Comments Add Comment

अमेरिकामा विजनेस अफर गर्नेलाई श्वेताको जवाफ-मलाई त नेपाल नै स्वर्ग लाग्छ

११ भदौ, काठमाडौं । पति श्रीकृष्ण श्रेष्ठको मृत्युपछि विरक्तिएकी नायिका श्वेता खड्का यो बीचमा दुई महिना अमेरिकामा बसिन् । नृत्य निर्देशक बसन्त श्रेष्ठले ‘यसरी झोक्राएर हुँदैन’ भन्दै उनलाई अमेरिका लगेका थिए ।
Shweta-Khadka-2
अमेरिका बसाईका क्रममा श्वेता आफ्नो कोहिनुर फिल्म लिएर थुप्रै ठाउँ पुगिन् । त्यहाँ बस्ने सयौं नेपालीहरु भेटिन् । घुमघाम गर्दै मन बहलाउने प्रयास गरिन् । कस्तो लाग्यो त उनलाई अमेरिका ?

‘भौतिक संरचनाको हिसाबले त अरु विकसित देशहरुको भन्दा धेरै फरक पाइँन’ झण्डै एक दर्जन देशहरुको भ्रमण गरिसकेकी श्वेता भन्छिन्-‘तर, त्यहाँको जनजीवनबाट हामीले सिक्नुपर्ने धेरै कुराहरु पाएँ ।’

के-के कुुरा भन्ने पनि उनले खुलाइन् । ‘त्यहाँका मानिसहरुले जीवनलाई बुझेका रहेछन्, समयलाई बुझेका रहेछन् । हामी नेपालीहरु जस्तो बरालिएर हिँड्दैनन् । संघर्ष गर्न सिकाउँदो रहेछ अमेरिकाले ।’ उनले अमेरिकाका सकारात्मक कुराहरुको सुची सुनाउँदै भनिन्-‘खाना खानका लागि श्रीमानले श्रीमतीको भर पर्दैन । महिला र पुरुषमा धेरै भिन्नता छैन । काम नगरी कोहि बस्दैन ।’

अमेरिकीले नेपालीहरुप्रति राम्रो दृष्टिकोण राख्ने गरेको पाएँ, नेपालीहरुलाई साहसी र इमान्दार भनेर प्रशंसा गरेको सुन्दा मन गदगद हुन्थ्यो

अमेरिकाअघि थुप्रै देशहरु घुमिसकेकी उनले भौतिक पूर्वाधारका हिसाबले चाहिँ धेरै नौलो नलागेको बताइन् । उनले हालसम्म कोरिया, मलेसिया, अष्ट्रेलिया, चीन, हङकङ, सिंगापुर लगायत मुलुकहरुको भ्रमण गरिसकेकी छिन् ।

‘सुख सुविधाको त के कुरा गर्नु । अमेरिकामा पैसा भएपछि नपाइने कुरा नै के छ र ? सबै थोक पाइन्छ,’ श्वेताले भनिन् । अमेरिका घुमेको ठाउँमध्ये टेक्सास बस्नका लागि सबैभन्दा राम्रो लागेको उनले बताइन् ।

उनको दृष्टिमा अमेरिकाका नराम्रा कुराहरु पनि छन् । नकारात्मक पक्षलाई उनी यसरी केलाउँछिन्-‘त्यहाँ मैले पारिवारिक माहौल त्यति राम्रो पाइँन । छोराछोरीसित बाबुआमाको राम्रो एट्याचमेन्ट नै नहुने । ठूला भएपछि छोराछोरीले बाबुआमालाई छोडेर हिँड्ने । साना केटाकेटीले ठूलालाई त्यति सम्मान नगर्ने । कति ठाउँमा मैले श्रीमान र श्रीमतीबीच को सम्वन्ध पनि प्राविधिक जस्तो पाएँ ।’

अमेरिकाका नेपाली आधा खुशी
अमेरिकामा श्वेतासित थुप्रै नेपालीहरुले भेटे र दुःख सुखका कुरा सुनाए । त्यहाँ बस्ने नेपालीहरु आधा हाँसीखुशी र आधा दुःखी पाएको श्वेता बताउँछिन् । ‘कसैको पीडा सुन्दा आँखाबाट आँशू आउँथ्यो’ उनी भन्छिन्-‘कसैले चाहिँ मलाई नेपालमा राम्रो वातावरण छैन भन्दै अमेरिकामै बस्न पनि प्रेरित गर्नुहुन्थ्यो ।’

श्वेतालाई अमेरिकामा बसेर व्यवसाय गर्न धेरैले प्रस्ताव थिए । यद्यपि लामो समयसम्म आफू देश छोडेर बस्न नसक्ने उनी बताउँछिन् । ‘अमेरिकामा धेरै जनाले मलाई मिलेर यतै विजनेस गरौं भन्नुभयो’ आलानइनखबखरसँग कुरा गर्दै श्वेता भन्छिन्-‘तर तत्कालै उहाँहरुलाई कुनै जवाफ दिने अवस्थामा म थिइँन । ‘

अमेरिकामा विजनेस गर्न आपत्ति नभए पनि सधैं उतै बस्ने हिसाबले जान नसक्ने उनी बताउँछिन् । ‘मलाई त नेपाल नै स्वर्ग जस्तो लाग्छ । देश र परिवार छोडेर लामो समय बस्न सक्दिन’- श्वेताले भनिन् ।

नेपालीहरुमा अमेरिका जाने होड कुनै रहरले नभएर बाध्यताले गर्दा भएको उनको बुझाई छ । ‘मेरो विचारमा कसैलाई पनि आफ्नो परिवार, समाज र देश छोडेर पराई मुलुकमा बस्ने रहर हुँदैन’ श्वेता भन्छिन्-‘उहाँहरु सबै नेपालमा अवसर नपाएर वा भविष्य राम्रो नदेखेर जानुभएको पाएँ ।’

अमेरिकीले नेपालीहरुप्रति राम्रो दृष्टिकोण राख्ने गरेको श्वेताको अनुभव छ । ‘धेरैले नेपाल र नेपालीको प्रशंसा गर्नुभएको पाएँ । नेपालीहरुलाई साहसी र इमान्दार भनेर प्रशंसा गरेको सुन्दा मन गदगद हुन्थ्यो’ उनले भनिन् ।

नेपाल छोडेर अमेरिका बस्दै आएका अधिकांस कलाकारहरुसित श्वेताले भेटिन् । उनीहरु आफैं श्वेतालाई भेट्न उनी बसेको ठाउँमा आउँथे र सान्त्वना दिन्थे । ‘सबै जना काम गरेर बस्नु भएको छ । खुशी नै हुनुहुन्छ’ उनले भनिन् ।

भुकम्पले विथोल्यो
नेपालमा ७.८ रेक्टरको भुकम्प जाँदा श्वेता खड्का अमेरिकामा थिइन् । राति साढे दुई बजे दाईले अत्तालिदै फोन गरेर भुकम्प आएको जानकारी दिएका थिए । त्यसपछिका दिनहरु भने छटपटीमा बितेको उनी बताउँछिन् ।

समाचार हेर्दा मलाई काठमाडौंमा अब केहि बाँकी छैन कि जस्तो लागेको थियो, बाहिर बसेर गरेको कल्पनाजस्तो रहेनछ

‘म राति सुतिरहेको बेलामा दादाले फोन गर्नुभयो,’ उनले भनिन्, ‘त्यो रात र त्यसपछिका धेरै रातहरु निदाउँन सकिनँ ।’
उनी नेपाल फर्कने दिनभन्दा तीन हप्तापछि नेपालमा भुकम्प आएको थियो । दाईले फोन गरेपछि उनले लगातार नेपालमा रहेका आफन्त र साथीभाईलाई फोन लगाउन थालिन् । चिनेजानेकाहरु सबै सुरक्षित नै थिए । तर अनलाईनहरुमा समाचार हेर्दा उनलाई नेपाल त ध्वस्तै भयो जस्तो लाग्यो ।

‘समाचार हेर्दा मलाई काठमाडौंमा अब केहि बाँकी छैन कि जस्तो लागेको थियो,’ उनले भनिन्, ‘यहाँ आएपछि मैले कल्पना गरेको अवस्था पाइन ।’

भुकम्पपछि कोहिनुरका सबै शोहरु श्वेताले रद्द गराइन् । क्यानाडाको न्याग्रा फल घुम्न जाने कार्यक्रम रद्द गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment