Comments Add Comment

आक्रामक देउवा प्रश्नै प्रश्न सोधेर हिँडे

पत्रकारलाई बरण्डामा राखेर देउवा कोठाभित्र फोनमा कसैसँग नराम्ररी जंगिइरहेका थिए । एक छिनपछि पार्टीका थारु सभासद र नेताहरुको लर्को लिएर उनी आँखा राता पार्दै पत्रकारमाझ आए ।

सार्वजनिक कार्यक्रममा प्राय दौरासुरुवाल र टोपिमा देखिने देउवा आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा अनौपचारिक पोशाकमा थिए । करिब १५ मिनेटको पत्रकार सम्मेलनमा उनले उत्तर भन्दा बढि प्रश्न सोधे । आफू थारु विरोधी नभएको प्रष्ट पार्न उनले अधिकांश समय खर्चे ।

Sherbahadur-Deuwa-Pressmeet

‘म कसरी थारु विरोधी भएँ ?’ सम्वोधनको सुरुमै उनले सोधे, ‘कमैया आन्दोलनमा सबैभन्दा ठूलो योगदान दिएको मैले होइन ? कमैया मुक्त गराउने व्यक्ति म होइन ? झूटो प्रचार गर्ने ?’

‘थारुलाई रौं पनि छोडिदैन’ भन्ने देउवाले दिएको अभिव्यक्तिको विषयमा आएको समाचारमा उनले प्रष्टिकरण दिन खोजेका थिए ।
‘मेरो नाम लिएर झूटा कुरा प्रचारप्रसार भइरहेको छ । मलाई एकचोटी नसोधी, एकपटक भेरिफाइ नगरी झूटा समाचार किन आए ?’

‘कमैया आन्दोलनमा धेरै ठूलो योगदान दिएको व्यक्ति हुँ । कमैया मुक्त गराउने व्यक्ति पनि मै हुँ । मलाई थारु विरोध भनेर झुटा प्रचार गर्ने ? कमैया मुक्त गराउने व्यक्ति थारु विरोधी हुन्छ ?’

‘सुदुरपश्चिम नेपालबाट कटअफ भएको थियो । तपाईंलाई थाहा होला, धनगढीबाट टिकापुर आउन इन्डिया भएर आउनुपर्थ्यो ।महेन्द्रनगरबाट टिकापुर आउन इन्डिया भएर आउनुपथ्र्यो । काठमाडौं, नेपालगञ्ज मात्र होइन बर्दिया जान पनि इन्डिया भएर जानुपर्थ्यो । अहिले २२ वटा पुल बनाएर मैले सुदरपश्चिमलाई नेपालसित जोड्ने काम गरेको हो कि होइन ? यस्तो व्यक्ति कैलाली विरोधी, थारु विरोधी हुन्छ ? कमैया मुक्त गर्ने व्यक्ति थारु विरोधी हुन्छ ?’

उनले प्रदेश विभाजन गर्दा जिल्ला तोड्नु नहुने पक्षमा आफू रहेको बताए । ‘मैले स्पष्ट भनेको हो जिल्ला तोड्नु हुँदैन । आज जिल्ला तोडेर बाग्लुङ, के भइरहेको छ ? रुकुममा के हालत भइरहेको छ ? जिल्ला तोड्न हुन्न भन्ने म सहि हो कि होइन ?’

विगतदेखि थारु र पहाडी मिलेर बसेको भन्दै उनले यो एकता कायम राख्नुपर्नेमा जोड दिए । उनले सोधे, ‘हिजो मिलेर बसेका थियौं भने भोलि बस्न नहुने के हो ? मिलेर बस्नै नहुने हो भने त नेपालमा दुई सय प्रदेश चाहिन्छ ।’

‘जंगबहादुरले नयाँ मुलुक भनेर कैलाली, कञ्चनपुर, बाँके, बर्दिया नेपालमा ल्याएको होइन ? दाङका दंगोडा, पहाडबाट आएका पहाडी र भूमिसितै आएका थरुवा एकै ठाउँ बस्दै आएका होइनौं ? अचानक पूर्वबाट गएर भाला छुरी, तरवार निकाल, खुकुरी निकाल, तरवार निकाल, पहाडीलाई धपाउ भनेर मिलेको समाजमा घृणा फैलाउन खोज्ने ? उत्तेजित पार्न खोज्ने ? यो सुनियोजत र षडयन्त्रमूलक नभए के हो ?’

उनले सोमबारको घटनालाई अपराधिक संज्ञा दिए । यस्तो जघन्य अपराध गर्ने जोसुकै कडा भन्दा कडा कारवाही गर्नुपर्ने बताए । कमैयालाई अझै अधिकार दिनुपर्नेमा जोड दिए ।

उनले फेरि भने, ‘जो मान्छेले कमैयालाई जग्गा दिएको छ, कसरी थारु विरोधी हुन्छ ? बाहुल्यता भएको ठाउँमा स्वात्ततासमेत हुनसक्ने अधिकार दिनुपर्ने पक्षमा म छु । कमैयाका लडेको व्यक्ति हुँम । यद्यपि म पहाडी हुँ । कमैयाका पक्षमा भाषण गरेको छु । त्यस्तो व्यक्ति थारुविरोधी हुन्छ ?

यत्तिकैमा उनले आफ्नो सम्वोधन टुंग्याएपछि प्रश्न सोध्न अघि सरे, सधैंजस्तो ऋषि धमला । उनले यसरी प्रश्न सोधे, ‘देउवाजी, अहिले सारा नेपालीको, सरकारको, तपाईंको ध्यान कैलाली कन्चनपुरतिर छ । तपाईं नेपाली कांग्रेसको शिर्ष नेता हुनुहुन्छ । भन्छन् नी, शेरबहादुर देउवाले मुख्यमन्त्रीको जस्तो व्यवहार गर्‍यो । दोस्रो कुरा, अमरेश कुमार सिंह नेपाली कांग्रेसको नेता हुन् भने उनले मुस्लिम, मधेसी र थारु मिलेर पहाडीलाई खेद्नुपर्छ भने । तपाईं नेपाली कांग्रेसको वरिष्ठ नेता हुनुहुन्छ । आज जनतालाई भन्दिनुस के अमरेश सिंहलाई कारवाही हुन्छ अब ? हुन्छ भने कहिले हुन्छ ? कांग्रेसमा के छ सिस्टम ? यसको जस्टिफाइ गर्नुस ।

लामो प्रश्नको जवाफ देउवाले एक वाक्यमा टुंग्याए । ‘यदि त्यस्तो बोलेको हो भने उमाथी कारवाही हुनुपर्छ ।’

अर्का पत्रकारले बाबुराम भट्टराईले गरेको ट्वीटको विषयमा प्रश्न राखे । ‘पूर्व र पश्चिमका शेरले संविधान बन्न दिएनन् भनेका छन् नि ?’ भन्ने प्रश्नमा देउवा जंगिए ।

‘बाबुराम भट्टराई भनेको विशेष समितिको सभापति हो । उनले जथाभावी बोल्न मिल्छ ? झगडा गराउने कुरा गर्न मिल्छ ? शेरबहादुरले सुर्खेत राजधानी हुदैन भनेकै छैन । मैले कहिले भनेको छ सुर्खेत राजधानी हुँदैन भनेर ? मैले कर्णालीलाई ल्याएको हो ? वास्तवमा सुर्खेत नै राजधानी हुन्थ्यो । मलाई थाहा थियो नि । अहिले राजधानीको घोषणा नगर्ने दलहरुको सहमति हो । मैले कुन दिन भनेको छु सुर्खेत राजधानी हुनुहुँदैन । मैले गरेको निर्णय हो ? एक जना व्यक्तिले निर्णय गर्न सक्छ ? म सात पक्षको पक्षमा छ । झूटा कुरा गरेर झगडा गराउने ?

जाँदाजाँदौ उनले फेरि भने, ‘कमैया मुक्त गर्ने व्यक्तिलाई थारुविरोधी भन्ने ? विशेष समितिको सभापतिले झगडा गराउन मिल्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment