Comments Add Comment

यसकारण बढ्दैन दशैंमा चिनियाँ सामग्रीको मूल्य

रबिन्द्र घिमिरे

१० भदौ, काठमाडौं । तीज, दशैँ तिहार लगायतका चाड पर्वका लागि चीनबाट आउने सामग्रीको मूल्य नबढ्ने भएको छ । भूकम्पपछि चीनसँगको प्रमुख व्यापारिक तातोपानी नाका ठप्प भएपछि नेपालमा चीनियाँ सामग्रीको मूल्य बढ्ने अनुमान गरिएको थियो ।

तर, नाका ठप्प भएकै कारण मूल्यमा ठूलो असर पर्ने स्थिति नरहेको नेपाल सीमापार वाणिज्य संघले जनाएको छ । चीनबाट भारत हुँदै सामान नेपाल आयात गर्दा लागत खर्चमा उल्लेख्य वृद्धि नहुने भएकाले पुरानै दररेटमा चिनियाँ सामाग्रीको विक्री हुने संघको दावी छ ।

Tato-pani-sadak-6चीनबाट विशेषगरी तयारी लत्ताकपडा, जुत्ता, खेलौना, इलेक्ट्रोनिक्स लगायतका घरेलु सामाग्री ल्याउने गरिन्छ । चाडपर्वमा नयाँ कपडा लगाउने र नयाँ सामाग्री किन्ने प्रचलनले चिनियाँ सामग्री खपत हुने मुख्य सिजन पनि यही नै हो ।

लागत खर्च उस्तै

नेपाली व्यवसायीले तातोपानी नाका हुँदै आउने सामग्री अहिले भारत हुँदै ल्याइरहेका छन् । दशैँ तिहारलाई लक्षित गरी चीनबट झिकाइएका सामग्री भारतका विभिन्न बन्दरगाहमा आइपुग्ने क्रम जारी छ ।

चीनबाट पानीजहाजमा राखी भारतीय सामुद्रिक बन्दरगाह आएका सामाग्रीलाई नेपाली नाकामा ल्याउने काम भइरहेको संघका उपाध्यक्ष ओमप्रसाद उप्रेतीले जानकारी दिए । चिनियाँ सामान भारत हुँदै ल्याउँदा ढुवानी खर्च खासै महंगो नपर्ने भएकाले मूल्यमा पनि असर नपर्ने उप्रेतीको भनाई छ ।

तुलनात्मक रुपमा चिनियाँ नाकाबाट सामान ल्याउँदा भन्दा भारत हुँदै आयात गर्दा समान्य सस्तो पर्छ । तर, समय बढी लाग्ने भएकाले व्यवसायी त्यसमा आकर्षि छैनन् । चीनबाट सिधै समान ल्याउन झण्डै एक महिना लाग्छ भने भारतबाट झण्डै २ महिना लाग्ने व्यवसायी बताउँछन् ।

चिनियाँ मुद्राले राहत

पछिल्लो समयमा डलरको मूल्य आकासिए पनि चीनले आफ्नो मुद्रा युआनको मूल्य स्थिर राखेकाले सामान किन्न पनि महंगो नपर्ने संघले जनाएको छ । चिनियाँ युआनमै भुक्तानी दिईने भएकाले सामाग्रीको मूल्यमा कुनै अन्तर नआउने उपाध्यक्ष उपे्रतिले बताए । चिनियाँ उत्पादन महंगो नभएपनि डलरको मूल्य बढेका कारण यसवर्ष चीन र भारत बाहेक तेस्रो मुलुकबाट आयात हुने अन्य मुलुकका सामाग्री भने महंगो हुनेछन् ।

चीनले आर्थिक मन्दीका कारण निर्यात बढाउने गरी चिनियाँ युआनको मुल्य अवमूल्यन गरेको थियो । त्यसले नेपाली व्यापारीलाई पनि फाइदा भएको छ । यसैकारण नेपाली बजारमा चीनियाँ सामग्रीको मूल्य बढ्ने खतरालाई टारेको छ ।

बन्दले सामान रोकिए

अहिले कोलकत्ता लगायतका भारतीय बन्दरगाहबाट सामान लोड गरेर हिँडेका धैरै कन्टेनर नेपाली नाकासम्म आएका छन । तर, तराई क्षेत्रमा जारी लगातारको बन्दका कारण नेपाल भित्रिन सकेका छैनन ।

चिनियाँ सामान बोकेका १५ सय भन्दा बढी कन्टेनर वीरगञ्ज, विराटनगर, काकडभिट्टा लगायतका प्रमुख भारतीय नाकाहरुमा तराई क्षेत्रमा जारी बन्द खुल्ने प्रतिक्षामा छन् । केही कन्टेनर स्कर्टिङ गरेर काठमाडौं ल्याईँदैछ ।

लगातारको बन्दले सामान नआउँदा व्यापार पनि प्रभावित भएको संघले जनाएको छ । बन्दले माग घटेपनि माग अनुसार व्यापारीहरुलाई सामान पनि दिन नसकिएको उपाध्यक्ष उप्रेतिले बताए । तर, बन्दकै कारण बजारमा सामानको अभावको अवस्था भने नहरेको व्यापारी बताउँछन् ।

अतिरिक्त शुल्कको त्रास

तराईको बन्द जारी रहेमा बन्दरगाहमा रहेका सामनमा भारतले अतिरिक्त शुल्क लगाउने भएकाले व्यवसायी चिन्तित छन् । लामो समय बन्दरगाहमा सामान थन्किएमा भारतीय नियम अनुसार थप शुल्क बुझाउँदा लागत बढ्ने व्यवसायीको भनाइ छ । त्यसैका कारण नेपाली बजारमा सामानको मूल्य पनि बढ्न सक्नेतर्फ उनीहरुले सरकारको ध्यानाकर्षण जनाएका छन् ।

चिनियाँ नाका छिटो खोल्न आग्रह

व्यवसायीले भारत हुँदै सामान ल्याउँदा लामो समय लाग्ने भएकाले चीनसंगको तातोपानी र केरुङ नाका खोल्न उच्च स्तरीय पहलका लागि सरकारसंग माग गरेका छन् । केही दिन अघि नेपाल आएको चीनियाँ उच्च स्तरको टोलीसँग भेट गर्दा चीन तत्काल नाका खोल्ने मनस्थितिमा नदेखिएको संघका अर्का उपाध्यक्ष अशोककुमार श्रेष्ठले बताए ।

चीनले खासापट्टकिो पहाडबाट पहिरो खस्ने जोखिम रहेको भन्दै भन्सार कार्यालय बन्द गरेको छ । अब वर्षायाम सकिएको र भूकम्पको त्रास पनि हटेकाले चीनियाँ नाका त्काल खोल्न उच्चस्तरीय पहल गर्नुपर्ने श्रेष्ठको भनाइ छ । भूकम्पअघि खासामा सामान लोड गरेर बसेका सबै कन्टेनर काठमाडौं ल्याईएपनि भन्सार गोदाममा लोड नभएका ५ सय भन्दा बढी कन्टेनर अझै चीनमै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment