशमा सहमति जनाएका प्रमुख दलहरुले असन्तुष्ट गच्छदारलाई ७ प्रदेशमा फकाउन आइतबार बिहान बालुवाटारमा बोलाएका थिए । त्यहाँ प्रमुख ४ दलका नेताहरु सहभागी थिए ।

स्रोतका अनुसार गच्छदारले बालुवाटार बैठकमा भने- ‘बरु चितवनलाई माथि नै राख्नोस्, तर कम्तिमा मोरङदेखि पर्सासम्म एउटा र नवलपरासीदेखि कैलालीसम्म अर्को गरी दुईवटा प्रदेश बनेन भने समग्र मधेस एक प्रदेश बन्नेछ ।’

बालुवाटार बैठकमा गच्छदारले आफू सात प्रदेशमा जति फकाए पनि नफकिने बताएका थिए । यस्तो सीमांकनले मुलुकको द्वन्द्व समाधान नहुने उनले ठोकुवा गरेको र अब आन्दोलनमा गई छाड्ने बताएको स्रोतले अनलाइनखबरलाई बतायो ।  ‘गच्छदारजीले स्पष्ट शब्दमा दुई प्रदेश नभए मधेसमा एक प्रदेश हुने चेतावनी दिनुभयो, स्रोतले भन्यो, ‘नदीमा धेरै पानी बगिसकेको छ भनेर उहाँ हिँड्नुभयो ।’

आठ प्रदेशमा अडान

फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले मधेसमा तीन सहित ८ प्रदेशको अडान लिँदै आएका छन् । उनले आफ्नो मागमा लचकता देखाउँदै झापा, चितवन र कञ्चनपुरलाई मधेसबाट अलग्गै राखे पनि आपत्ति नहुने बताएका छन् ।

तर, आइतबारको बैठकमा कडा रुपमा प्रस्तुत भएका फोरम लोकतान्त्रिका अध्यक्ष गच्द्धदारले अब झापादेखि पर्सासम्म एक र नवलपरासीदेखि कञ्चनपुरसम्मको अर्को गरी दुईवटा प्रदेश बनाउनुपर्ने माग राखेका छन् ।

दुई प्रदेशको यो मागलाई अझै पनि बेवास्ता गरियो भने मधेसी एवं थारुहरुको आन्दोलनले एक मधेस प्रदेश ल्याई छाड्ने गच्छदारले आइतबार बालुवाटारको बैठकमा कांग्रेस, एमाले र एमाओवादीका नेतालाई हाँक दिएका छन् । यद्यपी मधेसमा तीनसहित ८ प्रदेशमा गच्छदार अझै सहमत हुन सक्ने नेताहरूले बताए ।

कस्तो हो गच्छदारको ८ प्रदेश ?

अनुभवी राजनीतिज्ञ गच्छदारले चार दलवीचको १६ बुँदे सहमति आफूले गराएको दाबी गर्दै आएका छन् । १६ बुँदे सहमतिमा ८ प्रदेशमा सहमति भएको थियो । गच्छदार अहिले पनि ८ प्रदेशमा गए उत्तम हुने विचारमा छन् ।

यदि ८ प्रदेशमा जाने हो भने पूर्वमा मोरङ, सुनसरी, सप्तरी सिराहा र उदयपुरलाई मिलाएर बेग्लै प्रदेश बनाउनु राम्रो हुने गच्छदारको तर्क छ । धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र सिन्धुली र मकवानपुरको केही भाग मिसाएर दोस्रो र कैलालीदेखि नवलपरासी सम्मका जिल्लाहरुलाई मिलाएर मधेसमा तेस्रो प्रदेश बनाउने उनको प्रस्ताव छ ।

दलहरुको वार्ताका क्रममा एमाओवादीले नौंबुँदेमा कांग्रेस र एमालेले ल्याएको सात प्रदेशमै जाऊँ भन्दा गच्छदार सकारात्मक देखिएका थिए । तर, आइतबार गच्छदारले ‘नदीमा धेरै पानी बगिसक्यो, अब सात प्रदेश मान्दिन’ भनेका छन् ।

माओवादी ३० दलीय मोर्चामा रहेर आन्दोलन गरिरहेका बेला कांग्रेस र एमालेले ल्याएको ७ प्रदेशको खाकामा सप्तरीदेखि पर्सासम्म एउटा र नवलपरासीदेखि बर्दियासम्मको अर्को गरी मधेसमा दुई प्रदेश बनाउने प्रस्ताव थियो ।

कांग्रेस र एमालेले आफ्नै प्रस्ताव छाडेर रातारात लुम्बिनीको पहाडलाई तराईमा जोड्ने नीति ल्याएपछि सात प्रदेशको खाका गर्भमै तुहिएको छ ।

तीन दल बिलखबन्दमा

गच्छदारलाई फकाउन बोलाइएको बालुवाटार बैठकमा उनले एक मधेस प्रदेशमा हस्ताक्षर गर्नुपर्ने दिन आउला भनेर ठाडो चुनौती दिएपछि कांग्रेस, एमाले र एमाओवादीका नेताहरु बिलखबन्दमा परेको स्रोतले बतायो ।

‘अब गच्छदारजीले समेत आन्दोलनमा जाने भनिसकेपछि परिस्थिति गम्भीर भयो,’ बैठकमा सहभागी एक नेताले अनलाइनखबरसँग भने, ‘यही स्थिति हो भने यही सीमांकनका आधारमा संविधान जारी हुन निकै कठिन छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment