१२ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सचेतक क्रान्तिशिखा धितालले दुई वटा विषयमा सरकार र प्रधानमन्त्री वालेन्द्र शाहको प्रशंसा गरेकी छन् ।
‘आज म दुई वटा कृतज्ञताको पोको खोल्न चाहन्छु’ भन्दै उनले प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन र पछिल्लो पटकको बाढी र पहिरोप्रतिको पूर्वसतर्कताको विषय उठाइन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै यी विषय उठाएकी हुन् । ‘पहिलो प्रधानमन्त्रीज्यूले संयुक्त राष्ट्रसंघको महासभामा बहुपक्षताको विषय उठाउनुभएको छ । युद्ध र प्रतिस्प्रर्धामा ठूला देशहरू व्यस्त हुँदै गर्दा साना राष्ट्रहरू मारमा परेका छन् । ती साना देशहरूको न्यायोचित आवाज सुनिन सक्नुपर्छ भन्नेबारे नेपालले सार्थक बहसका लागि प्रस्ताव राखेको छ’, उनले भनिन् ।
यहाँनेर उनले प्रधानमन्त्री शाहको प्रशंसा गरेका हुन् । रास्वपा सचेतक धितालले प्रतिनिधिसभाको बैठकमा भनेकी छन्, ‘विश्वसामु नेपालको गरिमा अझ बढाइदिनुभएकोमा प्रधानमन्त्रीज्यू, परराष्ट्रमन्त्रीज्यू र नेपाली प्रतिनिधिमण्डलमा धन्यवाद ।’
प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिएर स्वदेश फर्किइसकेका छन् । उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी महासभामा भाग लिन अमेरिकाको न्युयोर्क गएका थिए । महासभालाई सम्बोधन गरेर उनी असोज १० गते स्वदेश फर्किएका हुन् ।
महासभामा प्रधनमन्त्री शाहले नेपालमा जलवायु परिवर्तनले पारेको असर, भोटेकोशी बाढीपहिरोको क्षति, पर्वतीय देशका संकटहरू र जलवायु न्यायको पक्षमा विश्व समुदायको ध्यानाकर्षण गराए ।
उनले विश्वका ठुला र शक्तिशाली देशहरूको ध्यान तथा स्रोत नागरिकको जीवन रक्षा र पर्यावरण बचाउनुभन्दा हतियार, सैन्य शक्ति र व्यापारिक होडबाजीमा बढी केन्द्रित भएको भनेर विषय उठाए । शान्ति र विश्व कल्याणको सन्देश दिएका थिए ।
न्युयोर्कमा रहँदा उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।
उक्त भ्रमणले विश्वसामु नेपालको गरिमा अझ बढाएको भनेर रास्वपा सचेतक धितालले प्रधानमन्त्री, परराष्ट्रमन्त्री र नेपाली प्रतिनिधिमण्डलको प्रशंसा गरेकी हुन् । ‘सरकारलाई दिने दोस्रो कृतज्ञाता’को विषयको रुपमा उनले हालैको बाढी पहिरोको सम्भावित जोखिमबारे नागरिकलाई सचेतक गराएको र पूर्वसतर्कता अपनाएको विषय उठाइन् ।
‘हुन त बाढीले गाउँ नै बढाएको छ, डुबाएको छ । तर, धनजनको सकभर क्षति हुन नदिन सरकारी प्रशासनले समयमै अपनाएको सावधानीका लागि धन्यवाद दिन चाहन्छु’, उनले भनिन् ।
यसअघि बाढी जाँदा धेरैको ज्यान गएको, धेरै हराइरहेको समाचार सुन्ने गरेको तर यसपटक पूर्वसूचना र पूर्वसावधानीका कारण क्षति ठूलो मात्रामा हुनबाट रोकिएको भनेर सरकारको प्रशंसा गरेकी हुन् । यस सन्दर्भमा उनले सरकार, सुरक्षाकर्मी युनिट र सरकारी कर्मचारी सबैमा आभार प्रकट गरिन् ।
प्रतिक्रिया 4